जनप्रतिनिधिले अण्डकोषमा हान्दा पोखराका नगर प्रहरी मरणासन्न

  • कार्तिक २७, २०८१ | ४१२ पटक पढिएको | सीमा संदेश
alt

२७ कात्तिक, पोखरा । पोखरामा एमाले जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा एक नगर प्रहरी मरणासन्न बनेका छन् । महानगरको कार्यपालिका बैठकले गरेको करार कर्मचारी हटाउने निर्णयको विरोधका क्रममा एमाले जनप्रतिनिधिले नगर प्रहरी सन्तबहादुर केसी घाइते भएका हुन् ।

आफूहरुको बहिस्कारका बाबजुद करारका कर्मचारी हटाउने पोखरा महानगरपालिको कार्यपालिका बैठकले निर्णय गरेपछि नेकपा एमालेका जनप्रतिनिधि आन्दोलनरत छन् ।

तिहार बिदा सुरु भइसकेपछि नेपाली कांग्रेसका प्रतिनिधिको दबाबबीच कात्तिक १५ गते २८ जना प्राविधिकलाई हटाउने कार्यपालिकाको निर्णयपछि तिहार बिदा सकिएलगत्तै धर्ना, प्रदर्शनलगायतका आन्दोलन गर्दै आइरहेको छ ।

पोखराका मेयर धनराज आचार्य र उपमेयर मञ्जेदेवी गुरुङसमेत विदेश भ्रमणमा भएका बेला प्रदर्शनका क्रममा एमालेका जनप्रतिनिधिले नगर प्रहरीमाथि रिस पोखेका हुन् । मेयरको कार्यकक्षमा जान रोक्दा नगर प्रहरी केसीको अण्डकोषमा एमाले जनप्रतिनिधिले प्रहार गरेका थिए । उनको सोमबारमात्र शल्यक्रिया भएको छ ।

घाइते सन्तबहादुरले मेयर नै नभएको कार्यकक्षमा छिर्न एमालेका जनप्रतिनिधिले हुलदंगा गरेको र त्यही क्रममा आफूलाई गुप्तांगमा प्रहार भएको बताएका छन् । एकपटक हानेर मुर्छा परिसकेपछि पनि फेरि आएर आफूलाई हानिएको घाइते सन्तबहादुरले बताए ।

एमाले जनप्रतिनिधिले ‘हुलमुलमा केही भएको भए मिलाउन’ भन्दै दबाब दिइरहेका छन् । पोखरा महानगरमा एमाले दलको नेता वडा नम्बर १७ कि अध्यक्ष राधिका शाही योगीले प्रहार नगरिएको बताइन् । मेयर, उपमेयर नभएको, प्रमुख प्रशासकीय अधिकृत, प्रशासकीय अधिकृत पनि नदेखेपछि मेयरको कार्यकक्षमा गएको शाहीको भनाइ छ ।

कार्यवाहक मेयर मोति तिमिल्सिना, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, प्रशासकीय अधिकृत कृष्ण तिवारीलगायत मेयरको कार्यकक्षमा छन् भने थाहा पाएर जाँदा नगर प्रहरीले रोकेको र त्यहीबेला धकेलाधकेलमात्र भएको शाहीको जिकिर छ ।

नेपाली कांग्रेसले मरणासन्न हुने गरी कुटपिट गर्ने जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेको छ । नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराएको बताए ।

कांग्रेसले २५ औं कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गर्दै लोकसेवामार्फत प्राविधिक आएपछि ती पदमा रहेका कर्मचारीलाई हटाउन माग गरेको थियो भने एमाले त्यसको विपक्षमा थियो ।

उपचाररत नगरप्रहरी सन्तलाई भेट्न अस्पताल पुगेका पोखरा महानगरका मेयर धनराज आचार्यले एक जना सामान्य नगर प्रहरीलाई प्रहार गरेर शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा ल्याउनु दुखद् भएको बताए । महानगर प्रमुखको सचिवालय तथा कार्यालय परिसरमा पोशाकमा रहेका नगर प्रहरीहरूमाथि केही जनप्रतिनिधिबाट भएको दुर्व्यवहारप्रति मेयर आचार्यले दुःख व्यक्त गरेका छन् । अति संवेदनशील अंगमा गम्भीर चोट लागेर मरणासन्न अवस्थामा पुर्‍याइएको मेयर आचार्यको भनाइ छ ।

के हो करार कर्मचारी विवाद ?

कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले लोकसेवामार्फत सिफारिस भएर आइसकेका प्राविधिक पदमा कार्यरत २८ जना प्राविधिकलाई कात्तिकसम्मको सेवा सुविधा दिएर बिदाइ गर्ने निर्णय गरेको थियो । ७ जना शिक्षिका र परिचालिकालाई कार्यलय सहयोगीमा काम गर्न दिने नत्र बिदाइ गर्ने कार्यपालिकाको निर्णय थियो ।

एमालेले ती प्राविधिकलाई पुससम्मै सेवा गर्न दिनुपर्ने, काजमा कार्यरत कर्मचारीलाई फिर्ता गर्नुपर्ने, त्यतिन्जेल पोखरा महानगरका कर्मचारीहरुको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्न माग गरेर आन्दोलन गरिरहेको छ । एमाले निकटका कर्मचारी संगठनले पनि विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

२०८० पुस २९ गते बसेको पोखरा महानगरपालिकाको २५ औं कार्यपालिका बैठकले दरबन्दी पूर्तीका लागि लोकसेवासँग सिफारिसका लागि माग गर्ने र करारमा रहेका कर्मचारीको असार मसान्तसम्म ६ महिनाको म्याद थप्ने निर्णय भएको थियो । तर, साउन १ गतेबाट करार कर्मचारीको म्याद सकिए पनि उनीहरुलाई हटाउने कि म्याद थप गर्ने भन्ने विषयमा एमाले–कांग्रेसको फरक मत थियो ।

कांग्रेसले २५ औं कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गर्दै लोकसेवामार्फत प्राविधिक आएपछि ती पदमा रहेका कर्मचारीलाई हटाउन माग गरेको थियो भने एमाले त्यसको विपक्षमा थियो । कांग्रेसले मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने चेतावनी दिएका थिए ।

कांग्रेस–एमाले फरक मतकै कारण गत असोज २२ गते करार कर्मचारकिै विषयमा निर्णय गर्न डाकिएको कार्यपालिका बैठक बस्न सकेन भने मेयर आचार्यले बिहीबार बिहान फेरि बैठक बोलाएका थिए । करार कर्मचारीलगायत विभिन्न विषयमा छलफल गर्न भन्दै मेयर डाकेको बैठकमा एमालेले असहमति जनाउँदै बैठकमै उस्थित भएन ।

कांग्रेसका २१ र स्वतन्त्र एक जना वडाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य हुने भएपछि एमालेबाहेकै बैठक बसेर २८ जना प्राविधिलाई तिहारलगत्तै बिदा गर्ने, ५ जना शिक्षिका र २ ज्न्ँ परिचालिकालाई कार्यालय सहयोगीमा राख्ने निर्णय गरेको हो । उनीहरुले कार्यालय सहयोगी बस्न अस्वीकार गरे बिदाइ गर्ने निर्णय कार्यपालिकाको छ ।

कांग्रेस–एमालेको करार कर्मचारीबारे फरक मत भएपछि मेयरले निर्णय गर्न सकेका थिएनन् । त्यसैले गत असोज २ गते एकै दिन पहिले करारका प्राविधिकलाई हाजिरी नगराउने सूचना प्रकाशित गरेलगत्तै फेरि त्यो सूचना रद्द गरिएको अर्को सूचना प्रकाशित गरिएको छ ।

कार्यालय सहयोगीको पदमा काम गर्न राजी भएमा ०८१ पुससम्म सेवाअवधि थप गर्ने र मञ्जुर नभएमा कात्तिक मसान्तबाटै अवकास दिनेसमेत महानगरले निर्णय गरेको छ ।

बाँकी रहेका अन्य सेवा करार कर्मचारीको भने ०८१ पुससम्म म्याद थप्ने महानगरले निर्णय गरेको छ । प्रदेश लोकसेवामार्फत ३० जना सब इन्जिनियर र ५ जना इन्जिनियर सिफारिस भएर काममा लागिसकेका छन् ।

ती पदमासमेत रहेका २८ जना इन्जिनियरको म्याद कात्तिक मसान्तसम्म थपिएको छ । १० जना इन्जिइन्जिनियर अब महानगरबाट विदाइ हुने भएका छन् भने बाँकी करारका कर्मचारीको म्याद पुस मसान्तसम्म थपिएको छ । लोकसेवा मार्फत कर्मचारी माग गरेर पुसमसान्तबाट अरु करारका कर्मचारीलाई पनि बिस्तारै हटाउँदै जाने मेयर धनराज आचार्यले जानकारी दिए ।

पोखरा महानगरका करारका कर्मचारी नियुक्ति, लतब सुविधा र भत्ताबारे महालेखा परीषकको कार्यालयले पनि प्रश्न उठाउँदै आएको थियो । पोखरा महानगरका ३ सय ६१ जनाको संघीय दरबन्दी छ ।

स्थानीय तहले आन्तरिक स्रोतबाट तलब खुवाउनेसमेत गरेर पोखरा महानगरमा स्वास्थ्यबाहेक ७ सय ४७ कर्मचारी कार्यरत छन् । स्वास्थ्यकासहित गरेर करिब ११ सय कर्मचारी महानगरमा छन् । तीमध्ये प्रशासनतर्फ १६१ र प्राविधिकतर्फ ४० जना करार कर्मचारी छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब