भ्रष्टाचार मुद्दामा घट्यो अख्तियारको सफलता दर

  • असोज ६, २०७९ | ३४५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत आर्थिक वर्षको कार्यसम्पादन पछिल्लो १५ वर्षयताकै सबैभन्दा फितलो देखिएको छ । आयोगले विशेष अदालतमा पेश गरेका मुद्दामध्ये गत आर्थिक वर्षमा ३८.५१ प्रतिशत मुद्दामा मात्रै सफलता पाएको छ ।

आयोगले विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ३२ औं वार्षिक प्रतिवेदनमा समावेश भएको तथ्यांक अनुसार १५ वर्षमा विशेष अदालतमा दायर भएका भ्रष्टाचार मुद्दामध्ये सबैभन्दा कम सफलता पाएको गत आर्थिक वर्ष २०७८/०७९ मै हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले गत वर्ष सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको फैसलाका कारण रंगेहात घुसका मुद्दामा आरोपितहरुले सफाइ पाइरहेको र त्यसले सफलता दर कम देखिएको स्वीकारे ।

‘सर्वोच्च अदालतले आयोगबाट उजुरीकर्तालाई उपलब्ध भएको रकमलाई प्रमाणका रुपमा लिन नसकिने फैसला ग¥यो, त्यसअघि आयोगबाट ठूलो संख्यामा रंगेहात घुसको मुद्दा विधेयक अदालतमा पेश भएका थिए’ उनले भने, ‘सर्वोच्च अदालतको व्याख्यात्मक निर्देशन अनुसार ती मुद्दामा आरोपितहरुले सफाइ पाएका कारण आयोगको सफलताको दर घटेको हो ।

सर्वोच्च अदालतले ८ वैशाख २०७८ मा अख्तियार आफैंले नगद प्रदान गरेर घुस माग्नेलाई रंगेहात पक्राउ गर्न र भ्रष्टाचार मुद्दा चलाउन नपाउने फैसला गरेको थियो । सर्वोच्च अदालतले संविधान र ऐनसँग बाझिएको भन्दै आफैंले नगद प्रदान गरेर सार्वजनिक पदमा रहेका व्यक्तिलाई रंगेहात पक्राउ गर्न पाउने अख्तियारको नियम खारेज गरेको हो । फैसलाका बेलामा विशेष र सर्वोच्च अदालतमा रंगेहात घुसका ५ सय भन्दा बढी मुद्दा विचाराधीन थिए । तीमध्ये अधिकांशले सफाइ पाएका छन् ।

२०७० सालमा लोकमान सिंह कार्की अख्तियारको प्रमुख आयुक्त भएपछि सरकारी कर्मचारीहरुलाई रंगेहात पक्राउ गर्ने र भ्रष्टाचारको मुद्दा दायर गर्ने परिपाटीले तिब्रता पाएको थियो । उनीपछिका प्रमुख आयुक्तहरुले समेत अरु मुद्दामा मेहनत गर्नुको साटो रंगेहात मुद्दालाई प्राथमिकतामा राखेका थिए ।

प्रमाणको सहजता र न्यायनिरुपणका लागि धेरै मेहनत गर्न नपर्ने भएकाले यस्ता मुद्दामा भ्रष्टाचार ठहर सहित धमाधम फैसला हुन थाले । केही वर्षयता अख्तियारले ७० प्रतिशतभन्दा बढी सफलता देखाउनुको कारण रंगेहातका यस्तै मुद्दा थिए ।

२०७० को दशक सुरु हुनुभन्दा अघिसम्म नक्कली प्रमाणपत्रका मुद्दाहरु अख्तियारलाई संख्या र सफलताको प्रतिशत देखाउने माध्यम बनेका थिए । तर पछिल्लो समय शिक्षाको अवसर लगायतका कारणले पदोन्नती र नियुक्तिमा नक्कली प्रमाणपत्र पेश गर्ने क्रम घट्दो छ । आर्थिक वर्ष २०७१/७२ मा अख्तियारले नक्कली प्रमाणपत्रमा ९६ वटा मुद्दा दर्ता गरेको थियो । गतवर्ष त नक्कली प्रमाणपत्रका ६ वटा मुद्दामात्रै दर्ता भए ।

लोकमान सिंह कार्कीको बहिर्गमनपछि अख्तियारका दुई प्रमुखहरु दीप बस्न्यात र नविनकुमार घिमिरेले मुद्दाको संख्या देखाउन रंगेहातका मुद्दालाई प्राथमिकता र तिब्रता दिए । त्यस्ता अधिकांश मुद्दामा भ्रष्टचार ठहर हुँदा २०७५÷७६ पछिका तीन वर्ष अख्तियारले मुद्दामा निकै सफलता पाएको थियो । २०७५/७६ मा त ८८ प्रतिशत सफलता पाएको थियो ।

विशेष अदालतबाट हुने फैसलाका मुद्दालाई मात्रै आधार बनाएर आफ्नो सफलताको प्रतिशत मापन गर्ने अख्तियारले ती मुद्दा सर्वोच्च अदालत गएपछिको अवस्था हेर्दैन । अर्कोतर्फ ६/७ जना आरोपित भएको मुद्दामा एकजना मात्रै भ्रष्टाचारी ठहर भएपछि अख्तियारले मुद्दा सफल भएको भनी गणना गर्छ ।

विस्तृत अनुसन्धानबाट आयोगले टुंग्याएका फाइलमध्ये करिव १५ प्रतिशतमा मात्रै मुद्दा दायर हुन्छ । गतवर्ष ९१४ वटा फाइल टुंगिएकोमा १३० वटा मुद्दा दायर भए । ६३७ वटा फाइलहरु तामेलीमा गए ।

फाइल तामेलीमा जानु भनेको प्रमाणको अभावमा भ्रष्टाचार मुद्दा दायर हुन नसक्नु हो । अख्तियारले करिव १०० वटा फाइलमा सुझाव दिने र सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ ।

गतवर्ष २४ हजार ३३१ वटा उजुरी दर्ता भएकोमा त्यसको एक तिहाइ उजुरी स्थानीय तह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित थिए । स्थानीय तहपछि शिक्षा र भूमि प्रशासनका विषयमा ज्यादा उजुरी परेका छन् । त्यसपछि वन, स्वास्थ्य, भौतिक पूर्वाधार मन्त्रालयका उजुरी ज्यादा छन् ।

अख्तियारले संकलन गरेको तथ्यांक अनुसार, रंगेहात घुसका मुद्दामा ठूला भन्दा तल्लो तहका र सहायक पदका कर्मचारीहरु मुछिने गरेको देखिएको छ ।

५२ जना रंगेहात घुसको मुद्दामा पक्राउ परेकोमा २३ जना सहायक स्तरका कर्मचारी थिए भने विशिष्ट श्रेणीका एकजना पनि थिएनन् । ठिक उल्टो गैरकानूनी लाभको विषयमा ३२२ जनालाई मुद्दा लागेकोमा ७१ जना अधिकृतस्तरका कर्मचारी छन् । गैरकानूनी लाभ र सार्वजनिक सम्पत्तिको नोक्सानीका मुद्दामा अधिकृतस्तरका कर्मचारीहरुको संलग्नता करिव एक तिहाइको हाराहारीमा रहेको देखिन्छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब