भरियो अख्तियारको हिरासत

  • साउन १३, २०८३ | १५५ पटक पढिएको | सीमा संदेश
alt

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत भरिएको छ । अख्तियारले चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ गरेका केहीलाई थुनामा राखेर तथा केहीलाई हाजिरी जमानीमा छाडेर अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारको हिरासतमा हाल १४ जना छन्, जसमध्ये दुई महिला छन् । अख्तियारको हिरासत भरिएपछि केहीलाई प्रहरीको हिरासतमा राखिएको छ । पछिल्लो समय धेरै स्टिङ अपरेसन भएकाले अख्तियारको हिरासत भरिएको प्रवक्ता सुरेश न्यौपानेले बताए । ‘हाल दुई महिलासहित १४ जना हाम्रो हिरासतमा छन्,’ उनले भने, ‘केहीलाई अन्यत्र हिरासतमा पनि राखिएको छ ।’

पुरानो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्ष सुरु हुने समयमा सरकारी कार्यालयहरूमा भुक्तानी धेरै हुन्छ । भुक्तानीकै लागि घुस लिएको घटनामा धेरै पक्राउ परेका छन् । अख्तियारका एक अधिकारीका अनुसार आर्थिक वर्षको अन्तिममा भुक्तानी रोकेर कर्मचारीले बार्गेनिङ गर्ने प्रवृत्ति छ । त्यस्ता कर्मचारीबाट हैरान भएका सेवाग्राहीले अख्तियारलाई खबर गरेर पक्राउ गराउँछन् । यसपटक पनि विभिन्न कार्यालयका कर्मचारी पक्राउ परेका छन् । थुनामा रहेकामध्ये १२ सरकारी कर्मचारी छन् भने दुई सर्वसाधारण छन् । 

१० हजारदेखि एक करोडसम्म घुस
अख्तियारले पछिल्लो तीन सातामा १० हजारदेखि साढे सात लाख घुससहित विभिन्न कर्मचारीलाई पक्राउ गरेको छ । सोमबार मात्र वडासचिवलाई घुससहित रंगेहात पक्राउ गर्‍यो । झापाको गौरीगन्ज गाउँपालिका– १ मा कार्यरत वडासचिव अजय साह १० हजार घुससहित पक्राउ परेका हुन् । सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीसँग उनले घुस लिएका थिए । अख्तियार कार्यालय, इटहरीबाट खटिएको टोलीले साहलाई स्थानीय होटेलबाट पक्राउ गरेको हो ।

गत शुक्रबार भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सिनियर डिभिजनल हाइड्रोजियोलिस्ट अनुपमा ढकाल र मेकानिकल अधिकृत (छैटौँ) तुलाकान्त चौधरी सात लाख ५० हजार घुससहित पक्राउ परेका थिए । बोरिङ र मोटर जडान कामको भुक्तानीका लागि उनीहरूले घुस मागेका थिए । अख्तियारको टोलीले सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वार्टरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

गत शुक्रबार नै काठमाडौं महानगरपालिका– ३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराई २१ हजार घुससहित पक्राउ परेका थिए । स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसका लागि उनले २१ हजार घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

त्यस्तै, ७ साउनमा आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एमएस पाल पाँच लाख घुससहित पक्राउ परेका थिए । लेखापरीक्षणको कागजात नमिलेको भन्दै उनले घुस मागेका हुन् । अख्तियारको टोलीले कार्यकक्षबाटै उनलाई पक्राउ गरेको थियो ।

नेपाल टेलिकमका पूर्वअधिकृत गंगादत्त भट्ट र उनका साथी विवेक शर्मा एक करोड घुस लेनदेनको विषयमा छानबिनमा छन्। चिनियाँ ठेकदारसँग खातामै उनीहरूले एक करोड रुपैयाँ घुस लिएको छानबिनमा खुलेको छ । भट्ट टेलिकमकै कर्मचारी हुँदा ठेक्कामा सघाएर घुस लिएका हुन् । पछि पनि दुःख दिएको भन्दै चिनियाँ ठेकदारलाई प्रमाणसहित उजुरी दिएपछि उनी पक्राउ परेको अख्तियार स्रोत बताउँछ ।

गत ३१ असारमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्का ६ लाख घुससहित पक्राउ परेका थिए । पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि उनले घुस लिएको अख्तियारको दाबी छ । झापाको दमक नगरपालिका– १ स्थित खाजाघरबाट उनलाई आयोगले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा सो गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराईको समेत मिलेमतो देखिएपछि अख्तियारले उनलाई पनि नियन्त्रणमा राखेको छ ।

२३ असारमा  सिराहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ) रामकेवल राय पक्राउ परे । उद्योगका लागि ल्याएका काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा उनले १२ हजार घुस लिएका थिए । उनको साथबाट स्रोत नखुलेको थप एक लाख ३३ हजार एक सय २० रुपैयाँ पनि बरामद भएको छ ।

सप्तरीको राजविराज नगरपालिका– ३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख (पशु विकास अधिकृत/आठौँ) डा. रामपवित्र दास र हलुका सवारीचालक भोगेन्द्र यादव पनि आयोगको हिरासतमा छन् । उनले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराएबापतको पाउनुपर्ने भुक्तानी रकमको २०% कमिसन मागेका थिए । अख्तियारले गत २१ असोजमा डा. दासका सवारीचालक भोगेन्द्र यादवलाई घुसबापतको ३३ हजार ३५० र स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँसहित पक्राउ गरेको थियो । भोलिपल्ट दासलाई पनि नियन्त्रणमा लिएको हो ।

सरकारी सम्पत्ति हिनामिनामा सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीला लामा पनि अख्तियारको हिरासतमा छन् । सशस्त्र प्रहरीद्वारा सञ्चालित कीर्तिपुरस्थित विद्यालयको लेखा अधिकृत हुँदा गुरुङले ११ करोड लामाको खातामा अवैध रूपमा स्थानान्तण गराएकी थिइन् । प्रहरीले सुरुमा दुई साता थुनामा राखी अनुसन्धान गरेर उनीहरूलाई गत शुक्रबार अख्तियारमा बुझाइएको थियो । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब