मधेश प्रदेशमा सरकारले पुनः विश्वासको मत लिने

  • माघ १३, २०८० | ५५२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारले प्रदेश सभामा विश्वासको मत लिने भएको छ । सरकारमा सहभागी रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत लिने तयारी गरेको छ ।

जनमत पार्टीको मधेश प्रदेशमा १३ जना सभासद छन् । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा रहेको जनमत पार्टीले गत मंगलबार सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएको छ । मधेश प्रदेशमा सरकारलाई बहुमत सिद्ध गर्न समस्या छैन् ।

जनता समाजवादी पार्टी(जसपा) संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा रहेको सरकारलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)र स्वतन्त्र सभासदहरुले समर्थन गरेका छन् । मधेश कृषि विश्वविद्यालयको सप्तरीमा भवन शिलान्यासको क्रममा जसपा र जनमत पार्टीबीच विवाद भएको थियो ।

मधेश प्रदेश सरकारको स्वामित्वमा रहेको विश्वविद्यालयको कुलपति रहेका मुख्यमन्त्री सरोज कुमार यादवले भवनको शिलान्यासको प्रमुख अतिथि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बनाएको विरोधमा उत्रेको जनमत पार्टी अन्ततःसरकारबाट नै बाहिरियो । जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश प्रसाद यादव विश्वविद्यालयको सहकुलपति रहेका थिए । जनमत पार्टीका अध्यक्ष डा.सी के राउतले भवन शिलान्यास गर्ने अडान लिएपछि विवाद चर्किएको थियो ।

जनमत पार्टीका नेता, कार्यकर्ताहरुले शिलान्यास अगावै विश्वविद्यालयको प्रशासनिक भवनमा लगाएको ताल्चा अझै खुलेको छैन् । उनीहरु जनमत पार्टीका अध्यक्ष सो क्षेत्रबाट प्रतिनिधि सभासदस्य रहेकाले शिलान्यास गर्न पाउनुपर्ने तर्क राख्दै विरोधमा उत्रेका थिए । सरकारमा रहे पनि जसपा र जनमत पार्टीबीचको सम्बन्ध मधुर थिएन् ।

जनमत पार्टीले शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा सिफारिस गरेको रञ्जु कुमारी मण्डल खंग खत्बेलाई मुख्यमन्त्रीले सपथग्रहण गराएनन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहालाई केही महिना बिना विभागीय बनाएर राजीनामा गर्न बाध्य बनाइएको थियो । संघीय सरकारमा रहे पनि जनमत पार्टीलाई पाँच दलीय संघीय गठबन्धनमा राखिएको छैन् ।

पाँच दलीय संघीय गठबन्धनमा मधेशबाट जसपा मात्र रहेको छ । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको पत्र मंगलबार प्रदेश प्रमुखलाई बुझाउँदै मन्त्रीद्वय शिक्षा तथा संस्कृति महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री यादवलाई राजीनामा पत्र बुझाएका थिए । जनमत सरकारबाट बाहिरिएपछि शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय बाडफाँटमा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाले दाबी गर्न थालेका छन् ।

सरकारमा कांग्रेसबाट हाल ३ जना मन्त्री छन् । माओवादीबाट एकजना मात्र मन्त्री छन् । लोसपाबाट पनि एकजना मात्र सरकारमा रहेका छन् । जसपाको मुख्यमन्त्रीका अतिरिक्त ३ जना मन्त्री छन् । कांग्रेसले थप एउटा मन्त्रालयमा दाबी गर्दै आएको छ । माओवादीले पनि थप मन्त्रालयका लागि प्रयासरत रहेको बेला लोसपाले पनि दबाब बढाएको छ ।

मधेश प्रदेशमा कांग्रेसको २२ जना सभासद, जसपाको १९ जना सभासद, माओवादीको ९ जना सभासद, लोसपाको ९ जना सभासद र एकीकृत समाजवादीको ७ जना सभासद रहेका छन् । एमालेको २४ जना सभासद, जनमतको १३ जना सभासद, राप्रपाको १ जना सभासद, नागरिक उन्मुक्ति पार्टीको १ जना सभासद, संघीय समाजवादीको १ जना सभासद र स्वतन्त्र १ जना सभासद रहेका छन् ।

मुख्यमन्त्री यादवलाई ५४ जना सभासदको समर्थन चाहिन्छ । कांग्रेस, जसपा, माओवादी, एस र लोसपाको गरी ६६ जना सभासदको समर्थन रहेको छ । सरकारसित पर्याप्त बहुमत रहे पनि कानुनी प्रावधान अनुसार कुनै दलले समर्थन फिर्ता लिए पनि प्रदेश सभामा बहुमत साबित गर्नु आवश्यक रहेको छ । कुनै दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र सरकारले प्रदेश सभामा विश्वासको मत अनिवार्य रुपमा लिनुपर्छ ।

मुख्यमन्त्री यादव निकट स्रोतका अनुसार आगामी हप्ता नै प्रदेश सभामा विश्वासको मत लिने तयारी सरकारले गरेको छ । विश्वासको मत प्राप्त गरेपछि सरकारको विकास निर्माणको कार्यले गतिलिने बताइएको छ । गठबन्धनका शीर्ष नेताहरुसित छलफलका लागि मुख्यमन्त्री आइतबार काठमाण्डु जाने कार्यक्रम रहेको स्रोतले जनाए

। नेताहरुसित छलफल भएपछि विश्वासको मत लिने स्रोतले जनाएका छन् । मुख्यमन्त्रीमा यादव नियुक्त भएपछि पहिलो पटक विश्वासको मत लिने क्रममा प्रदेशसभाबाट सर्वसम्मत भएका थिए । संघीय गठबन्धनको संरचनामा परिवर्तन भइ एमाले हटेर कांग्रेस सहभागी भएपछि मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए ।

जनमतले साथ छाडेपछि प्रदेश सभामा मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिन कुनै जोखिम नरहे पनि उनले तत्कालै विश्वासको मत लिएर अगाडि बढ्ने उनी निकट स्रोतले जनाएका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब