सिरहा । प्रदेश २ मा हालसम्मा कोरोना भाइरस संक्रमितको संख्या १ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि १ सय ७२ पुगेको हो ।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार २१ मध्ये भारतबाट भित्रिएका २० व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
सप्तरीमा दुई, सिरहामा एक, धनुषामा आठ, महोत्तरीमा चार, सर्लाहीमा ३३, रौतहटमा २२, बारामा १२, तीन भारतीयसहित पर्सामा ९० गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १७२ पुगेको छ ।
बाराको सिमरौनगढ नगरपालिकाका कोरोनाबाट सङ्क्रमित सातजना केही दिनअघि भारतबाट फर्केका थिए । उनीहरुलाई स्थानीय कङ्कालिनीमाई माविस्थित क्वारेन्टाइनमा राखिएको थियो ।
करैयामाई गाउँपालिका ५ की एक ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । केहीदिन अघि भारतबाट फर्किएका उनका ३८ वर्षीय श्रीमानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आफन्त, सम्पर्कमा आएका व्यक्तिका साथै श्रीमतीको पनि स्वाब सङ्कलन गरिएको थियो । परीक्षणबाट ती व्यक्तिकी श्रीमतीमा कोरोना सङ्क्रमण देखिएको हो ।
सर्लाहीका १३ मध्ये १२ जना सङ्क्रमित भारतको गुजरात, महाराष्ट्र र दिल्लीबाट आएको बताइएको छ । सर्लाहीको कविलासी नगरपालिका–१ की ३७ वर्षीया कोरोना सङ्क्रमित महिलाको काठमाडौँमा उपचार भइरहेको छ ।
यस्तै सर्लाहीको गोडैता नगरपालिकामा विभिन्न मितिमा भारतबाट फर्केका १२ सङ्क्रमितलाई मलङ्गवा–२ स्थित अल्पमाई अस्पतालको आइसोलेशनमा राख्ने तयारी भइरहेको सचिव घिमिरेले बताए ।
सप्तरीको बलानविहुल गाउपालिकाका ३५ वर्षीय पुरुष वैशाख २९ गते भारतको हरियाणाबाट फर्केका थिए। उनको गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
यसैबीच प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र पारिएको छ । शनिबार ४०९ जनाको समेत गरी अहिलेसम्म यस प्रदेशमा सात हजार ९४५ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।
सोमध्ये पाँच हजार ५४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार २३४ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेशको २४८ वटा क्वारेन्टाइनमा आठ हजार ११९, होम क्वारेन्टाइनमा पाँच हजार २२० र आइसोलेशनमा १७० जना बसेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved