दुईपटक विश्वकप जितेको टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ । शनिबार युएईको सारजाह क्रिकेट मैदानमा भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो ।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रनको लक्ष्य प्रस्तुत गर्दा प्रत्युत्तरमा वेस्ट इन्डिजले नौ विकेट गुमाउँदा १२९ रन मात्र बनायो । योसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।
टेस्ट राष्ट्रविरुद्ध नेपालको यो जित नै पहिलो हो । यसअघि टेस्ट क्रिकेटका महारथी भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेशजस्ता देशसँग आइसिसी र एसिसीका ठुला प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गरेको थियो । तर, उनीहरूसँग शृंखला खेलेको थिएन ।
वेस्ट इन्डिरविरुद्धको पहिलो खेलमै नेपालले उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गर्दै जित निकाल्यो । कप्तान रोहितकुमार पौडेल, अलराउन्डर कुशल भुर्तेलले सानदार प्रदर्शन गरेपछि नेपाल जित निकाल्न सफल भयो । ऐतिहासिक खेलमा प्रशिक्षक स्टुआर्ट लले मुख्य खेलाडी सन्दीप लामिछाने र कमब्याक गरेका अलराउन्डर मोहम्मद आदिल आलमलाई बेन्चमै राखेका थिए । यस्तै, अस्ट्रेलिया भ्रमण गुमाएका ललितनारायण राजवंशीले पहिलो ११ मै अवसर पाएका थिए । टेस्ट राष्ट्रविरुद्ध नेपाली खेलाडीले कुल आठ छक्का र ६ चौका प्रहार गरे । अब, दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार सारजाहमै हुनेछ ।
नेपालका अलराउन्डर गुल्सन झाले सानो बाउन्ड्रीका कारण धेरै रन बनाउन सफल भएको बताए । जितपछि कुशल भुर्तेलले वेस्ट इन्डिजविरुद्ध सानदार प्रदर्शन गरेको बताउँदै खुसी रहेको प्रतिक्रिया दिएका छन् । ‘धेरै खुसी छु । वेस्ट इन्डिज निकै बलियो टिम हो । यो जितले सबै खुसी छन् । म ब्याटिङ र बलिङ दुवैमा राम्रो गर्न सक्छु जस्तो लाग्छ ।’
नेपालको कसिलो बलिङ
नेपाली बलरले कसिलो बलिङ र सुन्दर फिन्डिङ गरेपछि वेस्ट इन्डिज एसोसिएट राष्ट्रविरुद्ध हार व्यहोर्न बाध्य भयो । नेपालका पार्टटाइम बलर कुशल भुर्तेलले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक दुई विकेट लिए । यस्तै, करण केसी, दीपेन्द्रसिंह ऐरी, नन्दन यादव, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान एक विकेट लिए । वेस्ट इन्डिजका नवीन बिदैसीले सर्वाधिक २२ रन बनाए । फाविअन एलेनले १९ तथा कप्तान एकेल हुसैनले १८ रन बनाए ।
रोहित र कुशलको अर्धशतकीय साझेदारी
नेपालका लागि कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेका थिए । दुई खेलाडीले ४५ बलमा सर्वाधिक ५८ रनको साझेदारी गरे । रोहितले ३५ बलमा तीन चौका र एक छक्कासहित ३८ रन बनाएका थिए । ३.१ ओभरमा दुई विकेट गुमाएको नेपालले १०.४ ओभरमा चौथो विकेटका रूपमा कुशल मल्ललाई गुमायो । टिममा कमब्याक गरेका कुशल मल्लले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरेका थिए । गुल्सन झाले २२ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे । पाँचौँ विकेटका लागि गुल्सन र दीपेन्द्रबिच २५ बलमा ३० रनको साझेदारी बन्यो ।
चलेनन् नेपालका ओपनर
वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखलाको पहिलो खेलमा नेपाली ओपनरले बिर्सनलायक प्रदर्शन गरे । प्रशिक्षक स्टुवार्ट लले कुशल भुर्तेल र आसिफ शेखलाई ओपनिङमा पठाएका थिए । तर, दुवै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुशल ६ तथा आसिफ ३ रन बनाएर आउट भए । ३.१ ओभरमा नेपालले दोस्रो विकेटका रूपमा आसिफलाई गुमाउँदा स्कोरबोर्डमा १२ रन मात्र थियो । यसबाहेक सन्दीप जोराले ९ रन बनाउँदा करण केसी गोल्डेन डक भए । सोमपाल कामी ६ तथा नन्दन यादव ७ रनमा अविजित रहे ।
वेस्ट इन्डिजका जासन होल्डरले सर्वाधिक चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चने क्रममा नेपालका आसिफ, दीपेन्द्र, जोरा र करणको विकेट लिएका हुन् । नवीन बिदैसीले चार ओभरमा २९ रन खर्चिँदा तीन विकेट लिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved