अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले टि-२० विश्वकपमा भारतविरुद्धको म्याच नखेल्ने पाकिस्तानको निर्णयप्रति आपत्ति जनाएको छ । पाकिस्तान सरकारले आइसीसी पुरुष टी-२० विश्वकप २०२६ मा आफ्नो राष्ट्रिय टिमलाई भाग लिन अनुमति दिएको तर भारतविरुद्धको खेल (फेब्रुअरी १५ मा निर्धारित) मा मैदानमा नउत्रने निर्णय गरेको थियो ।
यसलाई ‘छनोटमूलक सहभागिता’ भन्दै आइसीसीले यसले विश्वव्यापी खेलकुद प्रतियोगिताको आधारभूत सिद्धान्तसँग मेल नखाने बताएको छ । आइसीसीको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘आइसीसीले पाकिस्तान सरकारको निर्णयलाई ध्यानमा राखेको छ, जसअनुसार राष्ट्रिय टिमलाई आइसीसी पुरुष टी-२० विश्वकप २०२६ मा छनोटमूलक ढंगले सहभागी गराउने निर्देशन दिइएको छ।’
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट अझै आधिकारिक जानकारी प्राप्त नभए पनि आइसीसीले यो निर्णयले योग्य टिमहरूले निर्धारित तालिकाअनुसार समान आधारमा प्रतिस्पर्धा गर्ने विश्वकपको मूल भावनालाई कमजोर बनाउने उल्लेख गरेको छ ।
‘आइसीसीका प्रतियोगिताहरू खेलको अखण्डता, प्रतिस्पर्धात्मकता, निरन्तरता र निष्पक्षतामा आधारित छन्। चयनात्मक सहभागिताले प्रतियोगिताको भावना र पवित्रतालाई हानि पुर्याउँछ,’ विज्ञप्तिमा उल्लेख छ।
आइसीसीले निर्णयमा पुनर्विचार गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।
‘आइसीसीको प्राथमिकता सफलरूपमा आइसीसी पुरुष टी-२० विश्वकप सञ्चालन गर्नु हो, जसमा सबै सदस्य राष्ट्रहरू (पीसीबीसमेत)को जिम्मेवारी छ। आइसीसीले पीसीबीसँग सबै सरोकारवालाको हित संरक्षण गर्ने आपसी सहमतिमा समाधान खोज्ने अपेक्षा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved