आजदेखि एमडिएमएस पूर्ण कार्यान्वयनमा आउने : दैनिक करिब हजार मोबाइल ब्लक गरिने

  • कार्तिक २०, २०८० | ६३६ पटक पढिएको | सीमा संदेश
alt

सोमबार राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएका छन् । सरकारको निर्देशनअनुसार तोकिएको समयभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा दर्ता नभएका मोबाइल सेट सोमबारदेखि ब्लक गर्ने भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको छ । करिब १० हजारवटा उच्च मूल्यका सेट एमडिएमएसमा दर्ता नभएको पाइएको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले जानकारी दिए । त्यसमध्ये सोमबार पहिलो दिन आठ सयवटा सेट ब्लक गरिनेछन् । क्रमिक रूपमा प्रत्येक दिन आठ सयदेखि एक हजारवटा सेट ब्लक गरिने उनको भनाइ छ ।

पहिलो चरणमा प्राधिकरणले  हाइप्रोफाइललाई लक्षित गरेको छ । ‘नियम सबैले पालना गर्नुपर्छ । त्यसैले पहिलो चरणमा हाइप्रोफाइल व्यक्तिलाई नै नियमको दायराभित्र ल्याउने कोसिस गरेका हौँ,’ उनले भने । ब्लक भएका मोबाइल सेट पुनः खुलाउन सकिने वा नसिकने भन्ने विषयमा भने प्राधिकरणले कुनै निर्णय गरेको छैन । उनका अनुसार एमडिएमएस प्रणालीमा ब्लक भएको सेट खुलाउन सकिने व्यवस्था छ । तर, खुलाउने वा नखुलाउने विषयमा सरकारको निर्णयअनुसार हुने उनले बताए । भन्सार शुल्क बुझाएर नियमसंगत दर्ता भएर आएमा पुनः खुलाउनुपर्ने उनको भनाइ छ । 

 करिब ६० लाख मोबाइल सेट ग्रे जोनमा
नेपाल भित्रिएका मोबाइल सेटमध्ये करिब ६० हजार सेट ग्रे जोनमा रहेको प्राधिकरणले जनाएको छ । यी मोबाइल सेट गैरकानुनी प्रक्रियामार्फत नेपाल भित्रिएको हुन सक्ने प्राधिकरणको अनुमान छ ।प्राधिकरणका अनुसार हालसम्म ६ करोड आइएमइआई नम्बर अर्थात् तीन लाख मोबाइल सेट एमडिएमएस सिस्टममा दर्ता भइसकेका छन् । तर, करिब ६० हजार मोबाइल सेट भने दर्ता नभई प्रयोग भइरहेको प्राधिकरणले जनाएको छ । बारम्बारको ताकेतापछि पनि यी मोबाइल एमडिएमएस प्रणालीमा दर्ता नहुनुले अवैध भएको अनुमान गरिएको छ ।

प्राधिकरणले उच्च मूल्यका मोबाइल सेटपछि अन्य मोबाइल सेट पनि ब्लक गर्ने तयारी गरेको छ । तर, बारकोड मोबाइल सेट भने दर्ता नभए पनि चल्न दिनुपर्ने प्राधिकरणका अध्यक्ष खनालको तर्क छ । ‘बारकोड मोबाइल सेट प्रायः गरी घरमा बाआमाले प्रयोग गर्नुहुन्छ । यस्ता मोबाइलमा खासै कडाइ गर्नुपर्ने आवश्यकता देख्दिनँ,’ उनले भने । 

त्यसैगरी, प्राधिकरणले मोबाइल ब्रान्डअनुसार पनि ब्लक प्रक्रिया अगाडि बढाउने विषयमा योजना बनाइरहेको छ । प्राधिकरणले पछिल्लोपटक गत ४ कात्तिकमा सूचना जारी गर्दै १५ दिनभित्र एमडिएमएसमा दर्ता गर्न आग्रह गरेको थियो । सो अवधिमा पनि दर्ता नभएका मोबाइल सेट नेपालमा नचल्ने प्राधिकरणले जनाएको थियो । 

 एक वर्षपछि पूर्ण कार्यान्वयनमा आउँदै 
परीक्षण सुरु गरिएको एक वर्षपछि नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस पूर्ण रूपमा कार्यान्वयन गर्ने भएको छ । अनेक विवादबीच प्राधिकरणले सोमबारदेखि एमडिएमएस पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको हो ।प्राधिकरणले अवैध रूपमा नेपाल भित्रिएका मोबाइल सेटलाई नियन्त्रण गर्न ०७९ असोजदेखि एमडिएमएस प्रणाली आंशिक लागू गरेको थियो । साथै, पुस १५ देखि पूर्ण रूपमा सञ्चालन गर्ने घोषणासमेत गर्‍यो । यो सिस्टम सञ्चालनमा आएपछि नेपालभित्र चल्ने सबै मोबाइल अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । यसले नेपालमा खरिद गरिएका मोबाइल मात्रै नेपालमा चल्ने हुन्छ । तर, विदेश गएका नेपालीले साथमा ल्याउने मोबाइलको हकमा भने व्यक्ति आफैँले सिस्टम दर्ता गर्नुपर्ने व्यवस्था छ । 

यस्ता मोबाइल दर्ता गर्दा मोबाइलको वैधानिकता प्रमाणित गर्न भन्सार विभागले प्रज्ञापनपत्र अनिवार्य प्रदान गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ । तर, भन्सार विभागले विदेशबाट आउने व्यक्तिले साथमा ल्याएको एउटा मोबाइललाई मात्रै प्रज्ञापनपत्र दिने भयो । 

विदेशमा नै प्रयोग गरिएको मोबाइल पनि नेपालमा नचल्ने अवस्था आयो । यस्तो व्यवस्थाको चौतर्फी विरोध भयो, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले नो रेमिट्यान्स अभियान सुरु गर्ने अभियान चलाए । विरोधको दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल एमडिएमएस सञ्चालन नगर्न आदेश दिए । आदेशपछि एमडिएमएस तत्कालका लागि स्थगित गरियो । 

त्यस्तै, प्रधानमन्त्री दाहालले विदेशबाट आउने नेपालीले मोबाइल ल्याउने प्रक्रियालाई सरल बनाउन निर्देशन दिएपछि गत जेठदेखि पुनः एमडिएमएस आंशिक रूपमा सुरु भएको हो । नेपालमा वार्षिक १४ अर्ब रुपैयाँबराबरको अवैध मोबाइल सेट भित्रिने गरेको नेपाल मोबाइल वितरक संघले जनाएको छ । संघका अनुसार विभिन्न नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध मोबाइल सेट भित्रिन्छ । नेपालमा वार्षिक ३८ अर्बदेखि ४० अर्बबराबरको वैधानिक मोबाइल सेट आयात हुन्छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब