काठमाडौं । भारतीय प्रतिस्पर्धी बजारमा बिहीबारको विद्युतको मूल्य थप आकासिएको छ । बोलकबोलमा विद्युत् खरिद-बिक्री हुने भारतीय प्रतिस्पर्धी बजारमा औसत मूल्य प्रतियुनिट १५.२७ पैसा भारु पुगेको छ । जुन बिजुली नेपाल ल्याउने हो भने थप ५३ पैसा भारु प्रशारणलाइन शुल्कका रुपमा जोडिन्छ ।
भारतबाट खरिद हुने विद्युतको औसत मूल्य नै २५.२८ रुपैयाँ प्रतियुनिट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जबकी विद्युत प्राधिकरणले नेपालका उद्योग कलकारखानालाई प्रतियुनिट औसत ८.५० रुपैयाँमा बिजुली बेचिरहेको छ भने रातिको समयमा ४.५० रुपैयाँ प्रतियुनिटमै उद्योगले बिजुली पाइरहेका छन् ।
बिहीबारका लागि प्राधिरकणले ९६ वटा ब्लकमा गरेको बिडमा जम्मा १२ वटा युनिटमा मात्रै बिजुली हात पारेको छ । बुधबारको औसत भारु १२ मा विद्युत खरिदविक्री भएकाले प्राधिकरणले बिहीबारका लागि सोही मल्यमा ‘कोट’ गरेको थियो ।
तर, अधिकांश ब्लकमा त्यो भन्दा बढी मूल्य कोट गरेर भारतीय उद्योगहरुले बिजुली किनेका छन् । यसले गर्दा नेपाल बिहीबार पनि उद्योगहरुमा बिजुली कटौती गर्नुपर्ने अवस्था आउने भएको छ । सुक्खायाम लागेकाले अहिलेे औसत १२ सय मेगावाट प्रतिघण्टाका दरले भारतबाट विद्युत् आयात गनुपर्ने अवस्था छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधबारको औसतभन्दा बढाएर बोलकबोल गर्दा पनि मूल्य माथि गएर धेरै बिड प्राधिकरणलाई परेन । ‘भारतमा अब औसत प्रतियुनिट मूल्य भारु २० सम्म पुग्ने अवस्था देखियो,’ उनले भने,’त्यसो भएमा हामीले आगामी ३५ दिनमा थप साढे ८ अर्ब नोक्सानी ब्यहोर्नुपर्ने देखिन्छ ।’
बिजुलीको मूल्यको जोखिम उद्योग, प्राधिकरण र सरकार सबै मिलेर टार्नुपर्ने घिसिङको भनाइ छ । उद्योगहरुमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले भोलि थप मूल्य बढाएर विद्युत् किन्न प्रयास गर्ने उनले बताए । उपभोक्ताको घरमा भने यसले कुनै पनि असर नपार्ने घिसिङले स्पष्ट गरे ।
‘भारतमा कोइलाको अभावले विद्युत् महंगिएपछि आधा उद्योग बन्द छन्, चीनमा पनि केही हप्ताअघिसम्म यस्तै अवस्था थियो,’ उनी भन्छन्,’हामी सकेसम्म विद्युत आपूर्ति गरेर त्यस्तो संकट आउन दिँदैनौं, यो समस्यासँग सबै मिलेर लड्नुपर्छ ।’
रुस र युक्रेनको लडाइँपछि भारतमा कोइलाको संकट छ । कोइलाको संकटका कारण विद्युत् उत्पादन मंहगिएपछि लामो समयका लागि विद्युत खरिद समझौता गरेकाहरु पनि जरिवाना तिरेर प्रतिस्पर्धी बजारमै विद्युत बेचिरहेका छन् ।
नेपालले भारतको एनटीपीसी विद्युत व्यापार निगम -एनभीभीएनसँग १५० मेगावाट र पावर ट्रेड कर्पोरेसनसँग ७० मेगावाट बिजुली नियमत रुपमा किन्न सक्ने गरी सम्झौता गरकेो छ । तर, एक महिनादेखि ती दुबै एजेन्सीले विद्युतको मूल्य महँगिएको भन्दै नेपाललाई विद्युत बेचेका छैनन् ।
एनभीभीएनले प्रतियुनिट ४.१२ र पीटीसीले ४.१६ रुपैयाँमा नेपाललाई विद्युत् बेचिरेका थिए । तर, भारतमा विद्युत् महंगिएपछि उनीहरुले बिजुली बेचेनन् ।
प्राधिकरणका अनुसार यो संकटले जलविद्युतको महत्वलाई पनि झल्काएको छ, आगामी वर्षायाममा नेपालमा खपत नहुने बिजुली किन्न भारतलाई यसले प्रेरित पनि गर्ने प्राधिकरणको विश्वास छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved