नीति तथा कार्यक्रम कस्तो आयो ? अर्थविद्का मिश्रित टिप्पणी

  • वैशाख १९, २०८२ | ४८३ पटक पढिएको | सीमा संदेश
alt

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम आउँदो आर्थिक वर्षको बजेट ल्याउने मुख्य आधार पनि हो । आगामी आर्थिक वर्षका लागि सरकारले ६० पेजको नीति तथा कार्यक्रम ल्याएको छ । सार्वजनिक नीति तथा कार्यक्रमले आउँदो बजेटमा सरकारका योजना कस्ता हुन्छन् भनेर देखाउनसमेत मद्दत गर्छ ।

सधैं जस्तो सत्तारुढ पक्षले नीति तथा कार्यक्रम राम्रो भन्दै प्रतिरक्षा गरेका छन् भने विपक्षीहरुले ‘काम नलाग्ने’ भन्दै आलोचना गरेका छन् । अर्थविद्हरुको पनि मिश्रित प्रतिक्रिया पाइएको छ ।

आर्थिक, सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकारले नीति तथा कार्यक्रममार्फत जोड दिएको जनाएको छ ।

 

सरकारले नीति तथा कार्यक्रममा गम्भीर रोगको उपचार बीमाबाट हुने व्यवस्था गरिने जनाएको छ । स्वास्थ्य क्षेत्रका जनशक्ति आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेदेखि सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोगको सेवा विस्तार गरिने जनाएको छ ।

औद्योगिक तथा पूर्वाधार आयोजनाका लागि बाह्य लगानी जुटाउन लगानी बोर्डलाई परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसका साथै नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने निर्यात प्रवर्द्धन गरिने, डिजिटल बैंक, सम्पत्ति व्यवस्थापन कम्पनी, ऋण असुली न्यायाधीकरण स्थापना गर्नेसम्मका कार्यक्रम सरकारले समेटेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरिने भएको छ । संघीयताको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक कानून परिमार्जन र निर्माण गरिने भएको छ । ग्रिन आइडोजनको व्यवसायी उत्पादन प्रारम्भिक तयारी गरिने र पेट्रोलियम गाडीलाई युरो ६ लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कतिपय नयाँ कार्यक्रमहरू ल्याएको छ भने कतिपय पुरानालाई नै निरन्तरता दिएको छ । समग्रमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राम्रो भएकाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने विज्ञहरूको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे अर्थविद्हरूले भने मिश्रित प्रतिक्रिया दिएका छन् ।

कन्फिडेन्स जगाउने गरेर आएन: अर्थविद् डा.डिल्लीराज खनाल

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले केही नयाँपन देखाउन खोजिएको छ । आयोजनाहरूको कार्यान्वयनलाई परिणामसँग जोड्ने कुराहरू आएका छन् । अनुकूल वातावरण मिलाउनेदेखि आन्तरिक रोजगारी दशकसम्मको घोषणा गरिएको छ । सबैतिर छोएर नयाँ ढंगले भइरहेका समस्याहरूलाई सम्बोधन गरेर नयाँ ल्याउन खोजेको देखिन्छ । यसअघिका नीति तथा कार्यक्रम कपी-पेस्ट जस्तो हुन्थे । यस पटक भने केही फरक ढंगले ल्याउन खोजिएको छ ।

तर दुई तिहाइको सरकारले ल्याएको नीति तथा कार्यक्रममा थप गृहकार्य नपुगेको हो कि जस्तो देखिएको छ । समग्रमा अहिलेको अवस्था, अब सरकारले लिने नीति तथा कार्यक्रम, त्यसलाई कार्यान्वयन गर्ने योजनाहरूमा ‘कन्फिडेन्स’ जगाउने गरेर आउनुपर्थ्यो, त्यो आएको देखिएन ।

यो नीति तथा कार्यक्रमले ठोस रूपमा प्रतिविम्बित गर्ने भनेको बजेटले हो । बजेट कुन ढंगले आउँछ भन्ने मुख्य कुरा हो । आगामी आवको बजेट आशा जगाउने खालको आउनुपर्छ ।

समग्रमा राम्रो छ: अर्थविद् डा. गोविन्द पोखरेल

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै कुराहरू दोहोरिएका पनि छन् । केही छुटेका पनि छन्, तर जुन कुराहरू गर्छौं भनेर सरकारले घोषणा गरेको छ, तिनीहरूलाई नराम्रो भन्न सकिन्न ।

केही कार्यक्रमहरू धेरै नै राम्रा छन् । फजुल खर्च घटाइने, पुराना उपयोगविहीन संरचनाहरू खारेज गर्ने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने, सम्पन्न हुने आयोजनाहरूलाई प्राथमिकता दिनेलगायतका विषयहरू राम्रा छन् । समग्रमा नीति तथा कार्यक्रम राम्रो आएको छ ।

यही कार्यक्रमअनुसार बजेट आउनुपर्छ । यसैअनुसार अगाडि बढ्ने हो भने आर्थिक क्षेत्रमा आशा जगाउनेछ । सरकारले नीति तथा कार्यक्रममार्फत सार्वजनिक संस्थानलाई पुनर्संरचना, निजी क्षेत्रलाई हस्तान्तरण तथा सम्पत्तिको उपयुक्त विधिबाट मौन्द्रिकीकरणमा लैजाने भनेको छ । कतिपय रुग्ण उद्योगहरूलाई निजीकरण गराउने विषय सरकारले छुट्टाएको छ । त्यसका लागि सरकारले निजीकरणको बाटो अपनाएको थियो भने थप राम्रो हुने थियो ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार आगामी आवको बजेट ल्याएर कार्यान्वयन गर्ने हो भने राम्रो हुन्छ । हाम्रोमा कार्यक्रमहरू राम्रा हुन्छन्, तर कार्यान्वयनमा सुस्तता छ । त्यसैले कार्यान्वयन गर्न सरकारले जोड दिनुपर्छ ।

दस्तावेज ठीक छ, कार्यान्वयनमा जोड दिनुपर्छ: अर्थविद् डा. चन्द्रमणि अधिकारी

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राम्रो नै आएको छ । सबै विषयहरू समेटिएको छ । खासगरी राष्ट्रिय प्राथमिकताका आयोजनाहरू र सक्नुपर्ने आयोजनाहरूमा केन्द्रित हुने कुरादेखि केही नयाँ विषयहरू पनि आएका छन् । तीन वटै तहका सरकारहरूबीचको समन्वयको कुरा आएको छ । शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रका प्रमुख विषयहरू नीति तथा कार्यक्रमले समेटेको छ ।

सहकारीको समस्या विकराल भइरहँदा समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने भनिएको छ । वैकल्पिक वित्त विकास कोषको कुरा पनि समेटिएको छ । वित्त क्षेत्रको सुधारदेखि लगानीका लागि समन्वयको कुरा गरेको छ ।

नीति तथा कार्यक्रममा समेटिएका विषयहरू राम्रा छन्, तर त्यसअनुसारको बजेट आउँछ कि आउँदैन भन्ने मुख्य कुरा हो । यसअनुसारको बजेट विनियोजन हुन्छ कि हुँदैन ? यो नीति तथा कार्यक्रम भनेको संघको मात्रै नभएर तीन वटै तहको रहेकाले वार्षिक बजेट निर्माण हुँदा प्राथमिकता तथा विनियोजन गरिने कुराहरू त्यसैअनुसारका हुन्छन् कि हुँदैनन् भन्नेमा पनि भर पर्छ ।

त्यस्तै यो नीति तथा कार्यक्रमअनुसार क्षेत्रगत मन्त्रालयहरूले बजेट निर्माण गर्छन् कि गर्दैनन् भन्ने कुरा पनि मुख्य हो । नीति तथा कार्यक्रममा आएका कार्यक्रमहरू ६० प्रतिशतसम्म मात्रै कार्यान्वयन भयो भने राम्रो हुन्छ ।

नीति तथा कार्यक्रमका दस्तावेज ठीकै छ । त्यसलाई नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन, तर हाम्रोमा कार्यान्वयनको समस्या छ । बजेटसँगको तादाम्यताको छ । हाम्रोमा कार्यान्वयन र बजेटको तादाम्यता मिलाएर अगाडि बढ्ने हो भने यी कार्यक्रमहरू राम्रो मान्न सकिन्छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब