गैरदलीय स्थानीय निर्वाचन अभियानले स्थानीय तहको निर्वाचनलाई दलीय प्रभावबाट मुक्त बनाउन माग गरेको छ ।
सिरहा सदरमुकामस्थित सिरहा पुस्तकालयमा शनिबार आयोजित बहस कार्यक्रममा अभियानले स्थानीय निर्वाचनमा राजनीतिक दलबीचको प्रत्यक्ष प्रतिस्पर्धा अन्त्य गरी स्थानीय सरकारलाई विकास निर्माण र जनसेवामा केन्द्रित गर्नुपर्नेमा जोड दिएको हो । स्थानीय तहमा दलीय प्रतिस्पर्धाले समाजमा राजनीतिक विभाजन, असहिष्णुता र द्वन्द्व बढाएको अभियानको निष्कर्ष छ ।
निर्वाचनका बेला पार्टीगत ध्रुवीकरणले सामाजिक सद्भाव कमजोर बनाउनुका साथै विकास निर्माणका कामसमेत राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रभावित हुने गरेको अभियानले जनाएको छ । बहुदलीय संसदीय व्यवस्थामा राजनीतिक दलको भूमिका अस्वीकार गर्न नसकिने भए पनि स्थानीय तहलाई दलीय शक्ति प्रदर्शनको थलो नभई जनताको आवश्यकता सम्बोधन गर्ने माध्यम बनाउनुपर्ने अभियानको तर्क छ ।
बहसमा सहभागी पूर्वमन्त्री सुरेशकुमार मण्डलले स्थानीय निर्वाचनलाई पार्टीगत प्रतिस्पर्धाभन्दा माथि उठाएर जनसरोकार, विकास र सामाजिक एकतासँग जोड्नुपर्ने बताए ।
प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि स्थानीय निर्वाचन गैरदलीय बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै अभियानले त्यसलाई व्यवहारमा उतार्न आग्रह गरेको छ । ‘यसका लागि संविधान संशोधन अनिवार्य छैन,’ अभियानका अगुवा रामरिझन यादवले भने, ‘संघीय संसद्मा ऐन ल्याएर वा अध्यादेशमार्फत पनि प्रतिबद्धता कार्यान्वयन गर्न सकिन्छ ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved