देशभरका स्थानीय तहमा १७ जनप्रतिनिधि रिक्त

  • कार्तिक २३, २०८० | ३७३ पटक पढिएको | सीमा संदेश
alt

एक नगरपालिका प्रमुख र एक गाउँपालिकाका अध्यक्षसहित देशभरका स्थानीय तहमा १७ जना जनप्रतिनिधि रिक्त रहेका छन् ।

निर्वाचन आयोगका अनुसार अधिकांश जनप्रतिनिधिको निधन भएका कारण ती स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको हो । त्यसका अतिरिक्त केही वडाध्यक्ष जिसस प्रमुख भएको र एकाधले राजीनामा दिएका कारण स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
आयोगका अनुसार कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समितिका प्रमुख रिक्त रहेको छ । जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कँडेलको गत वर्ष पुसमा मिर्गौला फेल भएर निधन भएपछि सो पद रिक्त छ । त्यस्तै ओखलढुंगाका जिसस प्रमुख डिल्लीराम खनाल गत १३ असोजमा उपचारका क्रममा निधन भएपछि पद रिक्त छ ।

 

निर्वाचन आयोगका अनुसार दुईवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको पद पनि रिक्त भएको छ । कर्णाली प्रदेशमा दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको सात महिना अघि २०७९ माघ २७ गते हृदयाघातबाट निधन भएको थियो । गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको करिब नौ महिनामा उहाँको निधन भएको हो । विगत सात महिनादेखि गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। यस्तै, वागमती प्रदेशमा दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको पनि हृदयाघातका कारण निधन भएको थियो। उपाध्यक्षको पाँचवर्षे कार्यकालमध्ये एक वर्ष कार्यकाल पूरा गरेलगत्तै गत असार ३१ गते उपचारका क्रममा निधन भएको हो ।

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पनि डेंगुका कारण निधन भएकाले वडाअध्यक्ष रिक्त छ । त्यस्तै सुनसरीको गढी गाउँपालिका वडा–६, उदयपुरको त्रियुगा नगरपालिकाको वडा–१२, रौतहटको इशनाथ नगरपालिका वडा–६, कीर्तिपुर नगरपालिका वडा–४, नुवाकोटको ककनी गाउँपालिका वडा–२, हेटौंडा उपमहानगरपालिका वडा–१२ मा वडा अध्यक्षको पद रिक्त छ ।

यस्तै, गण्डकीमा गोरखाको गोरखा नगरपालिका वडा–५, लुम्बिनीमा गुल्मीको मुसिकोट गाउँपालिका वडा–१, रोल्पाको रुन्टिगढी गाउपालिका वडा–४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा–४ मा वडा अध्यक्ष रिक्त भएको आयोगले जनाएको छ।

आयोगका अनुसार कर्णाली प्रदेशमा कालिकोटको तिलागुफा नगरपालिका वडा–१, जाजरकोटको कुशे गाउँपालिका वडा–७, सुदूरपश्चिममा दार्चुलाको दुहँु गाउँपालिका वडा–५, बझाङको सुर्मा गाउँपालिका वडा–४ र डोटीको पूर्वीचौकी गाउँपालिका वडा–६ मा अध्यक्ष पद रिक्त भएको छ । नेकपा (एमाले) बाट निर्वाचित रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले सो पार्टी त्याग गरेसँगै पदमुक्त भएकाले सो नगरपालिकामा जनप्रतिनिधि रिक्त रहेको हो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को उपदफा २ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने भनिएको छ ।

तर, एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा भने उपनिर्वाचन नगरिने सोही उपदफामा उल्लेख गरिएको छ । स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने भएमा नेपाल सरकारले मिति तोक्ने भन्ने उल्लेख छ ।

आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभाको उपनिर्वाचनपछि स्थानीय तहको उपनिर्वाचन आउँदो वैशाख, जेठ गर्ने योजना बनाएको बुझिएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब