प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताएका छन्।
शुक्रवार भारत भ्रमणसम्बन्धी प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गर्दै उनले भारतीयहरुले नेपाललाई हेर्ने दृष्टिकोण फेरिएको दावीसमेत गरे।
भारतीय सांसदहरुले भेटमा नेपालको समृद्धि आफूहरुको चाहना रहेको बताएको पनि सभापति यादवको भनाई थियो। उनले आफूहरुले पनि भारतीय नेता तथा सांसदहरुसँग नेपालको शिर उँचो हुनेगरी प्रस्तुति दिएको दावी पनि गरे।
‘भारतको अर्थतन्त्र तीव्र गतिमा वृद्धि भएको छ‚ जसमा नेपालीहरुको पनि भूमिका छ। त्यसैले तिमीहरुको यो विकासबाट नेपालीले पनि लाभ पाउनुपर्छ भन्ने मान्यता हामीले स्थापित गर्यौँ‚’ उनले भने, ‘त्यहाँ हामीले नेपालको नाक उँचो राख्नेगरी प्रस्तुति गर्यौँ र भारत अब दुनियाँलाई लिड गर्छौं भन्ने मनोविज्ञानबाट अघि बढेको छ र त्यसका लागि नेपालसँग एकदम सुमधुर सम्बन्ध, नेपालका सार्वभौमिकतालाई सम्मान गर्दै अब यो सानोतिनो कुरामा अल्झिन चाहेको छैन।’
सभापति यादवले भारतले अर्थतन्त्रमा विश्वलाई नै नेतृत्व गर्ने लक्ष्य लिएको र त्यसका लागि भारतीय सरकार र त्यहाँका सांसदहरुले नेपालसँग अझै बलियो सम्बन्ध बनाएर जान चाहेको पनि आफूहरुसँगको छलफलमा बताएको उल्लेख गरे।
उनकाअनुसार भारतीय नेता र सांसदहरुले नेपाल एउटा इमान्दार मित्र भएकाले पनि सम्बन्धमा गाढापन ल्याउनुपर्ने बताएका थिए।
‘भारतले नेपालको समृद्धि‚ हित चाहेको छ। कहीँ केही छ भने हाम्रो इन्गेजमेण्ट बढाऔँ र संवादको माध्यमबाट समाधान गरौँ। हामी तपाईंहरुले लगाएको गुनको उच्च मूल्यांकन गर्छौं भन्ने उनीहरुको प्रस्तुति रह्यो‚’ उनले भने‚ ‘उनीहरु एक स्वरले नेपाललाई हामी धेरै माया गर्छौं‚ राम्रो सम्बन्ध बनाएर जान चाहन्छौँ। त्यहाँका सांसदहरुले यतिसम्म भने कि नेपाल भनेको हाम्रो इमान्दार साझेदार हो। हामी त्यहीअनुसार अघि बढ्न चाहन्छौँ।’
सभापति यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो।
भ्रमणका क्रममा सो टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसदअन्तर्गतको विदेश मामिलासम्बन्धी संसदीय समितिका सांसदलगायतसँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved