१५ सिरहा, ३१ भाद्र । सिरहाको सिरहा नगरपालिका वडा नं १२ स्थित सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई प्रधानाध्यापकसहित तीन जनाले कक्षाकोठामा थुनेर निर्घात कुटपिट गरेका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मो. समीर राइनलाई गत मंगलबार कक्षा कोठामा अध्ययन गरिरहेको समयमा उनीहरुले कुटपिट गरेका हुन् ।
कुटपिटको क्रममा घाइते विद्यार्थी समीर सिरहास्थित प्रादेशिक अस्पतालमा उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । घटनापछि उनी विद्यालय नै जान नसकेको समीरका बाबु मो. अकबर मियाले बताएका छन् ।
गत मंगलबार दिउँसो ३ बजे कक्षामा अध्ययनरत समीरलाई कार्यालय सहयोगीले बोलाएर स्टाफ कोठामा लगेका थिए । ‘मलाई स्टाफ कोठामा लगेपछि हेडसर जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगी जयनारायण मण्डलले कोठा थुनेर एक घण्टासम्म निर्घात कुटिरहे,’ घाइते विद्यार्थी समीरले भने, ‘तिमी बढी बुझ्ने भयौ भन्दै तीनै जना मिलेर लात्ती, पाइप, मुक्काले एकोहोरो कुटिरहे ।’ दिनभरको कक्षा छुट्टी भएपछि मात्र आफूलाई गेटमा घाइते अवस्थामा ल्याएर छोडिदिएको पनि समीरले बताएका छन् ।
घाइते समीरका बाबु मियाका अनुसार कुटाइबाट अनुहार, टाउको, पिठ्युँ, छाती, खुट्टा लगायतका शरीरका विभिन्न भागमा निलडाम नै लाग्ने गरी गहिरो चोट लागेको छ । मंगलबार राति नै उनलाई सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएपछि हाल घरमै आराम गराइएको बाबु मियाले बताए ।
समीरले भनेका छन्, ‘अहिले पनि टाउको दुखेको दुख्यै छ । शरीर काँपिरहेको छ, टाउको घुमिरहेको छ, अब स्कुल जानै डर लागिरहेको छ ।’ यसअघि प्रधानाध्यापकको सरुवा हुँदा समीरको नेतृत्वमा विद्यार्थीहरूले सरुवाको विरोध गरेको र विद्यालयको मातहतमा रहेको सारस्वरनाथ गुद्री हटियाको ठेक्काको विषयमा पनि उनले प्रश्न उठाएका थिए ।
यता विद्यालयका प्रधानाध्यापक यादबलाई फोन सम्पर्क गरी घाटना बारेमा सोधपुछ गर्दा बजार ठेक्का बारेमा उनको बुवाले के गरियो के भनी मैले चनेको पनि छैन् । पूर्व प्रअको कुरा आरोपमा मात्र हो । राईनले छठमा घण्टीमा छात्राहरुको ख्याल नै नगरी अभद्र तरिकाबाट अश्लिल कुराकानी गरिरहदाँ जानकारी भएसँग गम्भिर रुपमा अभद्र अश्लिल कुरा गरेपछि त्यतिवेला सहन नसकेपछि रिसमा आई कुटपिट गरेको स्वीकार गरे । मबाट गल्ती भएकै हो । तर विधार्थी राईनले अभद्र अश्लिल कुराकानीको भिडियो पनि मसँग छ । एक पटक जो कोही हेरे सुने उसले पनि रिस थाम्न सक्दैन् । गल्ती नै तेस्तै थियो सम्हाल सकिएन् । मबाट गल्ती भएकै हो । तर जुन किसिमका आरोप लगाई रहेको छ । त्यो सत्य होइन् ।
प्रधानाध्यापक जयचन्द्र यादवले भने समीरले छात्राहरूलाई जिस्क्याउने लगायतका हर्कत गरेको दाबी गरेका छन् । सोहीकारण गुरुको रुपमा सजाय दिएको प्रअ यादवले बताएका छन् । 'केटो बदमास हो, यस घटनालाई अन्यत्र नमोड्नु । मलाई सहयोग गर्नुस् । उसलाई गुरुको रुपमा सजाय दिएको हुँ, परिस्थिति यस्तो बन्यो कि उसमाथि चोट लाग्यो ।'
घटनापछि समीरका बाबुले भने प्रधानाध्यापक जयचन्द्र, लेखापाल जितेन्द्र र कार्याल्य सहयोगी जयनारायणलाई कारबाहीको माग गर्दै गत भदौ २७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएको बताएका छन् । सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इबा लिम्बुले घटनाबारे जानकारी आएको तर जाहेरी आइनसकेको बताएका छन् । साथै यसबारे विस्तृतमा बुझ्ने कार्य भइरहेको बताए । दोषीलाई कानुनी दायरामा ल्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिरहा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत दिलिपकुमार यादवले घटनाबारे प्रधानाध्यापक, विद्यार्थी र उनको परिवारसँग बुझ्ने कार्य भइरहेको बताएका छन् । पीडित समीरका बाबुले आफ्नो छोरालाई पशुजस्तै गरी कुटपिट गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved