जनकपुरधाम । जनकपुर-जयनगर रेल संचालनको लागि पूर्वाधार तयार गर्ने भारतको कोंकण रेलवे कर्पोेरेसन लिमिटेडले नेपाली पक्षसंगको सम्झौता रद्द गर्ने चेतावनी दिएको छ ।
बुधबार नेपाली रेल निर्माता कोंकण रेलवेले रेलनेपाली पक्षका कारण रेल सेवा संचालन अनिश्चितता बनेको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको हो ।
निर्माता कम्पनीले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई पत्र लेखेको हो । तर बुधबार नै महाप्रबन्धकबाट भट्टराईले पदबाट राजीनामा दिइसकेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका भट्टराईलाई भर्खर बनेको देउवा सरकारले स्पष्टीकरण सोधेपछि राजीनामा नै बुझाएका हुन्।
कोंकणले २०१९ जनवरीमै जयनगर–कुर्था रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो। त्यसबेला नेपाल सरकारले २ वटा रेल मात्रै खरिद गर्ने निर्णय गर्यो। यसअनुसार कोंकणले २ वटा डेमु रेल २०२० सेप्टेम्बर १८ मा जनकपुर पठाएको थियो।
नेपाल सरकारले रेल भित्र्याएपछि कोंकणले नै व्यावसायिक रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा जयनगर–कुर्था रेल सञ्चालनसहित मर्मतसम्भारको काम पनि आफैँले गर्ने कम्पनीले बताएको थियो।
सोसँगै नेपाल सरकारले भारतको रेलवे मन्त्रालयमार्फत रेल सञ्चालनको लागि व्यावसायिक दरहरु अपरिवर्तनीय हुने गरी कोंकणलाई सम्झौता गर्न लगायो। कोंकणले व्यावसायिक रेल सञ्चालनको लागि १६.८३ प्रतिशत छुट समेत दिएको पत्रमा उल्लेख गरेको छ।
सोहीअनुसार भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेल सञ्चालनको लागि नेपाल रेलवे कम्पनीले सम्झौता गर्यो। उक्त सम्झौताअनुसार नेपाल सरकारले २० प्रतिशत अग्रिम भुक्तानी कम्पनीलाई दिनुपर्ने थियो।
तर नेपाल सरकारले अहिलेम्म उक्त रकम बुझाउन नसकेको कोंकणले उल्लेख गरेको छ। अग्रिम भुक्तानी रकम नबुझाउनु दुई पक्षबीचको सम्झौताको उल्लंघन भएको कम्पनीले पत्रमा उल्लेख गरेको छ।
नेपाल सरकारले रकम भुक्तानी नगरे सम्झौताअनुसार रेल सञ्चालनको लागि कोंकण बाध्य नभएको पनि पत्रमा बताइएको छ।
त्यसबाहेक कुर्था–जयनगर रेल सञ्चालनको लागि ट्रयाक तयार भइसकेको, रेल पनि भित्रिएको तर सञ्चालन हुन नसकेको भन्दै कम्पनीले दुःख व्यक्त समेत गरेको छ।
रेल भित्रिएको करिब १ वर्षसम्म पनि जयनगर–कुर्था रेलवे सञ्चालनको लागि नेपाल सरकार तत्पर नभएको भन्दै कोंकणले छिट्टै रेल सञ्चालन गर्न ताकेता गरेको छ।
नेपाल रेलवे कम्पनीले कोंकणसँग माग गरेको दक्ष प्राविधिक उपलब्ध गराइकेको, रेल सञ्चालनका लागि ८९ जनालाई तालिम प्रदान गरेको समेत पत्रमा उल्लेख छ।
कोंकर्णले लोको पाइलट, अपरेटिङ र मेन्टिनेन्ससम्बन्धी प्राविधिक ३ पटक नेपाल पठाइसकेको छ। कोंकणले जयनगर–कुर्था रेल सञ्चालनको लागि इन्डियन रेलवेबाट कर्मचारी तथा विज्ञ ‘आउटसोर्स’ गरेको थियो।
हाल इन्डियन रेलवे कम्पनीले कर्मचारी तथा विज्ञ उपलब्ध गराउन पुरानो दरअनुसार अस्वीकार गरेको पत्रमा उल्लेख छ।
कोंकणले नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागका महानिर्देशकसहित काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिवलाई समेत पत्रको बोधार्थ दिएको छ।
पहिलो चरणमा सञ्चालन हुने भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा लिकमा रेल सञ्चालन गर्न सम्पूर्ण संरचना तयारी अवस्थामा रहेको छ। दोश्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरसम्म रेल सञ्चालनको लागि संरचना पनि लगभग दुईमहिना भित्र तयारी भइसक्ने रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझा बताउँछन्।
रेल सञ्चालनका लागि भारतबाट २६ सहित दुईसय कर्मचारी पूर्ण तयारी अवस्थामा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताउने गरेको छ। मन्त्रिमण्डल विस्तार नहुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अहिले प्रधानमन्त्री देउवाकै जिम्मेवारीमा छ। मन्त्री नियुक्त लगत्तै एक कार्यक्रम गरेर रेल सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशव कुमार शर्मा बताउँछन्।
धनुषाको इनरवा रेल्वे स्टेशनमा पार्किङमा त्रिपालले छोपेर राखेको रेल उघ्रि सकेको छ । हावापानीले त्रिपाल च्यातच्युत भएर उघ्रिदा रेल खुला आकाशमुनि वर्षाले भिजेर पार्ट पुर्जामा खिया लाग्न थालेको छ।