दिल्ली विधान सभा निर्वाचन
चौथो कार्यकाल सरकार बनाउने दाबीसहित मैदानमा उत्रेको आम आदमी पार्टी (आप)लाई दिल्ली विधान सभा निर्वाचनमा ठूलो झड्का लागेको छ । ७० सिटको विधान सभामा ४८ सिटमा विजयी हासिल गरेसँगै भारतीय जनता पार्टी (भाजपा)लाई पूर्ण बहुमतसहित दिल्लीमा २७ वर्षपछि सरकारमा फर्कने ढोका खुलेको छ ।
कुल ७० सिटमध्ये ४८ सिट भाजपाको कोटामा जाँदा आपले जम्मा २२ सिट जितेको छ । जबकि भारतीय राष्ट्रिय कंग्रेसले एक सिट पनि जित्न सकेन । प्रमुख नेताहरूले समेत चुनाव हारेपछि दिल्ली र पन्जाबमा बलियो उपस्थिति रहेको आपको भविष्यलाई लिएर राजनीति वृत्तमा मन्थन सुरु भएको छ । चुनावमा कंग्रेसका ६८ र आपका २० उम्मेदवारको जमानत जफत भएको छ ।
सन् १९९३ मा भाजपाले अत्यधिक बहुमत हासिल गरेर पाँच वर्ष सरकार सञ्चालन गरेको २७ वर्षपछि पुनः दिल्लीमा सरकार बनाउँदै छ । मुख्यमन्त्री कसलाई बनाउने भन्नेबारे भाजपा हाई कमान्डले निर्णय लिनेछ । यसबिचमा कंग्रेसले १५ र आपले १२ वर्ष दिल्लीमा सरकार सञ्चालन गरेका थिए । २०२० को निर्वाचनमा भाजपाले जम्मा आठ सिट जितेको थियो ।
निर्वाचनमा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरिवालसहित आपका प्रमुख नेताहरू मनीष सिसोदिया, सत्येन्द्र जैन, सोमनाथ भारती, सौरभ भारद्वाज र अबध ओझालगायत पराजित भएका छन् । सुशासनको नारा लिएर राजनीतिमा स्थापित भएका पूर्वमुख्यमन्त्री केजरिवाल यसपटक भाजपाका उम्मेदवार प्रवेश बर्माबाट पराजित भए । केजरिवाल चार हजार ८९ मतले हारेका छन् । भाजपाका बर्माले ३० हजार ८८ मत पाए भने केजरिवालले २५ हजार ९९९ मत पाएका छन् । प्रवेश भाजपाका पूर्वमुख्यमन्त्री साहिबसिंह बर्माका पुत्र हुन् ।
सन् १९९३ मा भाजपाले ४९ सिट जितेर सरकार बनाएको थियो । त्यसवेला पाँच वर्षको बिचमा भाजपाबाट तीनजना नेता मदनलाल खुराना, साहिबसिंह बर्मा र सुष्मा स्वराज मुख्यमन्त्री भएका थिए । निर्वाचनमा यसपटक खुरानापुत्र हरीश र बर्मापुत्र प्रवेशले निर्वाचन जिते । बर्मा दिल्लीको मुख्यमन्त्रीका रूपमा दाबेदार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केजरिवालविरुद्ध भ्रष्टाचारको मुद्दा छ । केजरिवाल करिब ६ महिना जेलमा थिए । आपको हारको एउटा ठुलो कारण उसका सबैभन्दा ठुला नेतामाथि मदिरा घोटलामा संलग्न भएको आरोपलाई मानिएको छ । मुख्यमन्त्री रहँदा केजरिवालले आफ्नो सरकारी निवासमा गरेका परिवर्तनलाई भाजपाले ठुलो चुनावी मुद्दा बनाएको थियो । यसलाई पनि चुनावी हारको कारणमध्ये एक मानिएको छ ।
उनले गत सेप्टेम्बरमा राजीनामा दिएपछि मुख्यमन्त्री भएकी आपनेतृ आतिशी भने विजयी भएकी छिन् । उनले जम्मा ९८९ मतले जितेकी छिन् ।
देशको राजधानी दिल्ली विधान सभामा यसपटक भाजपाले निकै मिहिनेत गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा र गृहमन्त्री अमित साहले दिल्ली विधान सभा निर्वाचनमा गरेको मिहिनेतको प्रतिफल प्राप्त भएको भाजपा नेताहरूले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
मोदीले भाजपा मुख्यालयमा शनिबार साँझ कार्यकर्तालाई सम्बोधन गर्दै जनताले ऐतिहासिक फैसला गरेको भन्दै उनीहरूले भाजपालाई लगाएको ऋणको चुक्ता विकासबाट दिने प्रतिबद्धता जनाए । उनले एक दशकको आपदा (संकट)बाट दिल्ली मुक्त भएको पनि बताए ।
भाजपा नेता एवं गृहमन्त्री अमित साहले ‘दिल्लीको दिलमा मोदी’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले झुट, धोका र भ्रष्टाचारको सिसमहल भत्काएर दिल्लीको संकट मुक्त गरेका छन् ।’ उनले आम आदमी पार्टीलाई संकटका रूपमा प्रस्तुत गरेका छन् ।
दिल्लीका मुख्यमन्त्री आतिशीले निर्वाचन परिणाम स्वीकार गर्ने बताइन् । ‘दिल्लीका जनताको आदेश हामीलाई स्वीकार छ,’ उनले भनिन् । दिल्लीका पूर्वमुख्यमन्त्री केजरिवालले भने, ‘विनम्रतासाथ म जनताको निर्णय स्वीकार गर्छु । भाजपालाई धेरै–धेरै बधाई छ, जुन आशा र अपेक्षाका साथ जनताले बहुमत दिएका छन्, त्यो पूरा होस् भन्ने शुभकामना छ ।’
कंग्रेस नेतृ प्रियंका गान्धीले परिवर्तनका लागि जनताले भोट दिएको प्रतिक्रिया दिएकी छिन् । ‘जनताले परिवर्तनका लागि भोट दिएका हुन् । यसलाई जनताले परिवर्तन चाहेको अर्थमा बुझ्नुपर्छ ।’
कुनै समय भ्रष्टाचारविरोधी आन्दोलनमा केजरिवाललाई साथ दिएका सामाजिक अभियन्ता अन्ना हजारेले प्रतिक्रिया दिएका छन्, ‘केजरिवाल र आम आदमी पार्टीलाई मदिराले चुनाव हराएको हो ।’
मोदीको तेस्रो कार्यकालमा आठ राज्यमा भएको निर्वाचनमा ६ राज्य भाजपासहितका नेसनल डेमोक्रेटिक अलाइन्स (एनडिए)ले जितेको छ । दिल्लीसँगै अब भाजपाको एकल सरकार भएका राज्यहरूको संख्या १४ भएको छ ।
दिल्लीमा आम आदमी पार्टी हारका पाँच कारण
टिप्पणी : आशुतोष

दिल्ली विधान सभा चुनावको नतिजा आम आदमी पार्टी (आप) र अरविन्द केजरिवाल दुवैका लागि स्तब्ध पार्ने खालको छ । तर, हारको जिम्मेवारी उनीहरूले स्विकार्नुपर्छ र भविष्यमा आफ्ना गल्तीलाई सुधार्नमा केन्द्रित हुनुपर्छ । दिल्ली विधान सभा चुनावमा आपको हार के यस पार्टीको अवसानको प्रस्थान विन्दु हो ? अहिले नै यस्तो निष्कर्षमा पुग्नु हतार हुन सक्छ । नतिजा आउनुभन्दा अघि नै माहोल भाजपाको जितका लागि उपयुक्त रहेको भनेको थिएँ । देश बदल्ने वाचा गरेर आएका केजरिवाललाई उल्टै राजनीतिले बदलिदियो । १२ वर्षको सत्तायात्राले उनीलाई पनि नैतिक चमक गुमाएका अरूजस्तै राजनीतिज्ञमा परिणत गरिदियो । आफ्नो सिटसमेत जोगाउन नसक्नुभन्दा ठूलो दुःख उनका लागि के होला ? यो हार ती तमाम राजनीतिज्ञका लागि पाठ पनि हो, जो आफूलाई पार्टी र जनताको सामूहिक बुद्धिभन्दा ठुलो ठान्छन् ।
१. नयाँ रहने आप
आपको सबैभन्दा ठुलो कमजोरी मतदाताका लागि अब यो फरक पार्टी रहेन । आपसँग विगतमा ‘परिवर्तन चाहने नयाँ पार्टी’ भन्ने विशिष्ट नैतिक पुँजी थियो । भारतको समकालीन राजनीतिमा थोरै पार्टीले मात्र यस्तो दाबी गर्न सक्थे । तर, समयसँगै आपले आफ्नो प्रमुख मूल्य त्याग्यो, पार्टीका सबैभन्दा इमानदार समर्थकले पार्टी र नेताप्रति विश्वास गुमाएपछि यो कमजोर बनेको थियो । सन् १९८४ मा भाजपाले पनि यस्तै स्थिति भोगेको थियो, जब उसले लोकसभा चुनाव (देशव्यापी संसदीय चुनाव)मा केवल दुई सिट मात्र जितेको थियो । हुन त आप वैचारिक पार्टी होइन, तर यसको एक निश्चित नैतिक सद्गुण र उत्तरदायित्व थियो । यही नैतिक छविका कारण सन् २०१५ र सन् २०२० को दिल्ली विधान सभा चुनाव उसले भारी बहुमतले जित्न सकेको थियो ।
२. नेताहरूमाथि आरोपपछि नैतिकताको प्रश्न
आपको हारको दोस्रो कारण यसका नेतामाथि लागेका गम्भीर भ्रष्टाचारको आरोप रह्यो । यी आरोपले केजरिवालको छवि धमिल्यायो । मदिरा लाइसेन्स जारी गर्दा घुस लिएको प्रकरण पार्टीको घाँटी समात्ने गँगटो साबित भयो । यस प्रकरणमा केजरिवालका सहकर्मी मनीष सिसोदिया, सञ्जय सिंहलगायत लामो समय जेल परे । ‘सिसमहल’ विवाद उनको प्रतिष्ठामाथिको अन्तिम धक्का साबित भयो । विगतमा अरू नेताहरूको सम्पत्ति र विशाल बंगलाको आलोचना गरेर नथाक्ने केजरिवालले आफू बस्ने आवासमा करोडौँ खर्च गरेको तथ्यले धेरै मतदातालाई बिच्कायो । राष्ट्रिय राजधानीमा आपको उदयको सबैभन्दा ठूलो स्तम्भ मध्यम वर्ग थियो । यस वर्गको आपप्रति मोहभंग हुँदै गयो । पछिल्लो घटनाले तिनलाई पार्टी त्याग्न सहज बनाइदियो ।
३. नीतिगत पक्षाघात
सन् २०२० देखि २०२५ सम्मबिचको तेस्रो कार्यकालमा आप सरकारको असफलताले यसको पतनमा योगदान पुर्यायो । सन् २०१५ देखि २०२० बिचको पहिलो पूर्ण कार्यकालमा आप सरकारले आफ्ना प्रतिज्ञा पूरा गरेको देखिएको थियो । निःशुल्क बिजुली र पानी चुनावी वाचा तत्काल कार्यान्वयन गरिएको थियो । त्यस अवधिमा दिल्लीका सरकारी विद्यालयमा देखिएको सुधारको विश्वभर प्रशंसा भयो । ‘मोहल्ला क्लिनिक’ प्राथमिक स्वास्थ्य सेवा सुधारमा एक उत्कृष्ट कदम साबित भएको थियो । महँगो निजी स्वास्थ्य केन्द्रको सेवा वहन गर्न नसक्ने समाजका अधिकांश हिस्सामाझ यो क्लिनिक लोकप्रिय बन्यो । तर, पछिल्लो कार्यकालमा आप सरकारले कुनै उल्लेखनीय नीतिगत र प्रशासनिक कदम चाल्न सकेन । पार्टी शक्तिका लागि भाजपाले पठाएको राज्यका लेफ्टिनेन्ट गर्भनरसँग बाझिरह्यो । केन्द्र र आप सरकारबिचको झगडाले सहरमा शासन ठप्पजस्तै भएको थियो । यत्रतत्र भत्किएका सडक र खुला ढल देख्न थालिएको थियो ।
४. राजनीतिमा सधैँ नाटकले काम गर्दैन
१० वर्ष लगातार सत्तामा रहेका जुनसुकै सरकारले पनि सत्ताविरोधी (एन्टी इन्कुम्बेन्सी) लहरको सामना गर्ने गर्छन् । केन्द्रको मोदी सरकारसमेत सन् २०२४ को लोकसभा चुनावमा यस लहरबाट बच्न सकेन, जहाँ भाजपाले एकल बहुमत गुमाउन पुगेको छ । दिल्लीको आप सरकार पनि यसको अपवाद हुन सकेन ।
५. विरक्त पार्टी स्वयंसेवक
अघिल्ला चुनावमा आपको सबैभन्दा ठूलो सम्पत्ति यसका निःस्वार्थ स्वयंसेवक बल पनि थियो, जो पार्टीबाट टाढिँदै गएका थिए । त्यसमाथि राजनीतिक दल सधैँ स्वयंसेवकका भरमा चल्न सक्दैन । आम आदमी पार्टीले राष्ट्रिय राजधानीमा पार्टी संरचना सिर्जना गर्न ध्यान दिएन । यसविपरीत भाजपा आफ्ना हरेक काम उसको बलियो संगठनमार्फत अघि बढाउँछ । केजरिवाल भने स्वभावैले बलियो संगठनमा विश्वास गर्दैनन् । संगठन निर्माणमा ध्यान नदिने अनि फेरि स्वयंसेवकलाई पनि बेवास्ता गरेपछि पार्टीको काम कसले गर्छ ? पछिल्ला १० वर्षमा आपका अधिकांश स्वयंसेवकले बेवास्ता गरिएको मसहुस गरे । केहीले विगतमा आफ्नो प्रयोग मात्र भएको ठाने । तिनीहरूमध्ये धेरैजसो या त पार्टी छोडेर आफ्नो सामान्य जीवनमा फर्किए, या अन्य दलहरूमा सामेल भए । यसैले गर्दा यस चुनावमा आपले पार्टीको काम गर्न पैसा तिरेर मानिस भर्ती पर्नुपर्यो ।
(आशुतोष ‘हिन्दु राष्ट्र’का लेखक र सत्यहिन्दी डट कमका सहसंस्थापक हुन् )
– एनडिटिभीबाट
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved