छठ पर्वका अवसरमा प्रधानमन्त्री बालेन जनकपुरधाम आउने

  • कार्तिक १५, २०८३ | ४१ पटक पढिएको | सीमा संदेश
alt

प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ छठ पर्वका अवसरमा जनकपुरधाम आउने कार्यक्रम तय भएसँगै उनको स्वागत तथा भ्रमण व्यवस्थापनको तयारी तीव्र पारिएको छ । प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जनकपुरधाम उपमहानगरपालिकाले नगरको सरसफाइ, सडक मर्मतसम्भार, पोलहरूमा बत्ती जडान तथा विमानस्थलदेखि गंगासागरसम्मका क्षेत्रमा रङरोगनलगायतका काम अघि बढाएको छ ।

प्रधानमन्त्री बालेनको भ्रमणलाई व्यवस्थित र सफल बनाउन दुई दिनअघि जनकपुरधाम उपमहानगरपालिकामा सरोकारवाला निकायबीच बैठकसमेत बसेको थियो । उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहको अध्यक्षतामा सम्पन्न बैठकमा सहरी विकास कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उपमहानगरपालिकाका बोर्ड सदस्य तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । बैठकबाट प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउन सम्बन्धित सबै कार्यालयले आ– आफ्नो क्षेत्रबाट आवश्यक तयारी अघि बढाउने निर्णय गरिएको थियो ।

उपमहानगरपालिकाले तत्काल नगरको सरसफाइ, सडक तथा सार्वजनिक स्थलको व्यवस्थापन, पोलहरूमा बत्ती जडान र रङरोगनको कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी बोर्ड सदस्य एवं वडा नम्बर ७ का अध्यक्ष निरज साह ‘मुन्ना’ले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री बालेन छठ पर्वका दिन जनकपुरधाम आउने कार्यक्रम रहेकाले भ्रमणलाई व्यवस्थित बनाउन सरसफाइदेखि अन्य आवश्यक व्यवस्थापनको जिम्मेवारी सम्बन्धित कार्यालयहरूलाई दिइएको छ ।

प्रधानमन्त्री बालेनले जनकपुरधामस्थित गंगासागरमा छठी माताको पूजाआजा गर्ने र त्यसपछि यात्री निवासमा विश्राम गर्ने कार्यक्रम रहेको जानकारी बैठकमा गराइएको अध्यक्ष साहले बताए । उपमहानगरपालिकाले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै नियमित सरसफाइलाई निरन्तरता दिएको छ भने बत्ती जडान र विभिन्न स्थानमा रङरोगनका कामसमेत तत्काल अघि बढाइएको छ भने सडक मरम्मत सम्भारको जिम्मेवारी सडक विभागलाई दिइएको छ । यस्तै प्रधानमन्त्रीको बसाई लगायतका कुराको जिम्मेवारी शहरीलाई दिइएको बुझिएको छ ।

प्रधानमन्त्री बनेपछि बालेनको जनकपुरधाम भ्रमण पहिलो हुनेछ । यद्यपि, यसअघि प्रतिनिधिसभा निर्वाचनपूर्व चुनावी प्रचारप्रसारका क्रममा उनी जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसैगरी, दोस्रो पटक मधेश भ्रमणका क्रममा पनि उनी जनकपुरधाम आएका थिए । तर, उक्त भ्रमणका क्रममा भने उनी यहाँ बसेका थिएनन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भने प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणबारे आफूलाई औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् । उनले प्रधानमन्त्री जनकपुरधाम आउने विषयमा औपचारिक पत्र वा जानकारी कार्यालयमा नआएको स्पष्ट पार्दै अनौपचारिक रूपमा भने छठ पर्वका अवसरमा प्रधानमन्त्री जनकपुरधाम आउने भन्ने कुरा विभिन्न सञ्चारमाध्यमबाट सुनेको बताए । प्रधानमन्त्रीको भ्रमणबारे प्रशासनिक निकायबाट औपचारिक पुष्टि हुन बाँकी रहेपनि उपमहानगरपालिकाले भने सम्भावित भ्रमणलाई लक्षित गर्दै तयारीका काम अघि बढाएको छ ।

कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बन्ने

कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तकोशी नदीमाथि नयाँ ...

जनकपुर–अयोध्या रेल सेवा अन्तिम तयारीमा, दुवै देशका

नेपालको धार्मिकस्थल जनकपुरधामदेखि भारतको अयोध्यासम्म वि ...

कार्तिक १४ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १४ गते । शनिबार ...

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब