नेपाल पस्यो विनाशकारी सलह

  • असार १३, २०७७ | ३१२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपालका तीन जिल्लामा सलह कीरा प्रवेश गरेको छ । सर्लाही, बारा र पर्साका केही ठाउँमा शनिबार बिहान सलह कीरा देखिएको हो।

कृषि ज्ञान केन्द्र बाराको टोली छानबीनका लागि सलह लागेको ठाउँमा पुगेको छ । त्यहाँ सलह कीराको समूह देखिएपछि कृषि मन्त्रालयलाई जानकारी गराइएको स्रोतले जनाएको छ ।

सलहले पार्ने समस्या र नियन्त्रणबारे छलफल गर्न शनिबार दिउँसो मन्त्रालयले जुम मिटिङ डाकिएको छ। मन्त्रालय स्रोतले खबर प्राप्त भएको तर पुष्टि भने नभएको जनाएको छ ।

अफ्रिकी मुलुकबाट सुरु भएको यो सलह जातको फट्याङ्रा अरबियन देशहुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो ।

करोडौंको संख्यामा हुने यस किराको झुण्ड एकै दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढासम्म पुग्न सक्छ ।

६० वर्षपछि नेपाल प्रवेश : यमनदेखि १७ महिने उडान

घाम नै छेलिने गरी उडेर आउने सलहको झुण्ड जहाँ बस्छ, त्यहाँको हरियाली केहीबेरमै उजाड बन्छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् १९६० मा काठमाडौं उपत्यकामा सलह देखिएको थियो ।

त्यसबेला सलहको प्रकोपले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो । केन्द्रका अनुसार ‘त्यसबेला काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सलहले सबैखाले बाली सखाप पारेको अध्ययनमा देखिन्छ ।

नेपालमा यस वर्ष सलह भित्रिन नसक्ने निचोडसहित सरकारी अध्ययन प्रतिवेदन बनेको २२ दिनपछि नेपालका दुई जिल्ला बारा र सर्लाहीमा भित्रिएको छ । शनिबार बिहान बारा र सर्लाही जिल्लाका विभिन्न ठाउँमा सलह देखिएको मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले जानकारी दिए । सलहले तरकारी तथा धान बालीमा क्षति गर्न थालेको जिल्लास्थित ज्ञान केन्द्रहरुले जनाएका छन् ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् २०१९ सुरुवाती महिनामा अहिले नेपाल आइपुगेको सलह यमनमा देखिएको थियो । यमनबाट अघि बढेको सलह साउदी अरेबिया, इरान हुँदै सो वर्षको डिसेम्बरमा पाकिस्तान आइपुगेको थियो ।

पाकिस्तानमा ठूलो क्षति गरेको सलह नयाँ वर्ष सन् २०२० को सुरुवातमा भारत र पाकिस्तान  सीमा क्षेत्रमा लामो समय रहेको थियो । विस्तारै जाडो कम भएपछि पुनः बंश वृद्धि भई सलह भारत छिरेर विशाल झुण्डहरुमा तयार भएको अध्ययनले बताएको छ ।

र, त्यो झुण्ड राजस्थानबाट  प्रवेश गरेर मध्यप्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै अघिल्लो महिना नै अगाडि बढेको थियो ।

मन्त्रालयको ‘हावा’ प्रतिवेदन

अघिल्लो महिना नै भारतमा सलह प्रकोप देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो ।

यस अघि पनि भारतको राजस्थानसम्म जुलाई महिना पटक पटक सलहको नयाँ झुण्डहरु आइरहने गरेको र अहिले आएको सलहको ठूलो झुण्ड पनि राजस्थान आइपुगेपछि तितर–बितर भएको प्रतिवेदनमा उल्लेख थियो ।

सलहका स–साना झुण्डले भारतको बिहार र उडिसासम्म आक्रमण हुन सक्ने अनुमान गरिए पनि सरकारी प्रतिवेदनमा सलह नेपाल छिर्ने परिकल्पना गरिएको थिएन ।

सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको समितिको निष्कर्ष थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि दक्षिण एसियामा देखिएको सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम भएको विवरण सहदेव हुमागाइँ संयोजकत्वको समितिलाई दिएको थियो ।

एफएओको विशेष टोली भारतमा स्थलगत अध्ययनमा रहेको र उताको रिपोर्टमा पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको भन्ने आएको छ, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका हुमागार्इँले भने ।

सलहको जीवनचक्रका लागि अण्डा पार्न नेपालको हावापानी अनकूल नरहेको र मनसुनका कारण नेपालमा पूर्वाीय हावाको चाप बढ्दा किरा नेपाल प्रवेश गर्न नसक्ने पनि समितिले औँल्याएको थियो ।  समितिले तत्कालका लागि जोखिम टरे पनि विगतमा सलहले ठूलो क्षति निम्त्याएकाले सर्तकता अपनाउन भने मन्त्रालयलाई सुझाव दिएको थियो ।

सलह नियन्त्रणका लागि दक्ष प्राविधिक तयार गर्न तालिमको व्यवस्था गर्ने, किरा भित्रिएको खण्डमा नियन्त्रणका लागि स्रोत, साधनको यथोचित बन्दोबस्त गर्ने तथा तीनै तहको सरकारको तर्फबाट टास्कफोर्स बनाएर जिम्मेवारी बाँडफाँड गरेर तयारी अवस्थामा रहनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो, समिति संयोजक हुँमागाईले भने ।

मनसुन सुरु भएको १५ दिनपछि सलह प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जेठ ३० मै मनसुन सुरु भयो । सलह आउँदैन भन्ने प्रतिवेदन बुझाएको तीन हप्तापछि नै सलह भित्रिएको देखिन्छ । ‘कार्यदलको प्रतिवेदन सर्वसाधारण तहबाट तयार पारिएको देखियो’ कृषि मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘विज्ञको नजरबाट नभई लिटरेचर रिभ्यू र अप्राविधिक अवलोकनको आधारमा बनाएको प्रतिवेदन फेल खानु अस्वाभाविक होइन ।’

कति गर्ला क्षति ?

विज्ञहरूका अनुसार सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खाना बराबरको वनस्पती खान्छ । तराईमा धमाधम धान रोपाईँ भइरहेको छ भने पहाडमा मकै लगायतका बाली छन् ।

कृषि मन्त्रालयमा लामो समय काम गरेका पूर्व सचिव डा. हरि दाहाल सलह किरा जहाँ बस्छ त्यहाँको बाली समाप्त गर्ने बताउँछन् । उनी यसको झुण्ड कत्रो आउँछ र हावाको बहाव कस्तो हुन्छ भन्ने कुराले हेरेर मात्रै कति क्षति पुर्‍याउँछ भन्ने थाहा पाउन सकिने बताउँछन् ।

कृषि मन्त्रालयले बारा, पर्सा र सर्लाही हुँदै नेपाल प्रवेश गरेको बताएको छ । पहाडसम्म पुग्छ कि पुग्दैन भन्न सकिदैन । पूर्व सचिव दाहाल भन्छन्, ‘उत्तरबाट दक्षिण बग्ने गरी हावा चल्यो भने पनि क्षति कम हुन सक्छ ।’

मनसुनमा हावा पूर्वबाट पश्चितर्फ बग्ने भएकाले बारा-पर्साबाट सहल पूर्वतर्फ जाने संभावना बढी देखिन्छ । यद्यपि अहिले नै पूर्वमानुमान गर्नु धेरै हतार हुने दाहाल बताउँछन् ।

नियन्त्रणका उपाय

नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन । पचास वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय अनपनाउन नसकेको जानकारहरू बताउँछन् ।

रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल/जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ ।

विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।

तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने जानकारहरू बताउँछन् । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब