१२ दिनदेखि अवरुद्ध मधेस प्रदेशसभा अब सञ्चालन हुने भएको छ । मधेस प्रदेश सभामा शुक्रवार बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसँगै विवाद सुल्झिएको हो ।
सभामुख रामचन्द्र मण्डलका अनुसार शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसँगै मधेस सभाको गतिरोध अन्त्य भएको हो । विपक्षी दलहरूले उठाएको माग सम्बोधनसहित तीन बुँदे सहमति भएपछि गतिरोध अन्त्य भएको सभामुख मण्डलले बताए ।
उनका अनुसार बैठकमा संसदीय छानबिन समिति गठन गर्ने, अब बस्ने सदनको बैठकमा योजना बिक्री वितरणबारे सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्न दिने सहमति भएको हो ।
माओवादी केन्द्र संसदीय दलका नेता भरत साहका अनुसार अनधिकृत तवरबाट योजनाको चिठी बिक्री वितरणबारे चैत २७ गतेको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने र संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।
यसैगरी चैत २६ गते सदन सुरु गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सहमति भएको उनले जानकारी दिए । अनधिकृतरुपमा कमिसन लिएर योजना बिक्री हुने गरेको आरोप लगाउँदै विपक्षी दल जसपा नेपाल र माओवादी केन्द्रले संयुक्तरुपमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका थिए ।
सोही विवाद समाधानका हेतुले सभामुखको कार्यालयले शुक्रवार सर्वदलीय बैठक डाकेको थियो । चैत १० गतेदेखि मधेस सभाको बैठक अवरोध हुँदै आइरहेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved