आस्थाको महापर्व प्रारम्भ उल्लासमय वातावरण, पोखरीहरु सिंगारिए

  • मंसिर २, २०८० | ३६४ पटक पढिएको | सीमा संदेश
alt

छठ पर्वले मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका शहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ । विभिन्न रंगका कलात्मक बिजुलीको उज्यालोले मिथिला क्षेत्र जगमगाएको छ । मिथिलाका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन् । गाउँ बस्तीका कच्ची घर पनि अहिले नयाँ माटोले लिपपोत गरिएपछि टिलिक्क भएका छन् । विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ । गाउँका गरिब अभाव, दुःख र अन्य पीडा बिर्सेर खुसी साटासाट गरिरहेका देखिन्छन् । भगवान् सूर्य र षष्ठी देवीको उपासना गरिने यो पर्वका लागि अहिले पवित्र जलाशयमा सुन्दर घाट बनाइएका छन् ।

जलाशयमा कम्मरसम्म डुब्ने पानीमा आसन जमाएर सूर्यलाई अघ्र्य दिइने परम्पराको यो पर्वमा घाटस्थलहरु अहिले बेहुली झैं सिंगारिएका छन् । बिहीबार कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबाअरबाइन’ विधिबाट पर्वको तयारी थालेका व्रतालुले शुक्रबार कात्र्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधि गरेका छन् । ‘नहाय–खाय’ विधि व्रत सङ्कल्पका लागि पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रतको पूर्वतयारीसँग जोडिने यहाँका पाका मैथिल बताउँछन् ।

पर्वको तयारीले मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा भगवान् सूर्य र छठी माताको भक्तहरुप्रति करुणा भावका गीत लगातार गुञ्जिरहेका छन् । पर्व सुरु भएसँगै यस भेगका सबै दैनिक गतिविधि पनि छठमा केन्द्रित भएका छन् । यसले सम्पूर्ण परिवेश नै छठमय बनेको छ । पर्व विशेषले सूर्यलाई अघ्र्य दिँदा देखाइने ठकुवा, भुसुवालगायत परिकार पकाउन आवश्यक सामग्रीको जोहोमा व्रतालु परिवार व्यस्त छन् । पर्वका लागि आवश्यक सामग्रीको जोहो हुँदैछ ।

पर्वको मुख्य दिन निराहार व्रत गरिने षष्ठी तिथि भए पनि त्यसपूर्व नै मिथिलाको सम्पूर्ण परिवेश छठमय बनेको छ । पर्वको तयारीमा रहेका व्रतालु मात्र नभएर मैथिल जनजीवनका सबैजसो गतिविधि पर्वकै तयारीमा केन्द्रित छन् । छठ पर्वमा उखु, केरा, अदुवा, बेसार, ज्यामिर, भोगटेसहितका कृषि उपज पूजा सामग्री मानिदै आएका छन् । यसले थोरै जग्गा भएका गरिबले करेसाबारीमै उब्जाएका यी फसलले राम्रो बजार पाउने गरेका छन् । काम गर्न टाढा पुगेका परिवारजन पर्वका लागि घर आएका छन् ।

पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ । यसअघिका जीवनमा भोगिएका सबै अभाव र दुःख बिर्सेर गरिब पनि आफ्नो क्षमताअनुसार पर्व मनाउन जुटेका छन् । छठको अर्को विशेषता घर परिवेशको स्वच्छता एवं शुद्धता रहेको यस भेगका बुढापाका बताउँछन् । विधिको गणनाले कात्र्तिक शुक्ल तृतीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा क्रमशः अरबाअरबाइन, नहाय–खाय, खरना, सझुका अर्घ र भोरका अर्घ मुख्य विधि मानिन्छन् ।

तृतीयाका दिन व्रतालुले उसिना चामल, माछामासु, कोदो, लसुन–प्याज खान छाड्छन् । यसलाई ‘अरबाअरबाइन’ भनिन्छ । चौथीका दिन व्रतालुले हात गोडाका नङ काटेर स्नान गरेर व्रत सङ्कल्प गर्दै चोखो खान्छन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । त्यसैगरि पञ्चमी तिथिमा राति एकछाकमात्र अलिनो खानेकुरा खाएर व्रतालुले ‘खरना’ विधि गर्दछन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिने ‘सझुका अर्घ’ सम्पन्न गरिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिने ‘भोरका अर्घ’ विधि भएपछि पर्व समापन गरिने परम्परा छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब