लहान नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ७५ लाख ५३ हजार रुपैयाँ खाना तथा खाजामा खर्च भएको छ । जसमध्ये ३ करोड ६० लाख ५३ हजार रकम भुक्तानी दिइ सकिएको छ भने १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
महालेखा परीक्षकको प्रतिवेदन २०८१ को १७ नं. बुँदामा उल्लेख भए अनुसार लहान नगरपालिकाले ३ करोड ६० लाख ५३ हजार खाना तथा खाजामा भुक्तानी गरेको र त्यसको सपोर्टिङ्ग हाजिरी , अर्डर स्लिप , प्रयोजन समेत उल्लेख गरिएको छैन । महालेखा परीक्षणको प्रतिवेदनमा यस रकमलाई सैद्धान्तिक वेरुजु ठहर गरिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नीयम ३९ (१०) अनुसार जिम्मेवार व्यक्तिले सरकारी खर्च लेख्नु अघि त्यस्तो खर्च गर्न वा भुक्तानी दिन आवश्यक वील भरपाई वा कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार रीत पुगे वा नपुगेका जाँच गर्नु पर्ने व्यवस्था छ ।
महालेखा प्रतिवेदनमा भनिएको छ – पालिकाले यस वर्ष विविध खर्चमा ३ करोड ६० लाख ५३ हजार खाजा तथा खानामा खर्च देखाएको छ । यसरी लेखेको खर्च मध्ये कतिपय कार्यालयको माग अनुसार खाना तथा खाजा उपलब्ध गराएको भनेर वील मात्र संलग्न राखी भुक्तानी दिएको देखिन्छ । स्पष्ट प्रयोजन समेत नखुलाई कार्यालयको माग अनुसार खाजा खाना भनी खर्च लेख्दा बजेट दुरुपयोग हुन सक्ने देखिन्छ । स्पष्ट प्रयोजन तथा कार्यक्रम खुलाई मात्र विविध खर्चबाट खर्च लेख्नुपर्छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा उदाहरण स्वरुप भौचर नं २४५, १४६, ३९६, १३९५, १८४८, १९४१, १९४२,१९४३ र १९४४ बाट आर्किड क्याफे लहान, कान्छा होटल लहान, माखन भोग लहान , कामना जेनरल स्टोर र होटल गोधूलीको नाममा भुक्तानी दिइएको उल्लेख गरिएको छ ।
अत्यन्त अस्वभाविक र ठूलो रकम विविध खर्चको नाममा औचित्य पुष्टि नगरी खर्च गरिएको र महालेखा परीक्षकको प्रतिवेदनमै उल्लेख भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसलाई स्वतः जानकारीमा लिएको छ । अख्तियार सुत्रका अनुसार खाजा र खानामा यति धेरै रकम नेपालको कुनै पालिकामा खर्च भएको छैन । लहान नगरपालिकाले खाजा र खानामा सर्वाधिक खर्च गरेको रेकर्ड कायम गरेको छ । औचित्य र आवश्यकता पुष्टि नगरी सपोर्टिङ्ग कागजात समेत नराखी खर्च गरिएको प्रति आयोगको ध्यानाकृष्ट भएको एक अधिकारीले बताए ।
लहान नगरपालिकामा खाना र खाजाको नाममा ठूलो रकम भ्रष्टाचार भएको भन्दै स्थानीयहरुले उजुरी पनि दिएका छन् । नाम उल्लेख नगर्ने शर्तमा उजुरीकर्ताले भने – अख्तियारका एक अनुसन्धान अधिकारीले हाम्रो रडारमा लहानको खाजा र खाना खर्च देखिएको छ । यसमा मिहिन अनुसन्धान भइरहेको भन्दै पर्खिन भन्नुभयो ।
लहान नगरपालिकाले खाजा तथा खानामा खर्च गरेको रकमको विश्लेषण गर्दा ३६० दिनको एक वर्ष मान्दा दैनिक १ लाख ५ हजारकोे खाजा र खाना खर्च भएको देखिन्छ । जवकी एक सय दिन जति कार्यालय बिदा नै रहन्छ । त्यसमाथि महालेखाको प्रतिवेदनमा औंल्याइए अनुसार खाजा तथा खाना कुन कार्यक्रममा प्रदान गरिएको हो ,त्यो कार्यक्रम वा कार्यालयलाई त्यसरी खाजा वा खाना प्रदान गर्न कानूनले मिल्ने थियो कि थिएन र को को कति जना उपस्थित थिए त्यसको हाजिरी आदि केही नखुलाई भुक्तानी दिइएको छ । औचित्य , आवश्यकता र वास्तविकता नै पुष्टि नहुने गरी अन्धाधुन्ध भुक्तानी दिइएको छ ।
नेपाली कांग्रेसकै युवा नेता अजय चौधरी भन्छन् पौने चार करोड खाजा र खानामा खर्च हुनै सक्दैन । यो रकमको ठूलो भाग मेयरका आसेपासेहरुका लागि प्राय दिनहु गरिने रक्सी र मासुको पार्टीको खर्च हो । ५० प्रतिशत कमिशनमा होटलहरुले वील बनाउँछन् । यस्तो खुलमखुला भ्रष्टाचारमा पनि अख्तियारले अनुसन्धान र कारवाही नगर्ने हो भने अख्तियार प्रति जनताको भरोसा र विश्वास टुट्छ । उनले भने यस घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिनु पर्छ । उनले सिरहाको मिडिया म्यानेज गर्न पनि मेयर महेश चौधरीले रक्सी र मासुको हरेक दिन उत्सव गरेका छन् । उनले कटाक्ष पोख्दै भने त्यसकारण भ्रष्टाचार लुकाइन्छ र मिडियामा स्तुतिगान मात्र गरिन्छ ।
नेकपा एमालेका नेता तथा लहान नगर अध्यक्ष राजकुमार साह भन्नुहुन्छ पौने चार करोड रकम खाजा र खानाको नाममा अपचलन गरिएको छ । हामीले ज्ञापन पत्र पनि बुझाए छौं । अनावश्यक खर्च कटौती र मितव्ययिता अपनाउने सन्दर्भमा भएको सहमति पनि कार्यान्वयन भएको छैन । अब हामी अख्तियार प्रति आशावादी छौं । हेरौं के हुन्छ ?
त्यसैगरी नेकपा माओवादी केन्दका नगर अध्यक्ष हेमन्त यादव भन्छन् लहानमा प्रहरी प्रशासन हातमा लिएर मेयर चौधरीले सरकारी बजेट दुरुपयोग गरिरहेका छन् । पौने चार करोडको नास्ता खाजा नेपालको कुनै पालिकामा खर्च गरिएको छैन । सिरहाकै अन्य पालिकामा हेर्ने हो भने यो खर्च २० लाख भन्दा कम छ । यहाँ त ब्रह्मलुट छ ।
यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई सोध्दा उनले सुरुमा भने हैन हैन , गलत कुरा हो । त्यस्तो भएकै छैन । त्यति खर्च भएकै छैन । महालेखाको प्रतिवेदन मै उल्लेख छ नी भनेर दोश्रो प्रश्न तेस्र्याएपछि उनले भने भए पनि मेरो पालामा होइन । पहिलेको कुराको म जिम्मेवार छैन ।
यस प्रसङ्गमा मेयर महेश चौधरीलाई सोधनी गर्दा उनले भने अर्जुन जी तपाई त पुरानो पत्रकार । हल्लाको पछि लाग्ने ? महालेखाको प्रतिवेदनमा त्यस्तो कुरा उल्लेख भएकै छैन । मेयर चौधरीले चुनौती दिंदै भने लौ त छ भने त्यो पाना पोष्ट गरेर देखाउनुस् त ! त्यति रकम खर्च भएकै छैन । मात्र १५ लाख खर्च भएको छ त्यो रकम ३ वटा होटललाई तिर्न बाँकी छ । अल्या भएर आएको छ । यस वर्ष तिरिन्छ ।


मेयर चौधरीले चुनौती दिएपछि प्रमाणका लागि हामीले महालेखा परीक्षको प्रतिवेदनको पाना यहाँ पोष्ट गरिदिएका छौं ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved