अब बाँझो जग्गा राख्नेले जरिवाना तिर्नुपर्ने

  • असार ११, २०७७ | २६३ पटक पढिएको | सीमा संदेश
alt

ललितपुर । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा रु एक सयका दरले जरिवाना गराउने भएको छ ।
 
“कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरीलाई समृद्ध बनाउने हाम्रो रहर” भन्ने मूल नाराका साथ नगरपालिका उपप्रमुख मुना अधिकारीले बुधबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहन गर्न प्रतिआनामा रु एकसय जरीवाना गराई सो सम्बन्धमा सूचना दिनेलाई २५ प्रतिशत पुरस्कार दिने घोषणा गर्नुभयो ।
 
यसैगरी गोदावरीले स्थानीय कुखुरा प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न प्रत्येक वडामा युवा रोजगारी कार्यक्रम, कम्तीमा पाँच रोपनीभन्दा माथि व्यावसायिक खेती गर्ने कृषक समूह तथा वैदेशिक रोजगारीबाट फर्केका स्थानीय नगरवासी र कृषि तथा पशु फार्मलाई मल तथा बीउमा ५० एवं कृषि तथा पशु फार्म पूर्वाधार निर्माणका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
 
गोदावरीले “जमीनको आम्दानी जमीनमा नै लगानी”भन्ने मान्यतालाई आत्मसात् गर्दै मालपोत भूमिकरबाट प्राप्त आम्दानीलाई कृषि क्षेत्रमा लगानी, सहकारीमार्फत सम्भाव्यताको आधारमा “एक पालिका एक उत्पादन” ढाँचामा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवद्र्धनमा पहल र यसका लागि माटो तथा हावापानीको परीक्षण अघि बढाउने भएको छ ।
 
गोदावरीले विद्यालय शिक्षा सुधारका लागि कक्षा १ मा २५ जनाभन्दा बढी विद्यार्थी भर्ना गराई अन्तिम परीक्षामा समेत सहभागी गराउने विद्यालयलाई रु २० हजारको दरले प्रोत्साहन अनुदानको व्यवस्था मिलाउनाका साथै प्रारम्भिक बाल विकास शिक्षकलाई प्रतिमहिना प्रतिशिक्षक रु एक हजारका दरले पारिश्रमिक दिने र मातृभाषामा प्राथमिक शिक्षा दिने व्यवस्थाको पहल गर्ने भएको छ ।
 
सत्तरी वर्ष नाघेका नागरिकलाई आगामी आर्थिक वर्षदेखि बज्रवाराही चापागाउँ अस्पतालबाट निःशुल्क स्वास्थ्य सुविधा प्रदान गर्ने तथा “आफ्नो शहर आफैँ सफा गरौँ” भन्ने मान्यताका साथ हरेक वडामा सञ्चालित सरसफाइ कार्यक्रमलाई पनि निरन्तरता दिनाका साथै चार स्थानमा व्यायामशाला निर्माण र योग शिविरलाई सबै वडामा विस्तार गरिने भएको छ ।
 
वडा नं १० भागावनमा हनुमानको मूर्तिसहित पर्यटकीयस्थल निर्माण, पुरातात्विक शैलीमा घर निर्माण गरिएमा रु एक लाख विशेष सहुलियत, नगरपालिकाभित्र हरियाली प्रवद्र्धन र वातावरण संरक्षणका लागि फोहरमैला व्यवस्थापन, सडक किनारामा बिरुवा रोपणका साथै एक घर एक बिरुवालाई निरन्तरता, युवा पुस्तालाई जडिबुटी खेतीमा संलग्न गराइने र नगरपालिकाका हरेक वडामा एक सयका दरले बिरुवा उपलब्ध गराउने निर्णय गरिएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब