सिरहा। विश्वभरी कोभिड–१९ कोरोना भाइरसको महामारीबाट जोगिन सावधानीहरु अपनाईरहँदा सिरहासहित तराई–मधेशका जिल्लाहरुमा कोरोनाको पूजा गर्ने होडबाजी चलेको छ ।
गाउँ तथा टोलका महिलाहरुले लकडाउनको समेत धज्जी उडाउँदै हुलका हुल बनाएर सामाजिक दूरीसम्म कायम नगरी बिना मास्क कोरोनालाई देवीको रुपमा पूजाआजा गर्न थालेका हुन् । हल्लैहल्लाको पछि लागेर महिलाहरुले गाउँ–टोलका महिलाहरु नयाँ लुगा लगाई डालामा लड्डु, केरा, पान, सुपारी, दही, चिउरा, अगरबत्ती ईत्यादी राखेर डिहबार ९ग्राम देवता०कहाँ गई अराधना गर्दै नदी, गाउँको सिमाना वा खुल्ला ठाउँमा गई पूजाआजा गर्ने लहर चलेको छ ।
कोरोनालाई देवी मानेर पूजाआजा गरी हाम्रो गाउँ–टोलमा प्रवेश नगर्नु भनी विन्ती गरेपछि कोरोना नआउने हल्ला अनुसार नै महिलाहरुले पूजाआजा गर्न थालेका छन् । कतिपय टोलका महिलाहरुले नदीमा गई दियो समेत बाल्ने गरेको एक महिला बताउँछन् । उनका अनुसार ‘एक महिला झाक्रिले सपनामा कोरोना आएर मलाई पूजा गर्नु अनि म गईहाल्छु’ भनी हल्ला चलेपछि तराई मधेशका गाउँहरुमा कोरोना पूजनको होडबाजी चलेको हो ।
हालसम्मको प्राप्त जानकारी अनुसार मधेशका केही स्थानहरुमा कोरोनालाई ‘बाबा’ त ‘माता’ इत्यादी भनी सम्वोधन गरी पूजाआजा गर्ने गरिएको छ । लकडाउनमा घरबाट ननिस्किनुपर्ने अवस्था रहँदा पनि त्यसलाई तोडेर महिला कोसौं दूरी तय गरेर पूजाआजामा व्यस्त भएका छन् । पूजामा सहभागी सिरहाको सिरहा नगरपालिकाकी बिमला दास भन्छिन् ‘देउता रिसाएर कोरोना भाइरस आएको हो कि भनेर हामीले कोरोनाको पूजा गरेका हौं, सबैले पूजा गर्न थालेकोले मैले पनि गरेको हुँ ।’ सिरहामा दिनहँ महिलाहरुले डिहबार थान, कमला नदी र वलान नदीको किनारमा गई भिड भाडका साथ कोरोना देवीको पूजा गरिरहेको छ ।
सिरहा नगरपालिका प्रशासकिय प्रमुखको अनुरोध
यस्तै हल्लैहल्लाको पछि लागेर पूजा गर्ने महिलाहरुको जमात दिनानुदिन बढ्दै गईरहँदा सम्वन्धित सबै सरोकारवालाको रोक्नु पर्ने जिमेवारी हो । । यस्तो हल्ला व्यपारी र धामि झाक्रीले फैलाएको छ । भगवान प्रतिको आस्था राम्रो कुरा हो । तर आफ्नै घरमा पूजा गरे मात्र कोरोना संक्रमण नियन्त्रण हुन्छ, भिड गरेर हुदैन बुझन जरुरी छ । कोरोना भाइरसबाट जोगिनकालागि लकडाउनको पूर्ण पालना गरी सतर्कता अपनाउनुपर्नेमा अन्धविश्वास एवम् हल्लैहल्लाको पछाडि लागेर जोखिम बढाई रहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादब बताउँछन् ।
‘भेला भएका महिलाहरुले सामान्य सामजिक दूरी समेत कायम नगरी मास्कसम्म नलगाएर सिङ्गो गाउँटोल नै कोरोना भाइरस सार्न सक्ने सम्भावना बढेको छ’ उनी भन्छन् ‘हालसम्म समुदायमा कोरोना भाइरस विस्तार नभएको अवस्थामा अविलम्ब यस्ता भ्रम एवम् अन्धविश्वासी कार्यलाई रोक्नु जरुरी छ, यस्ता गलत कार्यले करिब सवा तीन महिनाको लकडाउनको कष्टप्रद अवस्थालाई पलभरमै भत्काएर कोरोना सार्ने माध्यम बन्न सक्ने जोखिम बढेको छ, देवी देउताको नाममा कोरोना जोखिम बढाउने कार्य अविलम्ब बन्द होस् ।’ यस्तो विषमपूर्ण अवस्थामा समाजका अगुवा एवम् शिक्षितवर्गले पहलकदमी लिएर कोरोनाको जोखिमबाट जोगाउन तत्काल पहल थाल्न तथा सुरक्षाकर्मीहरुले समेत यस्ता कार्य गरेकोमा देखेमा अविलम्ब रोक्न यादबको आग्रह छ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved