शान्ति मिसनमा जाने लोभ : सशस्त्र प्रहरीका ८ जनाले डाँकाचोरीका अभियुक्तलाई बुझाए रकम

  • फागुन ९, २०८१ | ३६७ पटक पढिएको | सीमा संदेश
alt

सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा पठाइदिने भन्दै रकम लिएर ठगेको आरोपमा पक्राउ परेका व्यक्ति डाँकाचोरीमा समेत मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ ।

सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई ठगेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ का २७ वर्षीय दिनेश सापकोटा यसअघि डाँकाचोरीदेखि बैंकिङ कसुर, ठगी र आपराधिक लाभको कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको हो । उनी पक्राउ परेपछि प्रहरीले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गरेको थियो ।

सो क्रममा उनीविरुद्ध यसअघि डाँकाचोरी, बैंकिङ कसुर, ठगी र आपराधिक लाभ गरी चार वटा कसुरमा मुद्दा चलेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

सापकोटा समेतका व्यक्तिले २६ साउन २०७८ मा सिन्धुपाल्चोकको नौबिसेस्थित बलेफी–जलबिरे सडकखण्डमा डाँकाचोरी गरेको भन्दै सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

उनै सापकोटा पछि बैंकिङ कसुरदेखि ठगी र आपराधिक लाभको कसुरमा समेत संलग्न भएर मुद्दासमेत चलेको व्यक्ति रहेको प्रहरीको भनाइ छ । पटक पटक फौजदारी मुद्दा चलेका उनै सापकोटाले सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुलाई आफू प्रहरीको असई भएको बताउँदै ठगी गरेको पाइएको छ । चितवन ब्यूरोमा कार्यरत प्रहरीको असई बताएर सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई शान्ति मिसनमा पठाइदिने भन्दै उनले रकम असुलेका थिए ।

राजनैतिक तथा प्रशासनिकतर्फका उच्च ओहोदाका व्यक्ति र माथिल्लो तहका सुरक्षाकर्मीसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै सापकोटाले विश्वास दिलाउने गरेको अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रोशन खड्का बताउँछन् ।

विश्वास दिलाउन उनले उच्च तहका व्यक्तिसँग खिचिएका तस्बिरहरु समेत देखाउने गरेको उनको भनाइ छ । त्यसपछि विश्वासमा पारेर उनले सशस्त्र प्रहरीका जवानदेखि बरिष्ठ हबल्दारसम्म ८ जनाबाट ११ लाख ३० हजार रुपैयाँ लिएर ठगेको खुलेको छ ।

‘रकम बुझाउनेलाई पनि कारबाही गर्छौं’

मिसनका लागि भनेर नक्कली असईलाई रकम बुझाउनेहरुलाई समेत सशस्त्र प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको छ । कारबाही गर्न लागेकाहरुमा वरिष्ठ हबल्दार भीमप्रसाद सुवेदी र हबल्दारहरु टुकबहादुर थापा, राजकुमार लामा, ईश्वर कार्की, बेदबहादुर तामाङ छन् । यसैगरी सहायक हबल्दारहरु कमल बानियाँ, कुमार आलेमगर, शंकर थापा र जवान यज्ञ खत्रीमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

उनीहरुमाथि अहिले आन्तरिक छानबिन भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी कुमार न्यौपाने बताउँछन् । ‘प्रहरीले माग गरेमा फौजदारी मुद्दा चलाउन पठाउनेसम्मको हाम्रो तयारी छ’ प्रवक्ता न्यौपानेले भने, ‘होइन भने कसुरको अवस्था हेरेर विभागीय कारबाही गर्छौं ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी कुमार न्यौपाने

सशस्त्र प्रहरी स्रोतका अनुसार ठगीको मुख्य भूमिकामा हबल्दार टुकबहादुर देखिएको भन्दै उनलाई बर्खास्तीसम्मम गर्ने तयारी प्रहरीको छ । टुकबहादुरले नै नक्कली असई सापकोटासँग सशस्त्रका अरु सुरक्षाकर्मीको सम्पर्क गराएको आन्तरिक छानबिनबाट खुलेको छ ।

‘टुकबहादुरको आठ सुरक्षाकर्मीलाई कनेक्सन गराउनेदेखि ३ जना सुरक्षाकर्मीको रकम समेत आफैं बुझेर दिएको पाइएको छ’ उनको कसुर हेर्दा गम्भीर प्रकृतिको देखिएकाले बर्खास्तीका लागि समेत लेखेर पठाउन लागेका छौं’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

बाँकीको हकमा भने कसुरको प्रकृति हेरेर विभागीय कारबाही गर्ने सशस्त्र प्रहरीको तयारी छ । ‘उनीहरुको समेत रकम फसेको हुँदा एक तरिकाले हेर्दा पीडित पनि देखिन्छ । तर मिसनका लागि भन्दै रकम बुझाएपछि गैह्रकानूनी पनि देखिएको छ । पहिला रकम फिर्ता गराउने वातावरण गरेर उनीहरुलाई पनि विभागीय कारबाही गर्छौं’ सशस्त्र प्रहरीका एक अधिकारी भन्छन् ।

नक्कली असईलाई आठ सुरक्षाकर्मीले बुझाए ६ लाखको दरले रकम

एकपटकमा १८/२० लाख रुपैयाँ कमाइ हुने भएपछि शान्ति मिसनमा जान लोभिएका आठ सुरक्षाकर्मीले प्रतिव्यक्ति ६ लाख रुपैयाँको दरले रकम बुझाएका थिए । तर रकम लिएर नक्कली असई सापकोटा सम्पर्कविहीन भएपछि उनीहरुले ठगिएको महसुस गरेका थिए ।

रकम बुझाएर फर्म्ड पुलिस युनिट (एफपीयू) मिसनका जान लागेको खुलेपछि यस विषयमा सशस्त्र प्रहरीको हेडक्वाटरले गोप्य रुपमा आन्तरिक छानबिन गरेको थियो । सशस्त्रका डीएसपी नवराज बोहराको अध्यक्षतामा सात सदस्यीय समिति बनाएर छानबिन गरिएको थियो । उक्त समितिले २१ पुसमा प्रतिवेदन बुझाएको थियो ।

आन्तरिक छानबिनबाट प्रहरीको असई बताउने व्यक्तिले ठगी गरेको खुलेपछि सशस्त्र प्रहरी हेडक्वाटरले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै छानबिन गरिदिन आग्रह गरेको थियो । २७ माघमा प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सशस्त्र प्रहरीको मानव स्रोत विभागका एआईजी वंशी दाहालले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेका थिए ।

त्यसपछि नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले उक्त विषय छानबिन गरेर नक्कली असई सापकोटालाई पक्राउ गरेको हो । ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर सापकोटाविरुद्ध अनुसन्धान भइरहेको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब