अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ । यो नयाँ प्रणाली भने अर्नब भन्दा कमजोर देखिएको छ ।
भारत मौसम विज्ञान विभागका अनुसार अक्टोबर ३१ अर्थात् कात्तिक १४ गतेसम्म २२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सरेको थियो । अक्टोबर ३१ को राति ११ः३० बजे भारतीय समयअनुसार यो बंगालको खाडीको दक्षिणपूर्वी क्षेत्रमा १०.९ डिग्री उत्तरी अक्षांश र ८७.५ डिग्री पूर्वी देशान्तरमा केन्द्रित थियो।
त्यतिबेला यो चेन्नईबाट ८३० किलोमिटर पूर्व–दक्षिणपूर्व, विशाखापट्टनमबाट ८८० किलोमिटर दक्षिण–दक्षिणपूर्व, मछलीपट्टनमबाट ९०० किलोमिटर दक्षिणपूर्व र ओङ्गोलबाट ९५० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको थियो।
भारतीय मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यो प्रणाली नोभेम्बर १ अर्थात् कात्तिक १५ को दिउँसोसम्म बंगालको खाडीको दक्षिणपश्चिमी तथा त्यससँग जोडिएको दक्षिणपूर्वी क्षेत्रमा गहिरो न्यून चापीय प्रणालीमा परिणत हुनेछ । नोभेम्बर १ को मध्यरातसम्म चक्रवाती आँधी र नोभेम्बर २ मा पश्चिममध्य बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा विकसित हुने सम्भावना छ ।
यो आँधी नोभेम्बर ३ को बिहान सबेरै दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्ने र बिहान नेल्लोर तथा नरसापुरबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ ।
आँधी जमिनमा प्रवेश गर्ने समयमा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्ने तथा झोक्कासहितको अधिकतम गति १२० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने विभागको पूर्वानुमान छ ।
यसअघि अक्टोबर ३१ को साँझ ५ः३० बजे भारतीय समयअनुसार सार्वजनिक गरिएको विवरणमा उक्त प्रणाली पछिल्लो ६ घण्टामा ३० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सरेको जनाइएको थियो । त्यसबेला यो १०.५ डिग्री उत्तरी अक्षांश र ८८.६ डिग्री पूर्वी देशान्तरमा केन्द्रित थियो ।
पछिल्लो अद्यावधिक विवरणमा प्रणालीको केन्द्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेर यसको अवस्थिति परिवर्तन भएको देखिएको छ । विभागले आँधीको विकासक्रम र सम्भावित मार्गबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ।
अर्नब भन्दा कमजोर
अहिलेको न्यून चापीय प्रणाली अर्नब चक्रवात भन्दा कमजोर छ । अर्नब चक्रवात बंगालको खाडीबाट जमिनसम्म पुग्न सात दिन लागेको थियो । यो अवधिमा धेरै जलवाष्पयुक्त हावा बटुलेर अर्नब शक्तिशाली बनेको थियो ।
तर अहिलेको प्रणाली तीन दिनमै जमिनमा पुगेकाले यसले अर्नबको तुलनामा कम जलवाष्प बोकेको भारतको मौसम तथा जलवायु विश्लेषण गर्ने निजी संस्था स्काईमेटले जनाएको छ ।
त्यसैले यसले अर्नब जस्तो धेरै पानी नपार्ने विश्लेषण गरिएको छ ।
नेपालमा असर पर्ला ?
अर्नबको असरले नेपालमा पनि कात्तिक १२, १३ र १४ गते वर्षा र हिमपात गराएको थियो । तर, अर्नब पछाडिको नयाँ प्रणालीको असर नेपालमा कहिले पर्छ वा असर नै पर्दैन भन्नेबारे अहिले निश्चित भइसकेको छैन।
भारतका मौसमविदले नेपालसँग सिमाना जोडिएको उत्तर भारतको बिहार राज्यसम्म यसको असर देखिने जनाएका छन् ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले पछिल्लो मौसमी प्रणालीलाई नजिकबाट नियालिरहेको जनाएका छन् । त्यसको नेपालमा खासै असर नदेखिने मौसमविद्हरूको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले भने, ‘यसले खासै असर गर्ने जस्तो देखिँदैन । यस्तो भइरहन्छ । त्यस्तो धेरै इम्प्याक्ट गर्ने जस्तो देखिँदैन ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved