मधेसमा जनमत पार्टीद्वारा सत्ताको दुरुपयोग- कर्मचारीको सरुवामा २५ लाखको डिल !

  • वैशाख २४, २०८२ | ४८४ पटक पढिएको | सीमा संदेश
alt

सुशासनको मुद्दा उठाएर उदाएको जनमत पार्टी अहिले मधेश प्रदेश सरकारको नेतृत्व गर्दै अरू दुई वटा मन्त्रालय सम्हालिरहेको छ । यो पार्टी संघीय सरकारमा पनि सहभागी भइसकेको छ ।

तर, जनताको राज ल्याउने दाबी गर्दै सत्तामा पुगेको यो दल पनि अन्य पार्टीभन्दा भिन्न रहन सकेन । आफ्नै नारा र प्रतिबद्धतालाई नै गिज्याउने अनि मतदातालाई निराश पार्ने गरी यो पार्टी भ्रष्टाचारमा उत्रिएको तथ्य फेला परेको छ ।

मधेशमा योजना खरिदबिक्रीका कारण आलोचित बनेका जनमत पार्टीका नेताहरूले सरुवाबढुवा गराइदिने नाममा पनि एउटै कर्मचारीसँग २५ लाखसम्म रकम उठाउने गरेको तथ्य फेला परेको छ ।

दुई जनाबीचको गोप्य संवादको एउटा रेकर्ड फेला पारेको छ, जसमा जनमतका एक केन्द्रीय नेताले एक जना कर्मचारीसँग सरुवाका लागि २५ लाख रुपैयाँ माग गरेका छन् ।

उक्त संवाद पार्टी अध्यक्ष डा. सीके राउतका निकट मानिने जनमत पार्टीको पर्सा जिल्ला इन्चार्ज तथा पार्टी प्रवेश समन्वय समितिका केन्द्रीय संयोजक माधवप्रसाद सिंह र प्रदेशका नवौं तहका एक कर्मचारीबीचको हो ।

२०८१ पुस तेस्रो साता जनकपुरस्थित रामा होटलमा भएको १४ मिनेटको बार्गेनिङका क्रममा जनमत नेता सिंहले ती कर्मचारीसँग सप्तरीस्थित पूर्वाधार विकास कार्यालयको प्रमुख बनाएर पठाइदिने भन्दै २५ लाख रुपैयाँ माग गरेका हुन् ।

ती कर्मचारीले त्यसपछि सिंहलाई आफू नयाँ भएको भन्दै केही रकम कम गरिदिनका लागि पार्टीसँग कुरा गरिदिन आग्रह गरेका छन् । तर, सिंहले पूर्वाधार कार्यालयको प्रमुख बन्नका लागि २५ लाख रुपैयाँ न्यूनतम भएको र बढी बजेट भएको यस्ता जिल्लामा जानका लागि अन्य कर्मचारीले एक करोडसम्म दिने गरेको भन्दै कम गर्न नसकिने जवाफ दिएका छन् ।

पैसा नतिरी पदस्थापना नहुने भएपछि ती कर्मचारीले २०८१ पुस २१ मा यसबारे पार्टीका तत्कालीन केन्द्रीय उपाध्यक्ष दीपककुमार साहसमक्ष उजुरी गरेका थिए ।

उपाध्यक्ष साहले तत्कालै पार्टी अध्यक्ष राउत, उपाध्यक्ष एवं अनुशासन समितिका सदस्य नरेन्द्रप्रसाद चौधरी र नेता राजेश मण्डल लगायतलाई जानकारी गराए । तैपनि कारबाही नभएपछि उपाध्यक्ष साहले पार्टी नेतृत्वलाई पटक पटक यस विषयमा ध्यानाकर्षण गराए ।

पटक पटक गुनासो, उजुरी र पत्रको शिलशिला चले पनि कारबाही नभएपछि साहले अन्तिम पटक चैत १३ मा यसबारे पार्टीमा ध्यानाकर्षण गराएका थिए । तर, चैत १४ मा उपाध्यक्ष साहलाई नै ६ महिनाका लागि पार्टीले निलम्बन गर्‍यो ।

उनै माधवप्रसाद सिंह र पर्साका संयोजक ओमप्रकाश सर्राफमाथि २०८१ असोज ८ मा पार्टीमा अर्को उजुरी पनि परेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य राजेश चौरसियाले एक कर्मचारीको सरुवाका लागि आफूसँग सिंह र सर्राफले १४ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् ।

यातायात व्यवस्था कार्यालय, वीरगन्जमा कमलराज गौतमलाई सरुवा गरिदिनका लागि आफूलाई मानसिक यातना दिएर उनीहरूले रुपैयाँ लिएको उजुरीमा उल्लेख छ ।

नेपालमा राजनीतिक दलहरूले चर्का नारा लगाउने तर सत्तामा पुगेपछि भ्रष्टाचारमा डुब्ने नियति जस्तै बनिसकेको छ । यसले सुशासनको नारा लगाएर आएको जनमत पार्टी पनि उस्तै बनिसकेको देखाउँछ । यो पार्टीका नेतादेखि सांसद मन्त्रीसम्म भ्रष्टाचार र अनियमिततामा लिप्त भएको घटना बाहिर आए पनि पार्टीले मौनता साँध्नुले पनि यसलाई पुष्टि गर्छ ।

– कान्तिपुर

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब