आध्यात्मिक गायनका लागि भारतको चर्चित पद्मश्री पुरस्कारबाट सम्मानित कैलाश खेर रियालिटी शो ‘स्वर्ण स्वर भारत’मार्फत सानो पर्दामा फर्किएका छन् । यस रियालिटी शोमा उनी निर्णायकका रूपमा जोडिएका हुन् । नयाँ शोमार्फत दर्शकसामु आउन लागेका गायक खेरले यसका प्रतियोगीहरू, उनको संघर्ष, निराशा, समाजसेवालगायत विषयमा नवभारत टाइम्ससँग कुराकानी गरेका छन् ।
‘स्वर्ण स्वर भारत’ अरू गायन रियालिटी शोभन्दा कत्तिको भिन्न छ ?
हाम्रो रियालिटी शो हरेक हिसाबले फरक छ । यसले भक्तिसंगीतको माध्यमबाट स्रोतालाई आफ्नो जरासँग जोड्ने काम गर्नेछ । वर्षौँअघि हाम्रो देशमा अस्पताल, शैक्षिक संस्था थिएन । त्यति बेला सबै मानिस शिक्षित थिए । मानिसको औसत उमेर २०० वर्ष हुन्थ्यो । तर, आज सबै साधनस्रोतका बाबजुद मानिसको औसत आयु ७०–८० वर्ष छ । एक मनोरञ्जनजगत्को प्रतिनिधिको हिसाबमा संगीतको त्यस्तो शो ल्याउने इच्छा थियो, जसले भारतका विभिन्न क्षेत्रका गायकहरूलाई मौका दिने मात्रै नभएर आफ्नो संस्कृति र मूल्यको बारेमा पनि ज्ञान दिनेछ ।
तपाईंले १३ वर्षको उमेरमा घर छोडेर संगीतमा लाग्दा कस्ता संघर्षहरू झेल्नुपर्यो ?
१३ वर्षको उमेरमा घर छोडेर भाग्दा म दिल्लीमा बस्थेँ । आफ्नो जिद्दीपन र क्रान्तिकारी विचारका कारण मैले घर छोडेको थिएँ । म धेरै दिनसम्म भोकै बसेँ । अनगिन्ती चुनौतीहरू सामुन्ने थिए । मैले धेरै असफलता देखेको छु । जीवनमा एकपटक मैले यति धेरै हार मानेँ कि जीवन अन्त्य गर्न ऋषिकेशको गंगामा हामफालेको थिएँ । त्यो समयमा म गुरुकुलको होस्टेलमा बस्थेँ । होस्टेल गंगा नदीको किनारमै छ । त्यति बेला जीविकोपार्जनका लागि अनौठाअनौठा काम गरिरहेको थिएँ । हस्तकला निर्यात व्यवसायमा हात हालेँ, तर ठूलो घाटा बेहोर्नुपर्यो । वरिपरिको बेइमानी र छलकपट देखेर मलाई म यो संसारका लागि फिट छैन जस्तो लाग्यो, त्यसैले मैले आत्महत्या गर्नेजस्तो भयंकर कदम उठाएँ । यद्यपि, मलाई बचाइयो ।
जब २००२ मा मुम्बई आएँ, तब मैले धेरै असफलताहरूको सामना गर्नुपर्यो । मसँग स्टुडियोसम्म जाने पैसा थिएन । पैदल जान्थेँ । तर, जब म्युजिक निर्देशक राम सम्पतले मलाई जिंगलका लागि भ्वाइस नोट पठाउन भन्नुभयो, तब मलाई लाग्यो कि दाता (भगवान्) ले मेरो काम बनाइदिए ।
कोरोनाकालमा तपाईंको संगीत आफ्नै लागि र अरूका लागि कसरी मलहम साबित भयो ?
कोरोनाकालमा चिकित्सकहरू अरूको उपचार गरिरहेका थिए । हामी भने चिकित्सकहरूका लागि गाइरहेका थियौँ । हामीले संसारभरमा भर्चुअल प्लेटफर्ममार्फत स्वास्थ्यकर्मीका लागि ४० देखि ५० कन्सर्ट गर्यौँ । मलाई लाग्छ, संगीत यो संसारमा सबैभन्दा ठूलो उपचार (रेमिडी) हो । मानसिक रूपमा अस्वस्थ भएकाहरूलाई संगीत थेरापी दिइन्छ । संगीतबाट अटिजमलाई फाइदा हुन्छ । संगीतले उच्च रक्तचाप, चिन्ता र तनावबाट मुक्ति दिन्छ । हामी हाम्रो संगीतमा अध्यात्मलाई धेरै महत्त्व दिन्छौँ । कोरोनाकालमा चिकित्सकहरूको तनाव कम गर्न हामीले भर्चुअल कन्सर्ट गर्यौँ । इमानदारीपूर्वक भन्नुपर्दा हामीले जति धेरै गीत गायौँ, त्यति नै हामीलाई पनि ‘हिल’ भइरहेको थियो । यसका साथै कैलाश खेर फाउन्डेसनमार्फत १५ राज्यमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन मिटर, एन ९५ मास्क आदि वितरण गर्यौँ ।
लामो समयदेखि सामाजिक कार्यमा आबद्ध हुनुहुन्छ, भविष्यमा राजनीतितिर लाग्नुहुन्छ ?
समाजसेवा गर्न राजनीतिमा प्रवेश गर्नुपर्छ भन्ने मलाई लाग्दैन । यदि, तपाईंभित्र समाजको हितप्रति चेतना छ भने राजनीतिमा प्रवेश नगरे पनि तपाईंले समाजसेवा गर्न सक्नुहुन्छ । मलाई थाहा छैन ‘भगवान्को बाटो’मा भोलि के हुन्छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved