सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना घाइते

  • फागुन १९, २०८० | ४७७ पटक पढिएको | सीमा संदेश
alt

सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले झापामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । मेचीनगर– ७ स्थित नेपाल–भारत सीमानजिकको गैरीगाउँमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुुँदा घटना भएको हो । विवाद हुँदा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् । विवाद भएको स्थान नेपाल–भारत सीमाबाट करिब दुई सय मिटरनजिक पर्छ । 

सतीघट्टास्थित प्रस्तावित बिओपीका सशस्त्र प्रहरीले हानेको खुकुरीबाट ६ जना घाइते भएको हरि बाँतरले बताए । उनका अनुसार घाइते हुनेमा दीपा बाँतर, हरि बाँतर, विशेष राजवंशी, मिलन चापागाईं, आनह यादव र दीपक बाँतर छन् । घाइतेलाई उपचारका लागि अस्पताल लैजान समन्वय गरेका पत्रकारसमेत रहेका स्थानीय मुक्ति पौडेलले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताए । 

उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको थियो । मनमोहन अस्पतालमा उपचार सम्भव नभएपछि बिएन्डसी अस्पताल लगिएको पौडेलले जानकारी दिए । ‘हाम्री एक बहिनीलाई सशस्त्र प्रहरीले भाटैभाटाले हानेछ । कसले कुट्यो भन्दा सशस्त्रले भनिन्,’ हरि बाँतरले भने, ‘किन कुटेको भनेर सशस्त्रलाई सोध्दा तँ भाग अहिले कति बज्यो, घरभित्र छिर भनेर गाडी रोकेर खुकुरी झिकेर हान्न थाल्यो । जो आउँछ त्यसैलाई मार्छु भन्न थाल्यो ।’ स्थानीय आनन्द यादवले सशस्त्र प्रहरीले गोली हान्ने धम्की दिँदै स्थानीयमाथि हातपात गरेको बताए । 

स्थानीयसँगको झडपमा सशस्त्र प्रहरीतर्फका पनि केही घाइते भएको सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राईले बताए । उनले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि हुलहुज्जत गर्दा घटना भएको दाबी गरे । 

सशस्त्र प्रहरी र स्थानीयबीच तस्करीको सामानको विषयमा विवाद भएको हो  । स्थानीय एक महिलाले भारतबाट अवैध रूपमा कपडा ल्याएपछि सतीघट्टास्थित प्रस्तावित बिओपीबाट खटिएको प्रहरी टोलीले रोकेको थियो । ‘चार–पाँच बोरा कपडा ल्याएको सूचना प्राप्त भयो । ड्युटीमा खटिएको टोलीले चोरीपैठारीको सामान रोक्यो । गाडीमा हालेर सामान ल्याउँदै गर्दा तस्करहरूले गाडी घेरेछन्,’ सशस्त्र प्रहरी नम्बर १ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले भने, ‘गाडीमा ढुंगा पनि हानेछन् । गाडीमा क्षति पनि भएको छ । केही सशस्त्र प्रहरी पनि घाइते छन् । सामान पनि खोसेर लगेछन् ।’ 

यद्यपि, सशस्त्र प्रहरीले खुकुरी प्रहार नगरेको डिआइजी पोखरेलले दाबी गरे । ‘तस्करहरूले फन्डा बनाएका हुन् । उनीहरू आफैँ पनि चोटपटक लगाउने काम गर्छन् । तर, हामी बुझ्दै छौँ,’ उनले भने, ‘हाम्रो टोलीले खुकुरी नै बोक्दैन । कि त हतियार बोक्छ, कित लाठी बोक्छ ।’ यद्यपि, नयाँ पत्रिकालाई प्राप्त भएको भिडियोअनुसार घटनास्थलमा स्थानीयहरू रगताम्य देखिन्छन् । पूर्वी नाकामा सशस्त्र प्रहरी पटकपटक विवादमा आउने गरेको छ । गत जेठमा सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई नेतृत्वको टोलीले मेचीनगरस्थित सीमानाकामा खटिएका आफ्नै प्रहरी कर्मचारीमाथि कुटपिट गरेको थियो । जसका कारण सशस्त्र प्रहरी निरीक्षक राई निलम्बनमा समेत परेका थिए ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब