पहलगामको १५ दिनपछि भारतको ‘अपरेशन सिन्दूर’ : २४ मिसाइल प्रहार, क्षतिबारे आ-आफ्नै दाबी

  • वैशाख २४, २०८२ | ५६० पटक पढिएको | सीमा संदेश
alt

भारत प्रशासित जम्मू कश्मीरको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी हमलाको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पिओके) मा ‘अपरेशन सिन्दूर’ नाम दिएर मंगलबार मध्यरातमा आक्रमण गरेको छ। 

नौ आतंकवादी अड्डाहरूमाथि हवाई हमला गरेको दाबी भारतको छ। भारतले बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबाद, अहमदपुर शार्किया, फैसलाबाद, गुलपुर, भिम्बर र सियालकोट नजिकका शिविरहरूलाई निशाना बनाइएको भनेको छ। 

भारतको दाबी
भारतीय सञ्चारमाध्यमले २४ क्षेप्यास्त्र प्रहार गरेर जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त पारिएको उल्लेख गरेका छन्। न्यूज१८ ले हमलामा १७ आतंकवादी मारिएको र ६० घाइते भएको जनाएको छ। भारतीय सेना र वायुसेनाले संयुक्त रूपमा सटीक हतियार प्रयोग गरी आतंकवादी लुक्ने ठाउँहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ। 

भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई लक्षित नगरेको भनेको छ। हमला आतंकवादी अड्डाहरूमाथि लक्षित रहेको भारतको दाबी छ। यसबिच भारतले पाकिस्तानी सेनाले जम्मू–कश्मीरको नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा गोलीबारी गर्दा आफ्ना तीन जना आम नागरिकको मृत्यु भएको जनाएको छ। 

दैनिक भास्करले पाकिस्तानको बहावलपुरमा मात्रै ३० जना मारिएको बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले युद्धकक्षबाट हमलाको निगरानी गरेका थिए। भारतीय सेनाले आज बिहान १० बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने भएको छ।हवाई आक्रमणपछि जम्मू, साम्बा, कठुआ, राजौरी र पुछमा स्कूल, कलेज र शैक्षिक संस्थाहरू बन्द गरिएका छन्।

पाकिस्तानको दाबी
पाकिस्तानी सेनाले पनि भारतले छ क्षेत्रमा २४ क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेको छ। उक्त आक्रमणमा आठ सर्वसाधारणको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको दाबी उसको छ। एपी न्यूजले पनि मुजफ्फराबाद नजिकै एक बच्चासहित आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ। 

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले नागरिक क्षेत्र र मस्जिदहरूलाई निशाना बनाइएको आरोप लगाए। साथै ५ भारतीय लडाकु विमान खसालेको र केही भारतीय सैनिकलाई हिरासतमा लिइएको दाबी उनको छ। पाकिस्तानको सरकारी टेलिभिजन पिटिभी न्यूजले दुई भारतीय विमान खसालेको जानकारी दिएको छ। भारतीय चेकपोस्टहरू ध्वस्त पारेको दाबी गरिएको छ। 

रायटर्स र द गार्जियन का अनुसार नियन्त्रण रेखामा भारी गोलीबारी भइरहेको जनाएका छन्। पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यालयहरू बन्द छन्। प्रधानमन्त्री शहबाज शरीफले हमलालाई कायरतापूर्ण भन्दै ‘निर्णायक जवाफ’ दिने चेतावनी पनि दिएका छन्।

अन्तर्राष्ट्रिय प्रतिक्रिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ‘लज्जास्पद’ भन्दै शान्तिपूर्ण समाधानको आशा व्यक्त गरेका छन्। त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानसँग सम्पर्कमा रहेको जानकारी दिएका छन्। अमेरिका, संयुक्त राष्ट्र संघ, चीन, रुस र साउदी अरबसहितका देशले दुवै (भारत-पाकिस्तान) लाई संयम रहन आग्रह गरेका छन्।

यो हमला पहलगाममा भएको आतंकवादी हमलाको जवाफमा गरिएको हो, जसमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो। हमलामा मारिने अधिकांश हिन्दु पर्यटक थिए, जसलाई धर्म सोधेर गोली हानिएको बताइएको थियो। भारतले हमलाको लागि पाकिस्तानलाई जिम्मेवार ठहराएर यो कारबाही गरेको हो। अर्कोतिर पाकिस्तानले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै आएको छ। एजेन्सी

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब