सिरहा, कार्तिक ५ गते । कार्यकर्ता रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टीका नेता कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गर्दै धपाएको छ ।
घेराउको क्रममा प्रहरीले लाठीचार्ज गर्दा केहि बेर झडप समेत भएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसियनको अगुवाइमा विभिन्न पेसागत संघसंस्था ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन समेत बुझाएका छन् ।
सोहि बेला जिल्ला प्रशासन घेर्न पुगेका जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।
जिल्ला प्रशासन कार्यालय पुगेको बेला जनमतका कार्यकर्ता लाठीभाटासहित पुगेर सँग विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । सोही क्रममा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेपछि जनमत पार्टीका कार्यकर्ता त्यहाँबाट भागेका छन् । उनीहरुको सिडीओ कार्यालय घेराउ कार्यक्रम पनि असफल भएको छ ।
प्रहरीले जनमतका कार्यकताले बोकेका ब्यानर तथा लाठीभाटा पनि खोसेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved