आज बडादशैंको मुख्य दिन, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

  • कार्तिक ५, २०८३ | ४९ पटक पढिएको | सीमा संदेश
alt

नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटको शुभ साइतमा विधिपूर्वक देवी विसर्जन गरिन्छ । त्यसैगरी, टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा रहेको छ । टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ ।

घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल मानिस तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ । यस अवसरमा बन्धु-बान्धवहरूका साथ बसेर भगवतीको प्रसाद ग्रहण गर्ने परम्परा छ । दसैँको टीकाले टाढा-टाढा रहेका परिवारका सदस्यहरूलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । यस पर्वले परिवारका सदस्यहरूबिच आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्नुका साथै आफन्त, छिमेकी र सिङ्गो समुदायबिच समेत भाइचाराको भावना बलियो बनाउँछ ।

विजयादशमीको धार्मिक तथा पौराणिक पक्षलाई मार्कण्डेय पुराणअन्तर्गत ‘देवीमाहात्म्य’ मा विशेष रूपमा वर्णन गरिएको छ । जसमा चण्डीपाठ, देवीको महिमा, दानवी शक्तिविरुद्धको सङ्घर्ष र धर्मको रक्षासम्बन्धी प्रसङ्ग तथा देवी दुर्गाको विजयको स्मरण गरिएको छ । नवरात्रभर गरिएको धार्मिक साधनाको समापन गर्दै ज्येष्ठ सदस्यहरूसँग टीका र जमरा लगाई आशीर्वाद लिने परम्परा यसैमा आधारित छ ।

धार्मिक मान्यताअनुसार, विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् श्रीरामले रावणमाथि विजय हासिल गरेको दिनका रूपमा मनाइन्छ। त्यसैले दसैँको टीका लगाउँदा जीवनमा सधैँ सत्य, धर्म र सदाचारको विजय होस् भन्ने धार्मिक भावना जोडिएको हुन्छ ।

दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ । यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्रलाई प्रसादको रूपमा घाँटीमा लगाउने परम्परा समेत रहेको छ ।

दशैका आशिषहरु :
ॐ आयूद्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

अर्थ
अश्वत्थामाको समान लामो आयु , राजा दशरथका समान ख्याति, राम चन्द्रका समान शत्रुलाई परास्त गर्ने क्षमता, राजा नहुषका समान ऐश्वर्य , वायुको समान वेग , दुर्योधनको जस्तै मान–सम्मान , सूर्यपुत्र कर्णका समान दानी ,बलरामका समान बलशाली , कुन्ती पुत्र युधिष्ठिरका समान सत्यवादी , विदुरका समान नीतिज्ञ र भगवान नारायणका समान कीर्तिशाली बन्न सकियोस् ।

भद्रमस्ति शिवं चास्तु महालक्ष्मी प्रसीदतु
रक्षतु त्वां सदा देवा आशिषः सन्तु सर्वदा

अर्थ

कल्याण होस् , महालक्ष्मी प्रसन्न हुनुहोस् , देवताहरुले सधै रक्षा गरिरहुन् , सधै महापुरुषहरूको आशीर्वाद लागिरहोस् ।

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

जयन्ति, मङ्गला, काली ,भद्रकाली ,कपालिनी ,दुर्गा ,क्षमा , शिवा , धात्री , स्वाहा , स्वधा , नामले प्रसिद्ध तिमिलाई नमस्कार छ ।

जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी
जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते

देवी, चामुन्डे ! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दुःख हरण गर्ने जगदम्बे ! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी ! तिम्रो जय होस् हे कालरात्रि ! तिमिलाई नमस्कार छ ।

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके
शरण्येत्र्यम्बके गौरि नारायणी नमोऽस्तुते

सब मङ्गलमा माङ्गल्यरुप,कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी ! तिमीलाई नमस्कार छ ।

कार्तिक ५ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ५ गते । बिहीबार ...

सामुदायिक माविको पहिलो प्रधानाध्यापक बनिन् कविता ठ

जिल्लामा मुलुकको पहिलो दरबार हाईस्कुलपछि स्थापना भएको द ...

फेसबुकमा हतियार देखाउने उमर फारूक प्रहरी नियन्त्रण

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्नु सुरक्षा चुनौतीसँ ...

झारफुकका नाममा असुली, जनप्रतिनिधि र प्रशासन किन मौ

एक्काइसौँ शताब्दीको आधुनिक युगमा विज्ञान र प्रविधिले सं ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब