नेपालले आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा युएईलाई रोमाञ्चक खेलमा १ रनले हराएको छ । सुपर सिक्सको महत्वपूर्ण पहिलो खेलमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा युएईले २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन जोड्दा १ रनले स्तब्ध भयो । जितसँगै नेपाल सुपर सिक्समा ४ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा ओमानको पनि ४ अंक नै छ । तर, रनरेटमा ओमान शीर्ष स्थानमा रहेको हो । नेपालले सोमबार कतारविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
युएईलाई अन्तिम ओभरमा १० रन आवश्यक
अल अमेरात क्रिकेट मैदानमा युएईलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो । नेपालका कप्तान रोहित पौडेलले अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न दिए । इनिङ्सको १९.३ ओभरमा युएईका परासरले छक्का प्रहार गर्दै खेल नेपालबाट खोस्ने प्रयास गरेका थिए । युएईलाई अन्तिम तीन ३ बलमा ३ रनै आवश्यक रह्यो । यो टी–२० आई फम्र्याटमा सामान्यजस्तै हो ।
इनिङ्सको १९.४ ओभरमा दीपेन्द्रले परासरलाई ३२ रनमा सन्दीप जोराबाट क्याच आउट पारे । इनिङ्सको १९.५ ओभरमा हैदरलाई जोराले रनआउट गरे । इनिङ्सकै अन्तिम बलमा जाहिद अली २ रन लिने प्रयासमा रनआउट हुँदा नेपालले युएईमाथि सनसनी रूपमा १ रनको जित निकाल्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह नै म्यान अफ दी म्याच भए । उनले चार ओभरमा २२ रन दिएर तीन विकेट लिए ।
दीपेन्द्रले लिए सराफुको महत्वपूर्ण विकेट
तेस्रो क्रममा ब्याटिङ गरेका अलिसान सराफु क्रिजमा रहँदा नेपाल दबाबमै थियो । सराफु आवश्यक रनरेटअनुसार ब्याटिङ गर्दै नेपाली बलरमाथि हाबी भइरहे । इनिङ्सको १३औँ ओभरमा दीपेन्द्रसिंहले बलिङ गरेका थिए । सराफुले स्विप गर्ने चक्करमा दीपेन्द्रसिंहबाट क्लिन बोल्ड भए । उनी क्लिन बोल्ड हुँदा नेपाल खेलमा फर्कियो ।
सराफुले ४० बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै सर्वाधिक ५८ रन बनाए । युएईका ओपनर जोनाथन फिगीले २९ बलमा १९ रन बनाए । दोस्रो विकेटका लागि जोनाथन र एलिसानबिच ५७ बलमा सर्वाधिक ८१ रनको साझेदारी भएको थियो । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिएका थिए ।
आसिफको १०औँ अर्धशतक
नेपालको पहिलो ब्याटिङमा ओपनर आसिफ शेखले १०औँ टी–२० अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४७ बलमा सर्वाधिक ५१ रनको योगदान दिए । यसक्रममा उनले चार चौका र एक छक्का प्रहार गरे । उनी ध्रुव परासरबाट बोल्ड भए । कुशल भुर्तेलले २६ बलमा समान दुई चौका र छक्कासहित २८ रन बनाए । नेपालले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । कप्तान रोहित पौडेलले १९ बलमा एक चौकासहित २० रन जोडे । रोहित र आसिफबिच दोस्रो विकेटका ३९ रनको साझेदारी भएको थियो । बलियो प्रतिद्वन्द्वी युएईविरुद्ध नेपालको मध्यक्रम चल्न सकेन । नेपालले १५.६ ओभरमा तीन विकेट गुमाउँदा १०३ रन बनाएको थियो । बाँकी चार ओभरमा नेपालले ३७ रन जोडेको थियो ।
युएईले खेलमा मौका दियो
रोहित पौडेल, कप्तान, नेपाल
युएईसामु १४१ रनको लक्ष्य ठुलो होइन । पहिलो ब्याटिङ गर्दा कम्तीमा १६० रन लक्ष्य दिने योजना थियो । पहिलो इनिङ्समा २० रनले पछि परेजस्तो लाग्छ । युएईका बलरले मध्यतिर रोकेका थिए । जसकारण पछि बाउन्ड्री खासै आएन । यद्यपि, बलिङमा लक्ष्य रक्षा गर्न सक्ने आत्मविश्वासी भएर बसेका थियौँ । प्रतिस्पर्धामा युएईले खेलमा फर्कने मौका दियो । हामी पनि यही मौकाको खोजीमा थियौँ । दीपेन्द्रसिंह दाजुले सधैँ फिल्डिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ । आजको खेलमा पनि यस्तै भयो । युएईको दुई रनआउटले खेल नै परिवर्तन भयो ।
रनआउट नै हारको कारण बन्यो
मुहमद वासिम, कप्तान, युएई
खेल निकै रोमाञ्चक बन्यो । नेपाललाई मध्यम योगफलमा रोक्यौँ । बलरहरूलाई यसको श्रेय दिन चाहन्छु । लक्ष्य पछ्याउँदा सबै राम्रो भइरहेको थियो । आवश्यक रनरेटअनुसार ब्याटिङ भइरहेको थियो । खेलको मध्यमा माइन्ड गेम खेल्न सकेनौँ । नेपाली बलरले उत्कृष्ट पुनरागमन गरेको भन्नुपर्छ । अन्तिम ओभरतिर एक वा दुई रन लिँदा खेल हाम्रो पक्षमा थियो, तर स्ट्रोक लगाउने ध्यानमा विकेट गुम्यो । अझ डेथ ओभरमा ब्याट्सम्यानहरू रनआउट हुनु नै युएईको हारको कारण बनेजस्तो लाग्छ । नेपालसँगको खेलमा सबैले मजा लिएको हुनुपर्छ । आगामी खेलमा सकारात्मक सोचका साथ प्रतिस्पर्धा हुनेछ ।
अझ उत्कृष्ट प्रदर्शन गर्छु
दीपेन्द्रसिंह ऐरी, खेलाडी, नेपाल
युएईमाथिको जितले खुसी छु । यस्तै प्रदर्शन भइरहँदा नेपाल विश्वकपमा पुग्नेछ । धेरैले फिल्डिङ र बलिङमा मैले उत्कृष्ट प्रदर्शन गरेको भनेका छन् । तर, पुराना खेलहरूको तुलनामा यो त्यति राम्रो होइन । अझ उत्कृष्ट प्रदर्शन गर्न बाँकी छ । आगामी दिनमा योभन्दा फरक खेल हुनेछ । सबै खेलमा राम्रो खेल्नुपर्छ । सहभागी कुनै पनि टोली सामान्य छैनन् । सबै बलिया छन् । यसकारण गल्ती नगरी खेल्नुपर्छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved