सिरहा । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।
यो सँगै बेलका नगरपालिका- १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले जानकारी दिए।
अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गरिएकाले कुनै पनि मानवीय क्षति नभएको घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए।
सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेको प्रजिअ यादवले बताए।
‘बाँध फुटेर पुरानै धारतिर कोशी बगिरहेको छ। बस्ती सार्ने काम भइरहेको छ’, प्रजिअ यादवले भने,‘ यसले उदयपुरलाई मात्र नभएर सुनसरी र सप्तरीका बस्तीलाई असर गर्ने देखिन्छ।’
उनले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएकोसमेत जानकारी दिए।
नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएको थियो। सेतोपाटी
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved