काठमाडौं । भारतका चर्चित मोटिभेसनल स्पिकर विवेक बिन्द्राले आफ्नी नव विवाहित पत्नीलाई निर्घात कुटेका छन् । बिहेको भोलिपल्टै श्रीमतीमाथि कुटपिट गरेर घाइते बनाएको विषयमा प्रहरीमा एफआइआर दर्ता भएको छ ।
विवेककी पत्नी यानिकाका भाइ वैभव क्वात्राले नोयडाको सेक्टर १२६ मा निवेदन दिएका हुन् । प्रहरीले घटनामा अनुसन्धान थालेको छ ।
विवेक र यानिकाको गत डिसेम्बर ६ मा विवाह भएको थियो । त्यसको भोलिपल्ट नोयडा सेक्टर ९४ को सुपरनोभा वेस्ट रेजिडेन्सीस्थित विवेकको घरमा डिसेम्बर ७ को बिहानै घटना भएको हो ।
बताइएअनुसार विवेकले यानिकालाई एउटा कोठामा लगी ढोका थुनेर रामधुलाई गरेका थिए। उनले यानिकाको मोबाइल पनि फुटाइदिएको एफआइआरमा उल्लेख छ ।
बाडा बिजनेस प्रालीका सीइओसमेत रहेका विवेकमाथि ठगीको आरोप पनि लागेको छ । अर्का हाइप्रोफाइल मोटिभेसनल स्पिकर सन्दीप महेश्वरीले विवेकले बिन्द्राको कम्पनीले ठगेका विद्यार्थीहरूको बयान राख्दै भिडिओ बनाएका छन् । विवेकले सो आरोप स्वीकारेका छैनन् ।
विवेक युट्युब र इन्स्टाग्राममा लाखौँ फलोअर्स भएका मोटिभेसनल स्पिकर हुन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved