वीरगन्जमा एक सातासम्म हैजा नियन्त्रणबाहिर

  • भदौ १४, २०८२ | ३६० पटक पढिएको | सीमा संदेश
alt

वीरगन्जमा फैलिएको हैजा एक सातासम्म पनि नियन्त्रणमा नआएपछि सरकारले सुरक्षा निकायका स्वास्थ्यकर्मी र चिकित्सक पनि परिचालन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी ओलीले हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनासहित तीनवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गर्ने निर्णय भएको बताए ।

‘स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, नर्स, डाक्टर र उपकरणको प्रयोग गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ, र यस रोगलाई सकेसम्म छिटो नियन्त्रण गर्न, बिरामी निको पार्न र बढ्न नपाओस् भनेर तीव्र ढंगले प्रयास भइरहेको छ,’ संसद्मा ओलीले भने, ‘हैजाको स्रोत के हो, कहाँबाट यो फैलियो, यो कुनै ढलबाट, खानेपानीबाट, कुन स्रोतबाट रोग फैलियो अनुसन्धान भइरहेको छ ।’ यसबाहेक सरकार र मातहतका थप स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित चिकित्सकको टोली पाँच दिनअघि वीरगन्ज पुगेर फर्किसकेको छ । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार डेडिकेटेड टिम आइतबारसम्म प्रभावित क्षेत्रमा पुग्ने बताए । ‘काठमाडौंबाट गएको टिमले नमुना संकलन गरेर ल्याएको थियो । नारायणी अस्पताल र प्रदेशमातहतका अस्पतालको टिम परिचालन छ,’ उनले भने, ‘आवश्यकता देखिए हामी जतिवेला पनि चिकित्सक टिम पठाउन सक्छौँ ।’ 

हैजाका कारण तीनजनाको ज्यान गइसकेको छ भने ६२४ मा हैजाको कोलेरा जीवाणु पुष्टि भएको छ । 

जिल्ला वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले हैजा पुष्टि भए पनि अझै स्रोत खुल्न नसकेको बताए । ‘प्रादेशिक र केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा कोलोरा जीवाणु पुष्टि भइसकेको छ । तर, कहाँबाट कोलोरा जीवाणु आयो भनेर खुल्न सकेको छैन,’ उनले भने, ‘खानेपानी मन्त्रालयको प्रयोगशालामा पानी परीक्षण भइरहेको छ । त्यहाँबाट रिपोर्ट आउन बाँकी छ, रिपोर्ट आएपछि खुल्नेछ,’ उनले भने । 

वीरगन्ज महानगरपालिकाले हैजा प्रभावित वडाका धाराको पानी आफ्नै प्रयोगशालाबाट परीक्षण गरेको थियो । महानगरले वडा नम्बर १०, ११ र १२ का सात स्थानका धाराबाट नमुना संकलन गरी परीक्षण गर्दा सबै प्रतिवेदन ‘नेगेटिभ’ आएको महानगरका वातावरण निरीक्षक प्रकाश ऐरले बताए । 

१६२ मा हैजा पुष्टि
वीरगन्ज महानगरपालिका– १२, मुर्लीका एक परिवारका तीनजना दिदीभाइ अहिले नारायणी अस्पतालमा उपचाररत छन् । बुधबार राति खाना खाएर सुतेकी १९ वर्षीया रागिनी कुमार झाडापखाला लागेपछि बिहीबार बिहान अस्पताल पुगिन् । लगत्तै उनकी बहिनी १७ वर्षीया गुन्जनकुमारीलाई पनि झाडापखाला लाग्यो । दुवै दिदीबहिनी अस्पतालमा रहेका वेला भाइ हर्ष कुमारलाई पनि झाडापखाला लाग्यो । तीनै दिदीभाइ नारायणी अस्पतालमा छन्, आरडिटी परीक्षणमा गुन्जन र हर्षलाई हैजा देखिएको छ । रागिनीको रिपोर्ट निगेटिभ आएको स्वास्थ्यकर्मी बताएका छन् । स्वास्थ्य सुधारोन्मुख छ । 

सबैभन्दा बढी चाप रहेको नारायणी अस्पतालमा झाडापखाला र हैजाका बिरामी दैनिक ५० हाराहारीमा पुगिरहेका छन् । नारायणी अस्पतालकी अनमी पूजा यादवका अनुसार झाडापखाला र हैजाका बिरामी एकै टोलका १२ जना उपचाररत छन् । 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार नारायणीमा मात्र बिरामी आइसकेका छन् । गत शनिबारबाट वीरगन्जमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार शनिबारयता झाडापखाला लागेपछि अस्पताल पुग्नेको संख्या ७१२ पुगेको छ । तीमध्ये ५१७ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । १९५ जना उपचाररत छन् ।

त्यस्तैे, १६२ मा हैजा संक्रमण देखिएको छ । हैजा पुष्टि भएकामध्ये ६२ जना अस्पतालमै छन् । बिहीबार ५५ जनामा हैजा संक्रमण देखिएकामा शुक्रबार थप सातजनामा पुष्टि भएको उनले बताए । ‘झाडापखाला निको भइहाल्छ भनेर बसेकाहरू पनि अस्पताल आउन थालेपछि संख्या बढेको ठाकुरको भनाइ छ । ‘ हैजाको जीवाणु घरघरमा पुगेको छ, तर घरमै निको हुन्छ भनेर बसेकाहरूलाई समुदायमा पुगेका स्वास्थ्यकर्मीहरूले चेतना फैलाएपछि अस्पताल पुग्न थालेका हुन्,’ उनले भने । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब