निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् । उनले उम्मेदवारहरूले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे ।
उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । सम्बन्धित उम्मेदवारले व्यानर आफूले टाँगेको हो भनी स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिन्हको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले सोही अनुरुप काम गर्न पनि आग्रह गरे । त्यस्तै उनले कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने बताए । उनले खेलकुद, पुरस्कार वितरणलगायतका कार्यक्रमहरूमा राजनीतिक आवद्धता देखाउनु नहुने पनि उल्लेख गरे ।
सचिव दुवाडीले सरकारी कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताए । उनले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने बताए ।
‘कुनैपनि कर्मचारीले उम्मेदवारको पक्ष, विपक्षमा मत जायर गर्न, लाइक, कमेन्ट, सेयर गर्न पाइँदैन भनेर निर्णय पनि गरिसकेको छ । विज्ञप्तिमार्फत जानकारी पनि गराइसकेको छ । तसर्थ प्रमुख जिल्ला अधिकारीहरूलाई म के आग्रह गर्न चाहन्छु भने त्यस्तो भेटिएमा तुरुन्त त्यो कार्य रोक्न लगाउने, सम्बन्धित कार्यालय प्रमुखलाई त्यो कर्मचारी उपर तत्काल कारबाही गर्न लेखि पठाउने, कार्यालय प्रमुखले कारबाही गर्न आनाकानी गरेमा तपाई आफैँले कारबाही गर्ने र त्यसमा पनि अपm्ठ्यारो पर्ने भयो भने आयोगलमा तुरुन्तै सञ्चार सम्पर्क गर्ने । आयोगले त्यसलाई कारबाही गर्नेछ’, उनले भने
उनले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गरे । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरिय समितिको व्यवस्था भएको र सोही समितिअन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउनुपर्ने बताए । त्यस्तै कर्मचारीहरूलाई निर्वाचनमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उनले त्यस्तो आरोपबाट मुक्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
उनले कसैले निर्वाचनमा खलल पुग्नेखालको गतिविधि गरेमा कानूनी अधिकार प्रयोग गरी नियन्त्रण गर्न र कारबाहीको दायरमा ल्याउन निर्देशन दिए । सचिव दुवाडीले यसरी नियन्त्रण तथा कारबाही गरेका कुराहरू नागरिकसम्म पु¥याउन समाचार सम्प्रेषणमा ध्यान दिन पनि आग्रह गरे ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved