सिरहा । सिरहामा पनि आंशिक निषेधाज्ञा जारी भएको छ । डीसीसीएमसीले गरेको निर्णय अनुसार वैशाख २३ गते विहान ६ बजेबाट सिरहामा आंशिक निषेधाज्ञा जारी हुनेछ । वैशाख २३ गतेबाट भाडाका यात्रु बाहक तथा परिचय पत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय भएको छ ।
यस्तै खाद्यान्न, फलफुल र तरकारी पसल विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन हुनेछ । शैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि डीसीसीएमसी बैठकले गरेको छ । यस्तै विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय पनि भएको छ ।
सिरहामा मंगलवार एकैदिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । परिक्षणबाट पोजेटिभ देखिएका अधिकांश गोलबजार नगरपालिका स्थानीयवासी, सिरहा नगरपालिका स्थानीयवासी, जिल्ला प्रशासन कार्यालय सिरहाको कर्मचारी रहेका छन ।
जिल्लाका विभिन्न ठाउँबाट संकलन गरिएको स्वाब मध्ये ९४ जनाका परिक्षण गर्दा यति धेरै कोरोना संक्रमित फेला परेको जिल्ला अस्पताल सिरहाको पिसिआर ल्याब ईन्र्चाज संजय साहले बताए । कोभिडको दोस्रो लहरपछि सिरहामा यो सहित कुल १ सय ५२ जनामा सङ्क्रमण देखिएका छन् । जसमध्ये ९ जना पुरुष र २ जना महिला गरी कुल ११ जना निको भइसकेका छन् । तीमध्ये ११ जना पुरुष र ७ जना महिला अस्पतालको आईसोलेशनमा रहेका छन् । संक्रमितहरु मध्ये ६८ जना पुरुष र २८ जना महिला होम आइसुलेसनमा रहेका छन । मंगलवार फेला परेका संक्रमितहरुलाई व्यवस्थापन गर्ने कायो भइरहेको छ ।
त्यस्तै १ जना विराटनगर र अर्को १ जनाको धरानमा उपचार भइरहेको छ । बाँकी होम आईसोलेशनमा रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना गोलबजार नगरपालिकाका रहेका छन् ्। हाल सम्म दोस्रो लहरमा कुल ५ सय ६६ जनाका परिक्षण गरिएको छ । जिल्लामा दोस्रो चरणको खोप लगाएको संख्या कुल ५ हजार ५९ रहेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved