धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घटनामा चार वर्षीय छोरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादव कात्तिक ७ गते राति करिब ९ बजे मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुराली पुगेका थिए ।
सोही बिहान करिब १ः५० बजे उमेशले ३० वर्षीया श्रीमती रिना र उनीहरूसँगै सुतिरहेका चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा फेला पारेको थियो । बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको थियो ।
श्रीमतीको हत्या र छोरामाथि आक्रमण भएको घटनापछि उमेश घटनास्थलबाट फरार भएका थिए । प्रहरीले उनको खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ मा सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको थियो ।
घटनापछि प्रहरीले रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । पहिलो घटनास्थलको मुचुल्का सम्पन्न भइसकेको छ भने उमेशको शव फेला परेको दोस्रो घटनास्थलको मुचुल्का गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved