हरियाणा । उत्तरी भारतीय राज्य पन्जाबमा एकजना गायकको हत्यालाई लिएर जनआक्रोश फैलिएको छ ।
हत्या हुनु एकदिन अघि मात्र उनको सुरक्षाका लागि खटाइएका अधिकारीको संख्या कटौती गरिएको थियो ।
आइतबार साँझ राज्यको मान्सा जिल्लाको भ्रमणको क्रममा सिद्धु मुसे वालाको नामले पनि चिनिने २८ वर्षीय शुभदिप सिंह सिद्धुको अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।
उनीमाथि अचानक भएको आक्रमण भएको हो । सो घटनामा अन्य दुई व्यक्ति घाइते भएका थिए ।
यस हत्याकाण्डले राजनीतिक रङ लिएको छ । विपक्षी राजनीतिक नेताहरूले घटनालाई लिएर सरकार र प्रहरीको आलोचना गरिरहेका छन् ।
राज्य प्रहरी प्रमुख भिके भावराले क्यानडास्थित एक अपराधिक समूहले आक्रमणको जिम्मेवारी दाबी गरेको जानकारी दिएका छन् । तर, मुसेको परिवारले बिना कुनै गम्भीर छानबिन उनको मृत्युलाई यसरी कुनै प्रतिद्वन्द्वी गिरोहसँग जोडेकोमा भावरालाई माफी माग्न माग गरेका छन् ।
एक विज्ञप्तिमार्फत सोमबार भावराले भनेका छन्, “मैले मुसे कुनै अपराधी भएको वा उनको कुनै गिरोहसँग संलग्नता रहेको भन्न खोजेको होइन । लरेन्स विष्नोइ ग्याँगका तर्फबाट एक व्यक्तिले घटनाको जिम्मेवारी लिएका हुन् । मेरो भनाइलाई केही संचार माध्यमले बङ्ग्याएर प्रचार गरे ।”
पन्जाबका मुख्यमन्त्री भागवन्त मनले उच्च अदालतका न्यायाधीशकोे नेतृत्वमा घटनाबारे विस्तृत छानबिन गर्न निर्देशन दिएका छन् ।
लोकप्रिय र्यापर सिद्धुको सुरक्षाका लागि चारजना कमान्डो खट्ने गरेका थिए । हालै मात्र दुईजना कमान्डो हटाइएको थियो ।
विपक्षी नेताहरूले उनका कमान्डो घटाइएकोमा पनि प्रश्न गरेका छन् । उनीमाथि आक्रमण गरिँदा उनको साथमा ती दुई कमान्डो पनि थिएनन् ।
हालै मात्र पन्जाब सरकारले उनीलगायत अन्य ४ सय भन्दा बढी व्यक्तिका सुरक्षा कटौती गरेको थियो ।
सिद्धुमाथि आफ्ना गीतमार्फत बन्दुक संस्कृति प्रवद्र्धन गर्न खोजेको अरोप लाग्ने गरेको थियो ।
सन् २०२० को मेमा लकडाउनको समयमा एउटा सुटिङ रेन्जमा एके ४७ बाट गोली चलाएको कारण पनि उनी विवादमा परेका थिए ।
बीबीसीबाट ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved