जसपा र एमाले नेताको जुँगाको लडाई ! प्रशासकीय अधिकृतको सरुवा, तोडफोड, नगरसभा अनिश्चित

  • पुस ८, २०८१ | ५४१ पटक पढिएको | सीमा संदेश
alt

पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा सत्ता गठबन्धन जनता समाजवादी पार्टी(जसपा) र नेकपा एमालेका नेताहरुको जुँगाको लडाईले अस्तव्यस्त बनेको छ ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सुरु भएको विवाद चुलिदै गएपछि साधारण सभा समेत अनिश्चित बनेको छ । दलका नेताहरुबीचको विवादमा विद्यार्थी तानिएका छन् ।विद्यालयमा तोडफोड गरिएपछि विवाद झन चर्किएको छ ।मेयर र उपमेयर दुई खेमामा विभाजित छन् ।

वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु समेत गुटमा लागेका छन् । संघीय सरकारमासँगै रहेको एमाले र जसपाका स्थानीय नेताहरुले समान्य विवादलाई प्रतिष्ठाको विषय बनाएका छन् । नगरसभा नहुँदा वैशाखदेखि नै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरुले तलब पाएका छैनन् ।विद्यालयहरुको पठनपाठन प्रभावित भएको छ ।

स्वास्थ्य केन्द्रहरुमा औषधि अभावले सर्वसाधारण समस्यामा परेका छन् । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाको सरुवा गर्न सहमत नभएपछि मेयर सिंहासन साह तेली आक्रोशित बनेका हुन् ।‘पालिकाको कामकाजलाई प्रभावित गर्ने, जनप्रतिनिधिहरुबीच विवाद सृजना गर्ने प्रशासकीय अधिकृतलाई मन्त्री गुप्ताले संरक्षण गरेका छन्’ मेयर तेलीले भने, नगरपालिकामा अनावश्यक विवाद सृजना गर्न एमालेका मन्त्री समेत लागेका छन् । ‘एमालेका नेताहरुको स्थानीय राजनीतिले गर्दा नगरपालिकाको अवस्था गम्भीर भएको हो ’ उनले भने, मन्त्री गुप्ताले प्रशासकीय अधिकृतलाई एमालेकरण गरेर नगरपालिकामा अवरोध सृजना गरेका छन् ।

नगरप्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाको सरुवालाई आफ्नो प्रतिष्ठासित जोडेका छन् ।उनलाई जसपाका मन्त्री प्रदीप यादवको समर्थन प्राप्त छ ।तेली जसपा नेपालबाट निर्वाचित भए पनि पार्टी विभाजनपछि जसपामा गएका हुन् । प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले पर्सा जिल्ला समन्वय समितिको कार्यालयमा समेत प्रमुख रहेकाले नगरपालिकाको विवादमा पर्न चाहेका छैनन् ।तर एमालेका नेताहरुले उनलाई सरुवा हुन रोकेका छन् ।

नगरपालिकाका कर्मचारीहरुले मुस्तफा जान सहमत भए पनि एमालेका नेताहरुले सरुवा रोकाएको बताएका छन् ।उनी जिल्ला समन्वय समितिमा नै कामकाज गर्न तयार रहेको उनीहरुले बताए । तर एमालेका नेताहरुले उनलाई सरुवा हुन नदिने र मेयरले सरुवा नभए सम्म कामकाज गर्न नदिने अडानमा कायम छन् ।

मेयरले मुस्तफाको सरुवालाई सहमतिको ‘बटमलाईन’ बनाएका छन् । स्रोतहरुका अनुसार मेयरको चाहना अनुसार कर्मचारी भर्नामा मुस्तफाले सहमति नजनाएको कारण आक्रोश बढेको हो । नगरपालिकाले निकालेको विज्ञापनमा कर्मचारी भर्नाका लागि छनोट हँुदै गर्दा नगर प्रमुख तेलीले सूचना निकालेर भर्ना रोक्न निर्देशनदिएका थिए ।

मेयरको सहमति बेगर स्वास्थ्य शाखामा कर्मचारी भर्ना गर्न खोजिएको कारण कर्मचारी भर्ना प्रकृयालाई नै तेलीले रद्द गरिदिए । वडाअध्यक्षहरुलाई समेत बजेटको सिलिङमा मेयरले अंकुश लगाउने प्रयास गरेको आरोप छ । बजेटको सिलिंगमा वडाअध्यक्षहरु असन्तुष्ट हुँदा मेयर तेलीलाई नगरसभा गर्न असहज भएकोछ ।

वडा अध्यक्षहरुको बजेट सिलिंगमा अंकुश लगाएर एकीकृत बजेट सञ्चालन गर्ने मेयरको स्वार्थ विरुद्ध उपमेयर समेत लागेका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयमा वडाअध्यक्षहरुले नगर प्रमुख तेलीको साथ छाडेका छन् । नगर प्रमुख तेलीको गलत गतिविधिले नै बहुदरमाई नगरपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । बजेट सञ्चालनको अख्तियारी नपाउँदा वडा कार्यालयहरु समेत बन्द गर्नुपर्ने अवस्था सृजना भएको अध्यक्षहरुले जनाएका छन् ।

सेवाग्राहीको काम गर्न वडाहरुमा प्रिन्टकालागि कागज अभाव, स्वास्थ्य चौकीहरुमा औषधि अभाव, सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको पठनपाठन नियमित नहुने जस्ता समस्याहरु एक पछि अर्को थपिदै गएकोछ । तर, नगर प्रमुख तेली भने अझैपनि प्रमुख प्रशासकीय अधिकृतको सरुवाभन्दा एक इञ्च तलमाथि हुन चाहेका छैनन् । उनी भन्छन्, ‘सरुवाका लागि सामान्य प्रशासन मन्त्री गुप्तालाई आग्रह गरेको छु । बहुदरमाई नगरपालिकाको झगडा, मेयर भर्सेस उपमेयर र वडाअध्यक्षहरुको बन्दै गएको छ ।आफु तटस्थ बस्दा पनि आफूलाई विवादमा पारेको प्रमुख प्रशासकीय अधिकृत मुस्तफा बताउँछन् ।‘विवाद समाधानका लागि मंसिर २५ गते पर्साका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितिको बैठक बोलाउदा पनि समाधान निस्केन ’ मुस्तफाले भने, महिनौ देखि नगरपालिका कार्यालयका अधिकांश शाखाहरुमा ताला झुन्डिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको कोठा पहिले खुला रहने गरेकोमा अनावश्यक व्यक्तिहरु प्रवेश गर्न थालेपछि ताल्चा लगाउन थालिएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब