सामान्य रुपमाभन्नुपर्दा कुनै पनि मुलुकको सम्पूर्ण व्यक्तिहरुको एकै पटक गरिएको गणनालाई नै जनगणना भनिन्छ | जनगणना ल्याटिन भाषाबाट आएको होजसलाई रोमन साम्राज्यमा कर संकलन गर्ने उद्येश्यले नागरिक तथा उनीहरुको सम्पति दर्ता गर्ने कार्यको रुपमा बुझिन्थ्यो |पछि जनगणनाको अवधारणामा व्यापक परिवर्तन आई अहिले यसलाई एउटा निश्चित समयमा व्यक्ति तथा उसको घरपरिवारसँग सम्बन्धित व्यापक जनसांख्यिक, सामाजिक तथा आर्थिक जानकारी संकलन गर्ने कार्यको रुपमा लिइन्छ | संयुक्त राष्ट्रसंघले एउटा निश्चित समयभित्र कुनै मुलुक अथवा उक्त मुलुकको तोकिएको भूभागको सम्पूर्ण मानिसहरुको जनसांख्यिक, आर्थिक तथा सामाजिक तथ्यांक संकलन गर्ने, एकत्रित गर्ने, मूल्यांकन गर्नेतथा प्रकाशन गर्ने पूर्ण प्रक्रियाको रुपमा जनगणनालाई परिभाषित गरेको छ |यसरी मानिसहरुसंग सम्बन्धित बृहत जानकारीहरु संकलन गर्ने प्रक्रियाको रुपमा रहेको जनगणना स्थानीय देखि राष्ट्रिय स्तरको योजना तथा रणनीति निर्माण लगायत विभिन्न कार्यको लागि विश्वका मुलुकहरुले आ-आफ्नो आवश्यक्ता तथा परिस्थिति अनुकुल दश-दश वर्षको अन्तरालमा गर्दै आएको पाइन्छ |
हाम्रो देश नेपालमा जनगणनाको शुरुवात बि.स. १९६८ बाट भएको हो र त्यसपछि हरेक दश-दश वर्षमा नेपालमा जनगणना भईरहेको छ | हाल सम्म नेपालमा ११ वटा जनगणनाहरुसम्पन्न भइसकेको छ | ती मध्ये बि.स. १९६८, १९७७, १९८७ र १९९८ गरि चारवटा जनगणनाहरु राणा कालमा भएको हो | त्यस्तै राणा कालको अन्त्य पश्चात राजा सहितको प्रजातन्त्र कालमा बि.स. २००९/२०११ सालमा एउटा, पंचायत कालमा बि.स. २०१८, २०२८ र २०३८ गरी तीनवटा, पंचायत कालको समाप्ति पछि संबैधानिक राजा सहितको प्रजातन्त्र कालमा बि.स. २०४८ र २०५८ सालमा गरी दुईवटा र गणतन्त्र नेपालमा बि.स. २०६८ मा एउटा जनगणना सम्पन्न भएको छ | बाह्रौ जनगणना बि.स. २०७८ सालमा सम्पन्न हुन गईरहेको छ |शुरुका खासगरी राणा कालमा सम्पन्न जनगणनाहरु विशेष रुपमा करदाताहरु, सेनामा भर्ना गर्न योग्य युवाहरु, बँधुवा श्रमिक तथा कमारा/कमारीहरुसंग सम्बन्धित तथ्यांक संकलनमा केन्द्रित थियो | त्यसपछिका जनगणनाहरुको दायरा फराकिलो पार्दै लगिए पनि २०४८ सालको जनगणना देखि जात/जाति तथा स्थानीयतासंग सम्बन्धित तथ्यांकहरू समावेश गरेर यसको दायरालाई अझ फराकिलो पारिएको छ |
२०४८ सालको जनगणनामा ६५ वटा जात/जाति ( तराई अन्य, पहाडीअन्य, हिमाली अन्य, विदेशी, जात उल्लेख नभएको समेत गरी ) को उल्लेख गरिएको पाईन्छ | त्यस्तै २०५८ सालको जनगणनामा १०३ वटा जात/जाति ( अन्य दलित, जात नखुलेको सहित ) को पहिचान गरिएको छ | यसै गरी २०६८ सालको जनगणनामा १३० जात/जाति(दलित अन्य, जनजाति अन्य, तराई अन्य, अपरिभाषित अन्य र विदेशी सहित ) को पहिचान गरिएको छ | यी तीनवटा जनगणनामा पहिचान गरिएका जात/जातिहरुको संख्या हेर्दा २०४८ सालको जनगणनामा भन्दा २०६८ सालको जनगणनामा जात/जातिको संख्या दोब्बरले बढेको देखिन्छ | यसरी जातीय संख्या बढ्नुमा पक्कै पनि २०६२/६३ को जनआन्दोलन तथा मधेश आन्दोलन पश्चातदेशमा संघियता, समानुपातिक समावेसिता, जातियता जस्ता कुराहरुको जनस्तरमा व्यापक रुपमा चलेको चर्चा-परिचर्चाले मानिसहरुमा आ-आफ्नो जातिको अस्तित्व संरक्षण प्रति आएको चासोको परिणाम हुन् सक्छ |यसलाई अर्को पाटोबाट हेर्दा यसले अरु के पनि देखाउँछ भन्ने कतै न कतै जनगणनाको तथ्यांकको इन्ट्री तथा विश्लेषणमा संलग्न कर्मचारीहरुको असावधानीको कारणले गर्दा विभिन्न जात/जातिहरु जनगणनामा उल्लेख हुनबाटवा उल्लेख भए पनि उनीहरुको वास्तविक तथ्यांक आउनबाट बन्चित भएको हुन सक्छ किनकि हतपत मानिसहरुले आफ्नो जात उल्लेखगर्न छुटाउदैनन्| यसैको शिकार भएको छ अमात जाति |
अमात जाति मूल रुपमा पूर्वी नेपालको मधेशको मोरंग, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोतरी तथा सर्लाही जिल्लामा सदियौदेखि बसोबास गर्दै आईरहेको मधेशी समुदाय अन्तर्गतको एउटा जाति हो जसले आफ्नोनामको पछाडी मण्डल, राय, राउत, विश्वास, खवास इत्यादि टाईटिल( थर) लेख्ने गरेको पाइन्छ | त्यसै गरी छिटफुट रुपमा अमात जातिको बसोबास झापा, उदयपुर, बारा, पर्सा, काठमाडौं लगायतका जिल्लाहरुमा पनि रहेको छ |यसको साथै छिमेकी देश इण्डियाको बिहार लगायतका विभिन्न प्रान्तका विभिन्न जिल्लाहरुमा अमात जातिको बाक्लो बसोबास रहेको छ | इतिहासको अध्ययन गर्ने हो भने विभिन्न राजा-महाराजाहरुको दरवारमा राजाको मंत्री, सल्लाहकार, पथप्रदर्शक तथा लेखापढीको कार्य गर्न अमात्य पद कायम गरिएको थियो जुन अमात्य पदमा नियुक्त मानिसहरुको समूहनै पछि गएर अमात जातिमा परिणत भएको प्रमाण पाईन्छ |कुनै समयमा राज्य संयन्त्रको केन्द्रमा रहने अमात समुदाय विभिन्न कालखंडको उतारचढाबले गर्दा अहिले आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक रुपमा दयनीय अवस्थामा रहेको छ | नेपालमा पंचायत कालमा विभिन्न १८ वटा जातिहरुलाई सरकारले गिनगिनाउ वर्ग अन्तर्गत राखेको थियो जसमध्ये एउटा अमात जाति पनि पर्दथ्यो | तर यी जातिहरुको उत्थान तथा विकासमा सरकारले ध्यान दिएको देखिदैन| अमात जातिको उत्थान तथा विकास गर्ने उदेश्यले बि.स. २०५८ सालमा विधिवत रुपमा स्थापित नेपाल अमात समाज कल्याण समिति सप्तरी तथा नेपाल अमात समाज कल्याण केन्द्रीय तदर्थ समिति लगायत अन्य जिल्लाहरुमा बिस्तार भएको नेपाल अमात समाज कल्याण समितिहरुको सक्रियता, डिका महासंघ ( धानुक, केवट, कुर्मी तथा अमात जातिको संयुक्त संगठन ) तथा डिका बिधार्थी समाज कीर्तिपुरको विशेष पहल, मधेश आन्दोलन, ओ. बि. सी. आन्दोलनको प्रभाब स्वरूप बि.स. २०६५ माघ २१ गते तत्कालिन नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले अमात जातिलाई मधेशीमा सुचिकृत गर्यो | त्यस्तै डा. ओम गुरुंगको अध्यक्षतामा गठित जनजातिहरुको अध्ययन सम्बन्धि आयोगले अमात जातिलाई जनजातिमा सुचिकृत गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ तर उक्त सिफारिस कार्यान्वयन हुन् सकेको छैन | यसरी राष्ट्रिय रुपमा पहिचानमा आईसकेको अमात जातिसंग हाम्रो देशमा सम्पन्न जनगणनाहरु खासगरी जात/जातिको तथ्यांक समावेश गरिएको बि.स.२०४८, २०५८ र २०६८ सालमा सम्पन्न जनगणनाहरुले ठुलो अन्याय गरेको छ |
बि.स. २०४८ र २०५८ सालको जनगणनाको जातीय सूचीमा अमात जाति समावेश नै भएको पाइदैन | बि.स. २०५८सालको जनगणनाको प्रतिवेदनमा अमात बाहुल्य रहेको बस्तीहरुमा उल्लेख्य रुपमा नेवारको जनसंख्या देखाइएको छ | यसले सम्बन्धित कर्मचारीहरुको गल्तीलाई प्रमाणित गर्दछ | बि.स. २०६८ को जनगणनाको जातीय सूचीमा त अमात जाति समावेश भए पनि नेपालभरिमा यस जातिको कुल जनसंख्या ३८३० ( तीन हजार आठ सय तीस ) मात्र उल्लेख गरेको छ| यति मात्र होइन अमात जातिको बाहुल्यता रहेको बस्तीहरुमा अमात जातिको जनसंख्या नै उल्लेख गरेको पाइदैन | यसलाई के सम्बन्धित कर्मचारीहरुको बदमाशी र गल्तीनमान्ने त? यसलाई कर्मचारीहरुको गल्ती मान्ने आधारहरु छन्- यस समुदायका मानिसहरुले हामीले जातिमा अमात उल्लेख गरेको बताउंछन्| त्यस्तै यी जनगणनाहरुमा गणकका रुपमा काम गरेका अमात समुदायका शिक्षकहरुले आफूहरुले जातीय कोठामा अमात जाति उल्लेख गरेको तर अन्तिम नतिजामा उक्त कुरा नआउंदा आफूहरु छक्क परेको बताउंछन | त्यस्तै ५ देखि १० हजार अमात जातिको बसोबास भएको बस्तीहरुमा १५०-२०० मात्र जनसंख्या देखाउनुको कारण यस जातिका मानिसहरुले पनि जातीय कोलममा अमात लेखाउन छुटेको हुनसक्छ |नेपाल अमात समाज कल्याण समितिका अगुवाहरुको कुरा मान्ने हो भन्ने नेपालका विभिन्न जिल्लाहरुमा डेढ देखि दुई लाख सम्म अमात जातिको जनसंख्या रहेको छ | यिनीहरुका अनुसार यस्तो गलत तथ्यांक आउनु केन्द्रीय तथ्यांक विभागको चरम लापरबाहीको परिणाम हो | नेपालको संबिधान २०७२ को प्रस्तावनामा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प राखेको उल्लेख गरिएको छ | तर के बि.स. २०६८ को जनगणनामा उल्लेख गरिएको अमात जातिको जनसंख्याको आधारमा यस जातिको समानुपातिक समावेशीताको सुनिश्चतता गर्न सकिन्छ ? के चार हजार जनसंख्याको लागि छुट्टयाइएको सुविधाहरु दुई लाख जनसंख्याको लागि पुग्छ र ? यसको क्षतिपूर्ति कसले दिने हो ? अमात समुदायका विद्यार्थीहरुका अनुसार उनीहरुले विभिन्न फोर्महरुमा जातीय कोलममा अमातको सट्टा अन्य लेख्नुपर्ने हुन्छ यसको जवाफ कसले दिने हो ? नेपाल अमात समाज कल्याण केन्द्रीय कार्य समितिका एक पदाधिकारीका अनुसार अमात जातिको बसोबास भएको अधिकांश पालिकाको जातीय सूचीमा अमात जाति समावेश छैन जसले गर्दा सामाजिक सुरक्षा भत्ता लगायतका फोर्महरुमा जातीय कोलममा अमात लेख्दा फोर्म नै स्वीकृत हुदैन तर जातीय कोलममा अन्य लेख्दा फोर्म स्वीकृत हुन्छ | अमात समुदायमा पर्न गएको यस्तो असुविधाको जिम्मेबारी कसले लिने केन्द्रीय तथ्यांक विभागले कि सरकारले ? के केन्द्रीय तथ्यांक विभागको कर्मचारीहरुको गल्तीको कुनै सजाय छैन ? तर यदि जातीय कोलममा अमात लेखाउदैनौ भने त्यो अमात समुदायको गल्ती हुनेछ | त्यसैले केन्द्रीय तथ्यांक विभागको लापरबाहीले गर्दा अमात समुदायका मानिसहरुले यस्ता समस्याहरु भोग्नु नपरोस् भन्ने चाहनुहुन्छ भन्ने बेलैमा सचेत हुनुहोस् र बि.स. २०७८ सालमा हुन् गइरहेको जनगणनाको जातीय कोलममा अमात लेखाउनुहोस्|
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना बि.स. २०७८ सालको बैशाख, जेष्ठ र असार महिनामा सम्पन्न हुन गइरहेको छ |यो जनगणना दुई चरणमा सम्पन्न हुनेछ | घर तथा घर परिवारसंग सम्बन्धित तथ्यांकहरू जस्तै- घर सम्बन्धित विवरण, परिवारमा अक्सर बसोबास गर्ने सदस्य संख्या, कृषि सम्बन्धित विवरण, बैंक खाता तथा नगद मौज्दात इत्यादिको संकलन पहिलो चरणमा २०७८ बैशाख २६ देखि २०७८ जेष्ठ १४ गते सम्म ( २० दिन ) सुपरिवेक्षकद्वारा हुनेछ | त्यस्तै जात/जाति, भाषा, धर्म,साक्षरता, आर्थिक इत्यादिसँग सम्बन्धित तथ्यांकहरु दोस्रो चरणमा २०७८ जेष्ठ २५ गते देखि २०७८ असार ८ गते सम्म ( १५ दिन ) गणकद्वारा हुनेछ| देश संघियतामा गईसकेको, देशमा केन्द्रीय, प्रादेशिक तथा स्थानीय गरि तीन तहको संरचना कायम रहेको परिप्रेक्ष्यमा आउदो जनगणना २०७८ को विशेष महत्व हुनेछ | यस जनगणनाले तीनै तहको संरचनामा हरेक जात/जातिको समानुपातिक समावेशिताको सुनिश्चतता कायम गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ | यस जनगणनामा पनि अमात जातिको वास्तविक तथ्यांक आउनमा गल्ती भएको खण्डमा पुन: अर्को जनगणनालाई कुर्नुपर्ने हुन्छ साथै अमात समुदायले राज्यबाट प्रदत विभिन्न सुबिधाहरुको उपभोगमा अहिले जस्तै कठिनाइहरू झेल्नुपर्ने हुन्छ | त्यसैले समस्त अमात समुदायका अगुवा, बुद्धिजीवी, कर्मचारी, युवा, विधार्थी, किसान तथा नेपाल अमात समाज कल्याण समितिका पदाधिकारी एवम् सदस्यहरुसंग विनम्र अनुरोध छ कि २०७८ सालको जनगणनामा खासगरी दोस्रो चरणको बेलामा आफ्नो समुदायका हरेक मानिसहरुलाई जातीय कोलममा अमात लेख्न अनुरोध गरौँ, उत्प्रेरित गरौँ र अनिवार्य रुपमा अमात लेख्न लगाऔं|
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved