काठमाडौँ । तराई/मधेसमा विभिन्न सात दल सम्मिलित मोर्चा बनेको छ ।
साउन २३ गते घोषणा हुन गइरहेको सो मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र हरिनन्दन कुमार अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी छन् ।
मोर्चा कसको नेतृत्वमा रहने भन्ने स्पष्ट भएको छैन । साउन २३ गते नै विस्तृत घोषणा हुने जनता समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले बताए । ‘मोर्चा सञ्चालनको कार्यविधि, त्यसको कार्यदिशा, कार्यक्रम लगायतको विषयमा छलफल चलिरहेको छ,’ उनले भने, ‘सबै कुरा घोषणाकै दिन सार्वजनिक गर्छौँ ।’
वर्तमान राजनीतिक अवस्थामा दलहरूको बिचमा मोर्चाबन्दी गर्नुपरेको बताउँदै उनले विचार, सिद्धान्त मिल्ने अन्य दललाई पनि बिस्तारै जोड्ने जानकारी दिए ।
मधेसवादी नेतामध्ये उपेन्द्र यादव, सीके राउत र प्रभु साह फरक पृष्ठभूमिबाट उदाएका हुन् । उपेन्द्र यादवसँग सीके राउत र प्रभु साहको कहिल्यै सुमधुर सम्बन्ध रहेन । उनीहरूले आपसमा प्रतिस्पर्धी राजनीतिक छवि बनाएरै मधेसमा पहिचान बनाएका छन् ।
अहिले यी तीनै जना एउटै मोर्चामा आउनु धेरैका लागि अनौठो विषय बनेको छ । जेनजी आन्दोलनपछिको परिस्थितिले उनीहरूलाई मिल्न बाध्य पारेको जानकारहरू बताउँछन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउत सुरुदेखि नै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको विपक्षमा थिए । यहाँसम्म कि राउतले २०७९ को आम निर्वाचनमा उपेन्द्र यादवसँगै प्रतिस्पर्धा गरेर पराजित तुल्याए । पराजित भएपछि उपेन्द्र यादव बारा–२ बाट उपनिर्वाचनमा उम्मेदवार बने । त्यहाँ पनि सीके राउतले आफ्नो पार्टीबाट पूर्वमाओवादी नेता शिवचन्द्र कुशावाहालाई उम्मेदवार बनाए । राउत उपनिर्वाचनभर बारामै खटिएका थिए ।
संघदेखि प्रदेशसम्म उपेन्द्र यादवको विरोध गर्नमा कुनै कसर बाँकी नराखेका अध्यक्ष सीके राउतले यसअघि बनेका संघीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादवलाई स्वीकार गरेका थिएनन् । उपेन्द्र यादव मोर्चाको संयोजकको बन्न खोज्दा राउतले नै विरोध गरेका थिए ।
यद्यपि अहिले सीके राउत र उपेन्द्र यादव एउटै मोर्चामा सहभागी भएका छन् । उनीहरूले संयुक्त रूपमा संघर्ष गर्नेमात्र होइन, सँगै चुनाव पनि लड्ने तयारी गरेका छन् ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले भने, ‘राजनीतिमा प्रतिस्पर्धा हुनु आवश्यक छ । विनाप्रतिस्पर्धा राजनीति हुँदैन । प्रतिस्पर्धाको क्रममा पार्टीका नेताहरूले केही कुराहरू बोल्नुभएको होला, तर राजनीतिमा सबै कुरा सधैँ एकनास हुँदैन । समयक्रम अनुसार परिवर्तन भइरहन्छ ।’
अहिलेको माग नै एकता र सहकार्य रहेको सिंहले प्रस्ट पारे । ‘अहिले टुटेर होइन, जुटेर जाने आवश्यकता महसुस भएर तराई मधेसका दलहरू एकजुट भएका छन्,’ उनले भने, ‘अहिलेको अवस्थामा सबै तितामिठा कुरा बिर्सेर एक भएर अगाडि बढ्ने अवस्था आएको छ ।’
यता, आम जनता पार्टीका संयोजक प्रभु साह र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिचको सम्बन्ध पनि राम्रो रहेन । उपेन्द्र यादव र प्रभु साहकै कारण गौर घटना भएको हो । प्रभु साहले नेतृत्व गरेको तत्कालीन माओवादीको मधेसी मुक्ति मोर्चा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबिच रौटहटको गौरमा भिडन्त हुँदा ठुलो जनधनको क्षति भएको थियो ।
गौर घटनालाई लिएर प्रभु साहले उपेन्द्र यादवको विरुद्धमा आन्दोलन गर्न र अदालतमा मुद्दा दायर गर्न लगाएका थिए । त्यो मुद्दा अझै विचाराधीन छ । अहिले प्रभु साह र उपेन्द्र यादव एउटै मोर्चामा हुनु पनि अनौठो मानिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved