आइसिसी टी–२० विश्वकप छनोट : तेस्रोपटक विश्वकप खेल्दै नेपाल

  • असोज ३०, २०८२ | ६५४ पटक पढिएको | सीमा संदेश
alt

सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको छ । एसिया तथा एसिया प्यासिफिकतर्फबाट छनोटसँगै नेपाललाई विश्वकपका महारथी देशसँग खेल्ने ढोका पनि खुलेको छ । विश्वकपमा २० टोली खेल्नेछन् ।

नेपाल लगातार दोस्रोपटक आइसिसी पुरुष टी–२० विश्वकपमा छनोट भएको हो । समग्रमा नेपाल तेस्रोपटक विश्वकप खेल्दै छ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो । 

सन् २०१४ मा नेपालले पारस खड्काको कप्तानीमा विश्वकपमा स्थान सुरक्षित गरेको थियो भने एक दशकपछि पुन: विश्वकपमा छनोट हुँदा रोहित पौडेल कप्तान थिए । अहिले पनि उनै पौडेलको कप्तानीमा नेपाल विश्वकपमा छनोट भएको छ । यसले पौडेल नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान बनेका छन् ।

बुधबार ओमानमा भएको एसिया तथा एसिया प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई)ले सामोआलाई ७७ रन तथा कतारले जापानलाई तीन विकेटले हराएसँगै शीर्ष दुईमा रहेका ओमानसँगै नेपाल विश्वकप छनोट भएका हुन् । नेपालले अन्तिम खेल सामोआसँग खेल्ने तालिका छ ।

यो नतिजासँगै विश्वकपमा स्थान बनाउने २० मध्ये १९ टोलीको टुंगो लागेको छ । नेपालले तेस्रोपटक विश्वकपमा स्थान बनाउँदा ओमान चौथो विश्वकप खेल्दै छ । ओमानले सन् २०१६, २०२१ र २०२४ मा विश्वकप खेलेको थियो । बुधबार सामोआलाई हराएसँगै युएई चार खेलमा चार अंक जोड्दै तेस्रो स्थानमा छ । चार खेल खेलेको कतार र तीन खेल खेलेको जापानको समान दुई अंक छ । सामोआ तीन खेल खेल्दा अंकविहीन छ । अब, सुपर सिक्सबाट युएईसँगै जापान र कतारमध्ये एक टोली विश्वकपमा छनोट हुनेछन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विश्वकपमा लगातार दोस्रोपटक छनोट देशका लागि गौरवको विषय भएको बताए । विश्वकपमा छनोटले चुनौती पनि बढाएको उनले बताए । ‘विश्वकपमा छनोट खुसी मात्रै होइन, गौरवको क्षण हो । देश जटिल अवस्थामा हुँदा क्रिकेटले सबैलाई एउटै ठाउँमा जोडेको छ । छिमेकी मुलुकमा विश्वकप हुनु अर्काे खुसी हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘खेलाडीको मिहिनेतले आजको नतिजा आएको छ । अब टिमको हौसला बढाउनुपर्नेछ । विश्वकपमा छनोट भएर मात्रै हुँदैन चुनौती पनि धेरै बढेको छ ।’

ठुला राष्ट्रसँग खेल्ने अवसर 
विश्वकपको तालिका सार्वजनिक भएको छैन । तर, नेपालले आइसिसीका केही पूर्ण सदस्यसँग खेल्ने पक्कापक्की छ । आइसिसीले समूहमा पूर्ण सदस्यदेखि एसोसियट राष्ट्रलाई समेट्ने गरेको छ । यद्यपि, नेपालले यसअघि नै विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेलिसकेको छ । यता, एसिया कपमा भारत र पाकिस्तानसँग खेलिसकेको छ । त्यस्तै, वेस्ट इन्डिजसँगको टी–२० शृंखला भने नेपालले ऐतिहासिक रूपमा जितेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विश्वकपअघि अभ्यासमा टेस्ट राष्ट्रसँग खेल्ने बताए । ‘आइसिसी टेस्ट राष्ट्रहरूले विश्वकप पुगेपछि अभ्यास खेल खेल्छौँ भन्नुभएको छ । उहाँहरूको प्रतिबद्धताअनुसार हामी अगाडि बढ्छौँ,’ उनले भने ।

तेस्रोपटक विश्वकप खेल्दै सोमपाल 
नेपाल तेस्रोपटक विश्वकप खेल्दा तीनवटै विश्वकपको साक्षी बन्ने प्रयासमा छन् अलराउन्डर सोमपाल कामी । नेपाल सन् २०१४ मा विश्वकप खेल्दा सोमपाल युवा खेलाडी थिए । त्यसवेला अवसर पनि कम पाएका थिए । अहिले भने उनी टोलीका अनुभवी खेलाडी हुन् । २९ वर्षीय सोमपाल अहिले छनोट खेलिरहेका सबैभन्दा पाका खेलाडी हुन् । उनीसँगै पहिलोपटक विश्वकप खेलेका अन्य खेलाडी अहिले अन्तर्राष्ट्रिय खेलजीवनबाट टाढा छन् । विनोद भण्डारी घरेलु लिग खेलिरहेका छन् । तत्कालीन कप्तान पारस खड्का क्यानको सचिव भइसकेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल अहिले नेपाली टिमको सहायक प्रशिक्षक छन् । 

यसअघि खेलेका विश्वकप
पारस खड्काको कप्तानीमा रहेको नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । खड्का हाल नेपाल क्रिकेट संघ (क्यान)को सचिव छन् । नेपालले विश्वकपमा तीन खेल खेल्दा दुई जित निकाल्यो भने एक खेलमा हार व्यहोर्‍यो । यद्यपि, झिनो नेट रनरेटका कारण नेपाल समूह चरणबाट माथि बढ्न सकेन । बंगलादेशमा भएको विश्वकपमा नेपालले पहिलो खेल हङकङसँग खेल्यो । नेपालले विश्वकपमा डेब्यु जित निकाल्दा हङकङ ८० रनले पराजित भएको थियो । उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रन बनाएका थिए । नेपाल तेस्रोपटक विश्वकपमा स्थान बनाउँदा उनी टिमको सहायक प्रशिक्षक छन् । दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग आठ विकेटले पराजित भयो । तेस्रो रोमाञ्चक खेलमा भने अफगानिस्तानलाई नौ रनले पराजित गरेको थियो । 

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा पनि नेपाल समूह चरणबाट माथि बढ्न सकेन । तर, टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध गरेको प्रदर्शन विश्वभर चर्चामा रह्यो । नेपाल अन्तिममा मात्र एक रनले चुकेको थियो । समूह ‘डी’मा रहेको नेपाल चारमध्ये तीन खेलमा पराजित भयो । नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग एक रन र बंगलादेशसँग २१ रनले पराजित भयो । टेस्ट राष्ट्र श्रीलंकासँगको खेल भने वर्षाको कारण हुन सकेन । 

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब