भण्डारीको भाकलमा ठाकुर ! फरार रहेका लोसपाका नेताहरुसित ठाकुर र सिंहको भारतमा भेंट

  • पुस १६, २०८१ | ४६० पटक पढिएको | सीमा संदेश
alt

सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर, संघीय श्रम तथा रोजगार मन्त्रीसमेत रहेका वरिष्ठ नेता शरतसिंह भण्डारी, कोषाध्यक्ष निर्जला राउत लगायतले सोमबार भारतीय भूमिमा पार्टीका फरार नेताहरुसित भेट गरेका छन् ।

सशस्त्र प्रहरीका असइ थमन विकको हत्यामा सजाय पाएर फरार रहेका लोसपा नेपाल मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्मा, पूर्वमेयर रामाशंकर मिश्र, धर्वेन्द्र राय र सुरेश पाण्डेलाई भेट्न नेताहरुले मटिहानी मधवापुर हुँदै गएका थिए । अध्यक्ष ठाकुर र मन्त्री भण्डारीसहितको दलबललाई मधवापुर थानाका प्रहरीले स्कटिंग गरेका थिए ।

सभासद अभिराम शर्मा, पूर्वमेयर रामाशंकर मिश्र, धर्वेन्द्र राय र सुरेश पाण्डेलगायत लोसपाका केही नेताहरु सशस्त्र प्रहरीका सई विकको हत्या अभियोगमा आजीवन कारावासको सजाय पाएका हुन् । पक्राउ पुर्जी जारी भएदेखि उनीहरु सीमावर्ती भारतीय भूमिमा बस्दै आएका छन् । संघीय र प्रदेश सरकारमा रहेको लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता भण्डारीमाथि उनीहरुको सजाय माफ गराउन चर्को दबाब छ । संगठनात्मक रुपमा निकै कमजोर भइसकेको लोसपाका नेतामाथि फरार रहेका नेताहरुको तीव्र भेटघाटको साइत जुराएको स्रोतले जनाएका छन् ।

अध्यक्ष ठाकुर निर्वाचित भएको क्षेत्रकै प्रदेश सभासदस्य अभिराम शर्मा हुन् । उनी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् । मिश्र, राय र पाण्डे पनि सोही क्षेत्रका रहेकाले सजाय माफीमा सहयोग नगरे आगामी दिनमा परिणाम घातक हुने धम्की समेत दिएको बताइन्छ ।

अध्यक्ष ठाकुर र भण्डारीसँगै सीमावर्ती क्षेत्र भारत गएका मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले मन्त्री भण्डारीले भाकल गरेकाले दुर्गास्थान र कल्याणेश्वर महादेव स्थानको दर्शन गर्न गएको बताए । ‘मन्त्री भण्डारीज्यूको भाकल थियो, त्यसक्रममा नै हामी गएका थियौं’ मेयर मण्डलले भने, भारतमा कुनै राजनीतिक गतिबिधिमा सहभागि भएको होइन । तर भण्डारीको भाकलमा अध्यक्ष ठाकुर जानु राजनीतिक वृत्तमा हजम भइरहेको छैन ।

मन्त्री भण्डारीले भाकल गरे अनुसार समय मिलाएर दुर्गास्थान र कल्याणेश्वर महादेवको दर्शन पुजा गर्नु त ठिक हो एकजना नेताले भने, ‘तर पार्टीका अध्यक्ष ठाकुर त्यहाँ जानु अपच नै भएको छ ।’ तर मेयर मण्डलले निजी धार्मिक कार्यक्रमका लागि सीमा नजिकैको धार्मिक स्थलमा गए पनि भारतीय सुरक्षाअधिकारीहरुलाई जानकारी गराइएको बताए ।

संघीय सरकारले विप्लब र सीके राउतको कार्यकर्ताहरुमाथि लागेको विभिन्न मुद्दा फिर्ता लिन मिल्ने भइसके पनि अब मुद्दा फिर्ता नहुने संकेत गरिसकेको छ । यद्यपि ठाकुर र भण्डारीले चाँडै मुद्दा फिर्ता हुने विश्वास भगौडा नेताहरुलाई दिलाएको बताइएको छ । असई विक हत्या अभियोगमा लोसपाका नेता एवं पूर्व सभासद कोशल यादव जेलमा छन् । अन्य केही नेताहरु फरार रहेका छन् ।

नेपाल र भारतबीचको सवारी साधन आवागमन नाकामा मटिहानी पर्दैन । अध्यक्ष ठाकुर, मन्त्री भण्डारी, कोषाध्यक्ष राउत र मेयर मण्डल समेतले तीनवटा भारतीय नम्बरको गाडी मधवापुरमा गरेर त्यस तर्फ गएका थिए । नेपालका विशिष्ट व्यक्तिहरुको टोली धार्मिक कार्यका लागि नै गए पनि धनुषाको जटही अथवा महोत्तरीको भिठ्ठामोडको वैध नाका प्रयोग गर्नुपर्ने थियो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले मन्त्रीजी, लोसपाका अध्यक्ष ठाकुरजी लगायतका केही नेताहरु धार्मिक दर्शनका लागि बिहान करिब ११ बजे भारतको मधवापुर तर्फ गएको बताए । ‘उहाँहरु भारतबाट दिउँसो ३ बजेतिर स्वदेश फर्किसक्नु भएको छ ’ उनले भने, आफूलाई त्यतिमात्र जानकारी आएको छ ।

शर्मा फरार रहेकै अवस्थामा गत वर्ष भारतको सुरसण्डको एउटा विद्यालयमा मधेश प्रदेशका सभासदहरुको अत्यन्त गोप्य बैठक गरी तत्कालीन जनता समाजवादी पार्टी(जसपा)नेपालका मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत लिने बेला अनुपस्थित रहने निर्णय गरिएको थियो । निलम्बित सभासद शर्मा लोसपा संसदीय दलका अझै पनि नेता छन् ।

तर दलको नेताको भूमिका उपनेता उपेन्द्र महतोले निर्वाह गरिरहेका छन् । लोसपामा सभासद शर्माको प्रभाव अध्यक्ष ठाकुरको कारण बढिरहेको छ । लोसपा नेपाल उच्च स्रोतहरुका अनुसार आगामी चुनावमा ठाकुरले त्यस क्षेत्रबाट एकमात्र छोरीलाई प्रतिनिधि सभामा उठाउने तयारी गरेका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब