बजेटमा कमला पुललाई समेट्न माग गर्दै सिरहामा स्थानीय आन्दोलित

  • जेठ १५, २०८१ | ३४६ पटक पढिएको | सीमा संदेश
alt

हुलाकी लोकमार्ग अन्तर्गत १३ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण गर्न आगामी बजेटमा बजेट सुनिश्चितताको माग गर्दै सिरहाका स्थानीय आन्दोलित भएका छन् ।

पुल निर्माण सङ्घर्ष समिति गठन गरी तीन दिनदेखि स्थानीयवासी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । स्थानीयवासीले गत शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । आइतबार विरोधस्वरुप बजार बन्द गराए ।

आइतबार सिरहा सदरमुकाममा बिहान ८ देखि ११ बजेसम्म चक्काजाम र त्यसपछि सम्पूर्ण सरकारी कार्यालय बन्दको कार्यक्रम गरेको सङ्घर्ष समितिका संयोजक रवीन्द्रकुमार साहले जानकारी दिए । सङ्घर्ष समितिले गत शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको थियो । आव २०८१/८२ को नीति तथा कार्यक्रममा कमला पुल प्राथमिकतामा नपरेकाले जेठ १५ मा सार्वजनिक हुने बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गरी बजेट विनियोजन गर्न दबाबस्वरुप आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक साहले बताए । “वर्षौँदेखि पुल नबन्दा यहाँका जनताको दुःख र पीडा असह्य भएको छ।

हामीले सास्ती खेप्न नसकेर पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुन्दैन,” साहले भने, “प्रधानमन्त्रीको पूर्व प्रतिबद्धता अनुसार यसपालि बजेटमा कमला पुल निर्माणको सुनिश्चितता हुनुपर्छ । नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ ।” पुल निर्माण गर्न निर्माण कम्पनीले विभिन्न बहाना बनाइ एक वर्षदेखि ढिलासुस्ती गर्दै आएको तथा निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले समयमै पुल बन्ने अवस्था नरहेको उनले जानकारी दिए ।

सम्झौता भएको १२ वर्षपछि निर्माण भएको कमला पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि दुई ठाउँमा भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधाम र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच २०८१ असार मसान्तसम्म पुलको पुनःनिर्माण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले सम्झौता अनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको बताए । बीमा कम्पनीबाट पाउनुपर्ने पाँच करोड बराबरको रकम नपाएको र हाल यस विषयको विवाद काठमाण्डु जिल्ला अदालतमा विचाराधीन भएकाले आर्थिक सङ्कटमा परेको उनले जानकारी दिए ।

पुल निर्माण सुरु भएयता १३ वर्ष बीचमा उच्चस्तरको सरकारी अनुगमन तथा निरीक्षण पटक पटक भए पनि स्रोत अभावका कारण निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन । मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको आयोजनाअन्तर्गत विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी कमला पुलको ठेक्का लागेको थियो ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब