काठमाडौं । निर्वाचन आयोगले आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान केन्द्रमा समानुपातिकतर्फको उम्मेदवारको प्रतिनिधि नराखिने जनाएको छ । राजनीतिक दलबाट प्रत्यक्षतर्फका उम्मेदवारका प्रतिनिधि मात्रै निर्वाचन केन्द्रमा प्रतिनिधि राखिने आयोगले स्पष्ट पारेको हो ।
समानुपातिकतर्फका उम्मेदवारले आफ्नो प्रतिनिधि पनि निर्वाचनको दिन मतदान केन्द्रमा राख्नुपर्ने माग गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकतर्फका उम्मेदवारका प्रतिनिधसमेत निर्वाचन केन्द्रमा राख्दा भीडभाड बढ्ने भएकाले आयोगले नराख्ने निर्णय गरेको बताए ।
नेपाल प्रेसको विशेष प्रस्तुती नेपाल टकसँग कुराकानी गर्दै उनले भने, ‘मतगणनाको हकमा आफ्नो प्रतिनिधि राख्न दिने भन्ने व्यवस्था गरिएकै छ । मतदानको हकमा भनेको त्यहाँ मतदानको समयमा प्रतिनिधि राख्ने भनेको चाही त्यहाँ प्रवेश गर्ने व्यक्ति ठिक हो कि होइन । त्यसमा आयोगलाई वा निर्वाचन अधिकृतलाई सहयोग गर्न राखिएको हो । अब त्यहाँ सहयोग गर्नका लागि प्रत्यक्षतर्फका उम्मेदवारको प्रतिनिधि बसिसकेपछि त्यो पर्याप्त हुन्छ । त्यसकारण यसलाई व्यवस्थापन गर्न खोजिएको हो । यसले कुनै पनि राजनीतिक दलको अधिकारलाई कुण्ठित गर्दैन । हामीले मतदान प्रतिनिधिको काम कर्तव्य र अधिकार राम्रोसँग पढ्यौ भने यो आयोगले ठिक गरेको छ भन्ने प्रमाणित हुन्छ ।’
कात्तीक २९ गतेको निर्वाचन आयोगको बैठकबाट संशोधित प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ मा यस्तो व्यवस्था गरिएको हो । यद्यपी निर्वाचन आयोगले पहिलो पटक समानुपातिक निर्वाचन प्रणालीमा सहभागि हुनका लागि बन्दसूचीमा परेका उम्मेदवारलाई परिचय पत्र उपलब्ध गराउने निर्णय भने गरिसकेको छ । समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले उक्त परिचय पत्र बोकेर मतदान केन्द्रमा प्रवेश गर्न पाउनेछन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved