लहान नगरपालिकामा अख्तियारको छापा ४ दर्जन फाइल नियन्त्रणमा

  • वैशाख २६, २०८२ | ४१७ पटक पढिएको | सीमा संदेश
alt

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका अनुसन्धान अधिकारीहरुले लहान नगरपालिकामा छापा मारेर आवश्यक कागजातहरु नियन्त्रणमा लिएका छन् । आज विहीबार १२ बजेर २४ मिनेटमा लहान नगरपालिकाको कार्यालयमा छिरेका अख्तियारका अनुसन्धान अधिकारीहरुले लगभग ४ घण्टासम्म फाइलहरु खानतलासी गरेका थिए । अख्तियारका अधिकारीहरुले लगभग ४ दर्जन परियोजनासँग सम्बन्धित फाइलहरु नियन्त्रणमा लिएको नगरपालिका सुत्रहरुले जनाएका छन् ।

लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले अधिकारको दुरुपयोग गरेर भ्रष्टाचार गरिरहेको २८ वटा उजुरी परेपछि अख्तियारले छानविन प्रकृया अगाडि बढाएको थियो । उजुरी परेका विषयहरुमा आवश्यक कागजात माग्दा अटेर गरी कागजात दिन आनाकानी गरेपछि छापा मारेर कागजातहरु नियन्त्रणमा लिनु परेको अख्तियार सुत्रले जनाएको छ । नगरपालिका भित्र अख्तियारका अधिकारीहरुले नगरपालिकाका कर्मचारीहरुसँग कागजात पेस गर्न ढिलाई गर्नुको कारण सोधपुछ समेत गरेका थिए ।

मेयर चौधरी र अधिकृत झामाथी २८ वटा उजुरी परेको छ । उजुरीमा भनिएको छ –मेयर चौधरी र अधिकृत झाले आपसी मिलिभगतबाट उप प्रमुख रामचलितर महतोलाई गैर कानूनी रुपमा अघोषित निलम्वन सरह राखेर लहान नगरपालिकालाई निजी संस्था जस्तै गरी सञ्चालन गरेका छन् । प्रचलित नीयम कानून र आर्थिक ऐन नीयम र कार्यविधि सबै लत्याएर लुटतन्त्र मच्चाइएको छ । उजुरीमा चीनियाँ रेल्वे कम्पनीसँगको गिटी बालुवा सप्लाईमा सम्झौता विपरीत उत्खनन् गर्न दिइएको , राजस्व छलेको र नाजायज रकम घुस खाएको उल्लेख छ ।
त्यसैगरी उप प्रमुखको अध्यक्षतामा रहने राजस्व परामर्श समितिलाई वास्ता नगरी गैर कानूनी रुपमा बजेट निर्माण गरेको, उप प्रमुखलाई हटाएर गैर कानूनी रुपमा अवैध अनुगमन समिति बनाएको आरोप लगाइएको छ ।

मेयर चौधरीले अघोषित रुपमा नक्कली उपभोक्ता समिति गठन गर्ने तर छोरा अभिषेक चौधरीमार्फत काम गराएर भुक्तानी लिने गरेको उजुरीमा उल्लेख छ । उजुरीमा मेयर चौधरीले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाका स्वकीय सचिव भानू देउवा तथा नेपाली काँग्रेसका नेता कृष्ण सिटौलालाई फोन गर्न लगाई अख्तियारकै एक जना आयुक्तलाई आफू विरुद्धको मुद्दा मुलतवीमा राख्न पैरवी गरे गराएको पनि उल्लेख गरिएको छ । गलत पैरवी गर्ने र सुन्ने अधिकारीलाई समेत कारवाही गर्न माग गरिएको छ ।

मेयर महेश चौधरीले कार्यपालिकाको बैठकमा उपस्थितिमा मात्र सदस्यहरुलाई हस्ताक्षर गर्न लागाउने तर निर्णयको बन्दमा आफू एक्लै हस्ताक्षर गर्ने गरेको , बीच बीचमा माइन्युट फेर्ने गरेको , माइन्युटको प्रतिलिपी कार्यपालिका सदस्यहरुलाई समेत हेर्न नदिएको जस्ता संगीन आरोप लगाइएको छ । उजुरीमा लहान १ मा पहिलो वर्ष ढलान गरेको र दोश्रो वर्ष ढलानमाथि कालोपत्रे गरेको भन्दै दोहोरो भुक्तानी लिएको उल्लेख छ । जेएस मुरारका क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा मेयर चौधरी स्वयं बसेको र क्याम्पस निर्माणका लागि आएको बजेटमा पनि भ्रष्टाचार गरिएको उल्लेख छ ।

त्यसैगरी सामुदायिक भवन निर्माण गर्न ५० लाख रकमको चेक हस्तान्तरण गरी त्यसबाट कमिसन खाएको उल्लेख छ । लहान एक्सपोमा भएको आम्दानी रकम समेत भ्रष्टाचार गरिएको र त्यसमा मेयर चौधरीले पनि हिस्सा लिएको भनिएको छ । चौधरी जातिको माघी पर्वमा चौधरीहरुको नागरिकता संकलन गरी उनीहरुलाई सहयोग दिन चेक दिइएको र सो रकमबाट कमिसन लिइएको उजुरीमा उल्लेख छ । एक आफन्त महिला महेस्वरी चौधरीलाई अयोग्य भएपनि गैर कानूनी रुपमा नियुक्ती गरी नगरपालिकामा जागिर दिएको र भ्रष्टाचार गरी कमाएको अकुत गैर कानूनी सम्पत्ति उनैको नाममा राखेको उजुरीमा उल्लेख छ ।

विभिन्न २८ वटा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले उजुरी निवेदन दर्ता गरी ( दर्ता नं.६३८३) छानविन प्रकृया आरम्भ गरेको छ । अख्तियारले संवेदनशील र अति गम्भीर प्रकृतिको भ्रष्टाचारजन्य कसुर गरेको निवेदन परेपछि सक्षम अनुसन्धान अधिकारीहरुको एक समूह तोकेर छानविन सुरु गराएको छ । सामान्यतया अख्तियारले आवश्यक कागजातहरु पत्र लेखेर माग्ने गर्छ । तर लहान नगरपालिकामा भने छापा मारेर कागजातहरु जफत गर्ने अवस्था आएको छ । अति शूक्ष्म र जल्दोबल्दो विषयमा उजुरी परेपछि मात्र अनुसन्धानका लागि कागजात जफत गर्न छापा मारिन्छ । अख्तियारले छापा मार्ने स्थिति आउनु असामान्य अवस्था हो । यसले गर्दा मेयर चौधरी र अधिकृत झा अख्तियारको निगरानी रडारमा परेका बुझन सकिन्छ

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब