घुस मागेको भिडियो भेटिएपछि सिडिओको सरुवा रद्द

  • माघ १३, २०७९ | ३७४ पटक पढिएको | सीमा संदेश
alt

गत साता गृह मन्त्रालयले ४६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गर्‍यो । सरुवासम्बन्धी नयाँ कार्यविधि जारी गरेलगत्तै त्यसैबमोजिम गृहले सिडिओ हेरफेर गरेको थियो । 

कार्यविधिमा सिडिओको कार्यसम्पादन मूल्यांकन, छविलगायत पनि हेरिने उल्लेख थियो । तर, सरुवाको सूचीमा केही यस्ता व्यक्ति पनि थिए, जसमाथि भ्रष्टाचारको गम्भीर आरोप विचाराधीन थियो । गम्भीर उजुरी रहेको खुलेपछि गृह मन्त्रालयले ती सिडिओको सरुवा नै रद्द गरेको छ । 

घटना सिराहाका सिडिओ लालबाबु कवारीको हो । उनलाई सिराहाबाट गोरखाको सिडिओमा सरुवा गरिएको थियो । तर, रमाना लिन नपाउँदै गृह प्रशासनले बुधबार उनको सरुवा रद्द गरिदिएको छ । उनलाई हाल काजमा गृह मन्त्रालय तानिएको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार करिब ५० लाख घुसको बार्गेनिङ गरेको अडियो–भिडियोमाथि छानबिन चलिरहेको छ । हाल कार्यरत रहेकै जिल्ला सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको छ । सोही कारण उनको सरुवा रद्द गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । 

कवारी २३ मंसिर ०७८ मा सिराहाको सिडिओ बनेर गएका थिए । मधेसमा एक समय भूमिगत रूपमा सशस्त्र गतिविधि चलाएको ‘गोइत समूह’ले कब्जा गरेको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता दिन बिचौलियामार्फत बार्गेनिङ गरेको उजुरी उनीमाथि परेको हो । सशस्त्र समूहले कब्जा गरेका जग्गा फिर्ता पाउन अनुरोध गर्दै जिल्ला प्रशासन पुग्दा बिचौलियामार्फत उनले घुसको बार्गेनिङ गरेको पीडितले बताएका छन् । 

करिब ६ महिनाअघि नै यसको अडियो–भिडियोसहितको उजुरी गृहमा पुगेको थियो । तर, तत्कालीन नेतृत्वले चासो नदिँदा छानबिन रोकिएको थियो । त्यसवेला गृह प्रशासनले छानबिन नै नगरी उजुरी थन्क्याएको स्रोत बताउँछ । अहिले यो कुरा पत्ता लागेपछि उनको गोरखा सरुवा रद्द गरिएको गृह स्रोतले बतायो । ‘कार्यविधिमा आचरण र अनुशासन राम्रो नभएकालाई सिडिओबाट हटाइने पनि उल्लेख छ,’ गृहका एक उच्च अधिकारीले भने, ‘उनको सरुवा कार्यविधिविपरीत हुने भएकाले तत्काललाई रद्द गरिएको हो ।’ गोरखामा नयाँ सिडिओ खटाइएको छैन । 

सिडिओ कवारीले भने आफूले सिराहामा कुनै नराम्रो काम नगरेकाले त्यस्तो घुस मागेको अडियो–भिडियोको छानबिनबारे जानकारी नभएको बताए । ‘मैले जिल्लामा त्यस्तो केही नराम्रो काम गरेको छैन, गरेको भए त छानबिन गरेर कारबाही गर्नुपथ्र्याे,’ उनी भन्छन्, ‘तर, मेरो मात्र सरुवा रद्द गरेर अन्याय गरिएको छ ।’ 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कवारीको सरुवा रद्द भएको बताए । तर, त्यसको कारणबारे भने आफूलाई थाहा नभएको बताए । ‘उहाँको सरुवा रद्द भएको छ,’ उनी भन्छन्, ‘उहाँको प्रतिकूलता हुन सक्छ, अरू मलाई थाहा छैन ।’ 

त्यतो त उपसचिव कवारीको यसअघिको ‘ट्र्याक रेकर्ड’ पनि राम्रो छैन । यसअघि काठमाडौं जिल्ला प्रशासन, हज समिति, कम्पनी रजिस्ट्रार कार्यालयलगायतमा हुँदा उनी विवादित थिए । कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार हुँदा २० लाख घुस लिएको अभियोगमा कवारीसहित चार्टर्ड एकाउन्टेन्ट भानु कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

चितवन मेडिकल कलेजमा सेयर विवादमा सञ्चालकसँग घुस लिएको आरोपमा कवारी र कँडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेष अदालतले ठहर गरे पनि सर्वोच्चले फैसला उल्ट्याएर दुवैलाई सफाइ दिएको थियो । सिराहामा पनि उनको कार्यसम्पादन राम्रो नभएको गृह मन्त्रालयका एक अधिकारीले बताए । नयाँ पत्रिकाबाट

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब