जनकपुरधाम । प्रतिनिधिसभामा मधेश आन्दोलनका शहीदहरूको अपमान गरिएको भन्दै नेपाली कांग्रेस मधेश प्रदेश कमिटीले आपत्ति जनाएको छ।
जनकपुरधाममा शुक्रबार नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयमा सभापति कृष्णप्रसाद यादवले माघ ५ गते बलिदानी दिवसका दिन प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसहित कैयौँ सांसदले शहीदको अपमान गरेको भन्दै यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मधेश आन्दोलनका शहीदहरूको सम्मानका लागि सांसद् डा सीके राउतले गरेको मौनधारणको अनुरोधलाई प्रधानमन्त्रीलगायत कतिपय सांसदले अस्विकार गर्नु दुःखद भएको पनि नेपाली कांग्रेस मधेशले ठहर गरेको छ। यो घटनाबाट शासकहरूले मधेशका शहीदहरूप्रति समेत वैरभाव राखेको प्रष्ट भएको सभापति यादवले बताए।
मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज यो घटना भएको भन्दै आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री प्रचण्डलगायत सबैलाई नेपाली कांग्रेस मधेशले ध्यानाकर्षण गराएको छ। सो क्रममा एमाले, माओवादी र राप्रपाका सांसदहरूले मौनधारण गरेका थिएनन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved