रौतहट जिल्लाको गौर हत्याकाण्डको फाइल खोलिने भएको छ । १८ वर्ष पुरानो गौर हत्याकाण्डमा १ सय ३० जनाको नाम आरोपीको सुचीमा राखिएको छ ।
पीडितहरुको तर्फबाट दिएको जाहेरीमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम ७ औं नम्बरमा रहेको छ । सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा सोमवार परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जनाएका छन् । १८ वर्ष पूर्व गौरमा भएको हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितहरुले रिट दायर गरेका थिए।
गौर हत्याकाण्डमा मारिएकाहरूका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै अनुसन्धान अघि बढाउन आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । जाहेरीमा गौर नगरपालिकाका पूर्वमेयर समेत रहेका नेकपा एमालेका रौतहट जिल्ला इञ्चार्ज अजय कुमार गुप्ताको नाम १ नम्बरमा रहेको छ ।
गौर नगरपालिकाका वर्तमान मेयर शम्भु साहको नाम १११ औं नम्बरमा रहेको छ । नेपाल पत्रकार महासंघ रौतहटका पूर्वसभापति प्रेमचन्द्र झाको नाम पनि जाहेरीमा उल्लेख छ । नेपाली कांग्रेस रौतहटका सचिव रामचन्द्र यादवको नाम समेत जाहेरीमा रहेको छ । जसपा नेपालका नेता किशोरी यादव लगायतका नेताहरुको नाम पनि जाहेरीमा रहेको छ ।
रौतहट जिल्लालाई केन्द्र बनाएर राजनीति गर्ने तत्कालीन नेकपा माओवादी बाहेक पार्टीका प्रमुख नेताहरुको नाम जाहेरीमा रहेको गौरस्थित टुडे सहकर्मी सञ्जय मिश्रले जनाएका छन् । २०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा हिंसात्मक झडप भएको थियो ।
सो घटनामा माओवादी तर्फका २७ जनाको हत्या भएको थियो । हत्यामा तत्कालीन फोरमका अध्यक्ष समेत रहेका वर्तमान जसपा नेपालका अध्यक्ष समेत रहेका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलगात फोरमसम्वद्ध नेता, कार्यकर्ताको संलग्नता रहेको दाबी गरिँदै आएको छ । २०८० सालमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेका बेला आम जनता पार्टी(आजपा)का अध्यक्ष समेत रहेका सांसद प्रभु साहले गौर हत्याकाण्डको अनुसन्धान गर्न दबाबमूलक संघर्ष गरेका थिए ।
उनकै पार्टीका महासचिव रहेका त्रिभुवन साहले पीडित परिवारको तर्फबाट सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।अदालतको परमादेशपछि गौर हत्याकाण्डको अनुसन्धान हुने भएको छ । हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
पीडित परिवारका तर्फबाट त्रिभुवन साहले दर्ता गराएको सो रिटमा घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको थियो । मुद्दामा रौतहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ । मानवअधिकार आयोग र सरकारद्वारा गठित छानबिन समितिलगायतका निकायहरुले दिएको प्रतिवेदनमा फरक फरक राय रहेपनि कुल १ सय ३० जनाको नाम जाहेरीमा समेटिएको छ ।
जाहेरी दरखास्तमा ६६ जनाको नाम उल्लेख रहेकोमा छानबिन समितिले थप ६४ जनाको नाम दोषीको सूचीमा समावेश गरेको छ । जाहेरीमा नाम उल्लेख रहेकाहरु मध्ये अधिकांश रौतहट जिल्लाका नै रहेका छन् । केहीको ठेगाना उल्लेख नभएको र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी जिल्लाको रहेका छन् ।
रौतहट जिल्लाको गौर राईस मिलमा कार्यक्रम गर्न तत्कालिन मधेशी जनअधिकार फोरमले प्रशासनबाट अनुमती लिएको थियो । तर माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले सोही दिन सोही समयमा सोही स्थानमा कार्यक्रमको आयोजना गरेको थियो । घटनामा तत्कालीन मधेशी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साह र जनसरकार प्रमुख बिन्देश्वर यादवलाई पनि दोषी देखाइएको छ ।
हत्या भएका माओवादी कार्यकर्ताहरु अधिकांश रौतहट जिल्ला बाहिरका हुन् । सरकारले मृतकका परिवारलाई जनही १० लाखको दरले क्षतिपूर्ति उपलब्ध गराएको थियो । प्रहरीका केन्द्रीय प्रवक्तासमेत रहेका डीआईजी विनोद घिमिरेले सर्वोच्चको परमादेश हेरेपछि कसरी अघि बढ्ने भनेर महान्यायाधिवक्तासँग राय÷परामर्श लिइने बताएका छन् । ‘सम्मानित सर्वोच्चबाट जारी परमादेश हेरेपछि महान्यायाधिवक्तासँग राय÷परामर्श लिएर अघि बढ्छौं ’ उनले भने, आदेशको पत्र प्राप्त भएपछि थप विषय अगाडि बढ्ने छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved